२०८३ मङ्सिर ४ गते शुक्रवार

तीन महिनामा ७ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं,४ मंसिर । विदेशमा रहेका नेपालीले पठाउने रकम (विप्रेषण) बढेर चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै ७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो । विप्रेषण आप्रवाह बढे पनि यसको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा सुस्त भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । यस वर्ष रकम बढे पनि वृद्धिदरमा ८.२ प्रतिशत बिन्दुले गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । यसअनुसार एक वर्षमै असोज महिनाको विप्रेषण आप्रवाह ६६ अर्ब १२ करोड रुपैयाँले बढेको छ ।अमेरिकी डलरमा हिसाब गर्दा पनि विप्रेषण आप्रवाह बढेको देखिन्छ । समीक्षा अवधिमा डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २९.२ प्रतिशत थियो । अर्थात् नेपाली रुपैयाँमा विप्रेषण २७।२ प्रतिशतले बढ्दा अमेरिकी डलरमा भने १६.७ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।