विद्वान व्यक्तित्व टिकाराम उदासी सर द्वारा सम्पादित र वरिष्ठ पत्रकार तथा चिन्तक नारायण प्रसाद शर्मा द्वारा लिखित आत्मवृतान्त “जीवन प्रवाह मार्क्सदेखि बुद्ध सम्म भर्खरै पढी सिध्याई सो सम्बन्धमा पुस्तक भित्र त्यस्ता के कस्ता विषय समेटिएका छन् ? एक पाठकीय बिचार टिप्पणी लेख्ने कोसिस गर्दै छु । साहित्यका विविध विधा मध्य संस्मरण, निबन्ध र आत्मवृतान्त विधा खोइ किन हो असाध्यै मनपर्छ । यसकारणले कि – त्यहाँ ब्यक्तिका नितान्त निजी भोगाइ र आत्मचिन्तनका विषय भए पनि अभिव्यक्त भएका बिचार काल्पनिक ,मनगढन्ते भन्दा बढी सामाजिक र यथार्थ धरातलको नजिक रहेका हुन्छन् ।सामाजिक प्राणी भएर पनि एक एक अर्काले भोगेका सुखदुःखका कहानी झण्डै दुरुस्तै मिल्न पुग्नु स्वभाविक हुन जान्छ र त कथा ,निबन्ध , उपन्यास , कविता र संस्मरण विधा पढ्दै ,सुन्दै या हेर्दै गर्दा मानिस कहिले भावुक बन्छ कहिले आलोचना या सहमत असहमत हुन पुग्छ ।
विद्वान व्यक्तित्व टीकाराम सर द्वारा नारायण गुरुको समग्र व्यक्तित्वको गुदी पहिल्याउने हेतु निकै मिहिनेत ,जाँगरका साथ सम्पादन गरि तयार पारिएको यस आत्मवृतान्त पढ्दै गर्दा धेरै ठाउँमा मेरा पनि भावना , अनुभव र बिचार मिलेको महशुस भयो । वि सं १९८८ सालमा घोराही बर्गदिमा जमिएका नारायण गुरु यो ९५ बर्षको बुढ्यौली उमेरमा पनि युवा मस्तिष्क र जांगर भावका साथ सामाजिक सरोकारका मुद्दाहरूमा सार्वजनिक मञ्चमै बौद्धिक बिमर्शमा भाग लिन रुचाउँछन् ,आफ्ना बिचारलाई आलेख मार्फत प्रस्ट्याउँछ । गुरुजीको त्यो उत्साह र सक्रियता देख्दा हरकसैलाइ ईष्र्या लाग्छ, अहा भन्न मन लाग्छ । पुस्तकको शिर्षकले भनेझैँ मार्क्स देखि बुद्ध चेतबाट समेत लैस भएर पनि होला जनताको जीवन सुधार , मानवीय मूल्य मान्यताको नैतिक आचरणयुक्त जीवन पद्धतिको गहिरो बोध ,मानवाधिकार, मानवतावाद सम्बन्धी मुद्दामा गुरुजी शान्त, गम्भीर तथा स्पष्ट वक्ता ,सैद्धान्तिकि, बैचारिकी र दार्शनिकि सु स्पष्टताले निखारिएका र खारिएका छन् ।
आफू १३ बर्षको उमेर छंदा आमाको निधन हुन पुगेकोले मातृत्व स्नेहबाट बञ्चित नारायण गुरु सानो छंदा ठुली आमाको रेखदेखमा हुर्की बढेको एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन्छन् । उनका बुवाले गाउँघरमा पुरेत्याइँ समेत गर्ने गरेको र सामान्य खेतीपातीबाट तैबिसेक गुजारा चलाएका उनको जिन्दगीमा पनि आम मान्छेले भोगेका जस्ता अकथनीय हन्डरठक्करका अनुभूति संगालिएका छन् । त्यस समयमा यातायातका साधन नहुंदा टाढा दुरिमा रहेको स्कुलमा जांदा खाली खुट्टा हिँडेको ,रित्तो गोजि,टालेका र रफ्फु भरेका कपडा लगाएको ,एउटै भाइ गोत्यारहरु आफूहरु भन्दा हुनेखाने ,प्रशस्त जायजेथाका भएकोले उनीहरुले आफूहरुलाइ हेर्ने नजरिया आड,होच्याउने र बेवास्ता गर्ने , आफन्तहरूका वर व्यवहारले धेरै चोटि स्वाभिमानमा ठेंस लागेको,घाइते भएको र दुख्न पुगेको अनुभूति पनि पुस्तक मार्फत बाँडेका छन् ।
