जेन–जी आन्दोलनले मुलुकलाई चुनावी प्रक्रियामा प्रवेश गराएको छ । लामो समय अस्तव्यस्त बनेको राजनीतिक परिवेश निर्वाचन प्रक्रियाबाट लयमा फर्कदैछ । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ, जसमा मिश्रित प्रणालीअनुसार १६५ जनालाई प्रत्यक्ष र ११० जनालाई समानुपातिक प्रणालीबाट निर्वाचित गरिनेछ। यसरी कुल २७५ सदस्यीय प्रतिनिधि सभाको गठन हुनेछ ।
पुराना दलहरू, विशेषगरी प्रतिनिधि सभा पुनःस्थापनाको एजेन्डा बोकेका दलहरू, समानुपातिकतर्फको बन्द सूची बुझाएर निर्वाचनमा प्रवेश गरिसकेका छन्। तर नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने सम्भावना उत्तिकै बढाएको छ।
सडकबाट उठेको असन्तोषको स्वर अब मतपेटिकातर्फ मोडिएको छ । जेन–जी आन्दोलन केवल आक्रोश मात्र थिएन; यो युवा पुस्ताको सामूहिक असन्तोष र परिवर्तनको आकांक्षाको अभिव्यक्ति थियो। आन्दोलनले वैकल्पिक राजनीतिक शक्ति सिर्जना गरिरहेको छ, तर वास्तविक परीक्षा मतपेटिकाले गर्नेछ। केवल ऊर्जा वा भावनाले चुनाव जित्न सकिँदैन; अनुशासन, स्पष्ट दृष्टिकोण, ठोस नीति र बलियो संस्थागत क्षमता अनिवार्य छ।
पुराना दललाई आलोचना गरेर मात्र नयाँ बन्न सकिँदैन। आन्दोलनको भावना नीति, कार्यक्रम र व्यवहारमा कार्यान्वयन गर्न सकेन भने जनताले दिएको अवसर क्षणिक हुनेछ। यही निर्वाचन पुराना दलहरूको लागि आत्मसमीक्षाको घडी हो। नयाँ दलहरूले सडकका नाराबाट पहिचान पाएका छन्, तर वैधता भने मतपेटिकाले दिनेछ। निर्वाचनले भावनाभन्दा कार्यक्रम, नाराभन्दा नीति खोज्छ। यसैले नयाँ दलहरूको ‘अग्निपरीक्षा’ यही निर्वाचन हो। सफल भए लोकतन्त्रभित्रको प्रतिस्पर्धा बलियो हुनेछ; असफल भए निराशा अझ गहिरिनेछ।
जनताले विकल्प खोजेका छन्, प्रयोग होइन। नयाँ दलहरूले भावनाको सट्टा जिम्मेवारी, नाराको सट्टा नतिजा, आलोचनाको सट्टा ठोस विकल्प प्रस्तुत गर्नैपर्छ। अहिलेसम्म वैकल्पिक शक्तिका गतिविधि धेरै हदसम्म स्टन्टबाजीमै सीमित देखिएका छन्। व्यक्तिगत पृष्ठभूमि हेर्दा नयाँ दलका शिर्ष नेताहरुका क्षमता पूर्ण रूपमा सन्तोषजनक भने छैन, तर जनताले आशा राखेका छन्। चुनावी अग्निपरीक्षामा सफल भए यी बिद्रोह र वैकल्पिक शक्तिहरू देशमा परिवर्तनका संवाहक बन्न सक्छन्। अन्यथा, ‘नयाँ’ भन्ने शब्द पनि चाँडै पुरानै राजनीतिक सूचीमा समाहित हुनेछन्।


















