दाङ,४ मंसिर । दाङमा असोज महिनामा एक हजारभन्दा बढी नागरिकता लिएको छन् । जिल्ला प्रशासन कार्यालय दाङको मासिक प्रगति विवरणअनुसार एक महिनाको अवधिमा जिल्लाका तीनवटा प्रशासन कार्यालयबाट एक हजार ३ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीबाट गरी उक्त संख्यामा नागरिकता लिएको हुन् । जसअनुसार घोराहीबाट ३३६, तुलसीपुरबाट ३८१ र लमहीबाट २८६ जनाले नागरिकता लिएका छन् । कार्यालयगत तथ्यांक हेर्दा सबैभन्दा बढी नागरिकता तुलसीपुरबाट वितरण भएको देखिन्छ । यस्तै, असोज महिनामा तीन जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् भने दुई जनाले नेपाली नागरिकता त्याग गरेका छन् ।
नागरिकता वितरणसँगै राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप पनि उल्लेख्य देखिएको छ । जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार असोज महिनामा दाङबाट एक हजार ५७० जनाले ई–पासपोर्टका लागि नामांकन गराएका छन् । सोही अवधिमा ६३१ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ ।यसैगरी, असोज महिनामा जिल्लाका तीनवटै प्रशासन कार्यालयबाट तीन हजार ८१० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएका छन् । कार्यालयगत विवरणअनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट एक हजार २२३, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट एक हजार ५९५ र इलाका प्रशासन कार्यालय लमहीबाट ९९२ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका हुन् ।राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेमध्ये पनि तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय अगाडि देखिएको छ ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।