त्यसैगरी पुस्तकमा तत्कालीन समयमा गाउँघरका ठूला ठालुका छोराछोरीले हेलाहोचो र अपमानका वर व्यबहार देखाएकोले सानैदेखि अन्याय र दलनलाई सहन गर्नुहुँदैन भन्ने विद्रोहि चेत पलाएको जस्तै सँगै हुर्की खेल्ने दलितका छोराछोरीलाई छुवाछूत,विभेद,घृणा र अनादर गर्ने प्रबृत्ति उपर सवाल र प्रश्न तेर्स्याउंदै ००७ सालको क्रान्ति पछि नारायण गुरु लगाएतका जागरुक स्वभावका युवाहरूले दलितका घरमा पूजाआजा गर्न हुन्न भन्ने चलनलाइ तोड्दै आफै प्रमुख वाचक बनेर ढांटगाउंको विश्वकर्माको घरमा पुजा कथा लगाएको,दलितहरुलाइ मानमनितो दिएको र उनीहरु संग बढ्ता घुलमिल गर्न रुचाएको भन्दै तत्कालीन समय चेतनामा अभ्यस्त गाउँघर समाजका आफन्ती इष्टमित्र र नजिकका साथीहरुले आफूलाइ समाज भंडुवा र अराजक स्वभावको अर्थ्याइँ, अर्घेलोको रुपमा हेरि चाडवाड,बिहे,जन्म मृत्यु जस्ता संस्कारमा समेत निम्ता दिन ,घरमा आइजाइ गर्ने,खुलेर बोलचाल गर्ने जस्ता काममा निषेध र बन्देज लगाइ एक किसिमले समाज बहिष्कार सो सरहको व्यवहार प्रदर्शन गरि पीडा दिएको नमिठो पललाई पनि पुस्तकमा स्मरण गरिएको छ ।
बिधवाले पुनर्बिवाह गर्न पाउनुपर्ने कथा बस्तु बोकेको मान्यता अगाडि सार्दै इन्दुमती र जातपात,उचनिच प्रथाको विरुद्धमा अभिमन्यु जस्ता नाटक लेखी र सडक पर्दर्शन गरि नागरिक सचेतना अभियानमा सक्रियतापूर्वक भाग लिएको जागरणका बिषयलाई पनि पुस्तकमा स्थान दिइएको छ।
आफू भौतिकबादी दार्शनिक चेत र वामपन्थी कम्युनिस्ट बिचार बोकेर हिडेपछी कतिपय पुरातन संस्कारमा हिड्नु भएका सहोदर बुवा संग समेत बेलाबेलामा असमझदारी,बेमेल र ठाक्कनठुक्क्न परेको र तत्क्षण मनभित्र वृद्धहरु संग विवाद गर्नुहुन्न र झनै छोराले बुबाको कुरा परचक्री संग काट्न हुन्न भन्ने बोधले बुवा संग थप विवादमा उत्रने र सवाल गर्न छाडेको प्रसङ्ग ब्यहोरालाइ पनि पुस्तकमा समेटिएको छ ।
यसैगरी पुस्तकमा २०१०सालदेखि ०१५ सम्म नेपाल कम्युनिस्ट पार्टीको संस्थापक जि सचिबको जिम्मेवारी पूरा गरेका नारायण गुरुले ०१६ सालको संसदीय निर्वाचनमा दाङको पूर्वी क्षेत्रबाट कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएकोमा पराजित भएका र ०१७ सालमा सुरक्षा कानुन अन्तरगत लगातार ३ बर्ष जेल चलानभै वामपन्थी रुझान र कम्युनिस्ट पार्टीमा आस्थावान भएकै नाममा तत्कालीन प्रशासनबाट उनका दैनिकी प्रति चियो चर्चा निगरानी र पटकपटक गरि पक्राउ जेलनेलको यातना समेत भोगेका नारायण गुरुले घरको आर्थिक स्थिति कमजोरका कारण घर व्यबहार चलाउन समस्या भएकोले सकृय राजनितीबाट अलग हुनुपरेको र त्यस क्षण मनभित्र गहिरो पिडा र अन्तर्द्वन्द महशुस भएकोबारे पनि स्मरण गरेका छन् ।
सकृय वामपन्थी राजनीति छाडी गृहस्थ जीवनमा आइ शिक्षण पेशा गरिरहेका र घर ब्यबहारिक मामिलालाई तैबिसेक सल्टाउंदै र मिलाउंदै आएका गुरुजिलाइ वामपन्थी कम्युनिस्ट स्कुलिङ भएको र त्यसमा कृयाशिल एब आबद्दता रहेको भन्दै जेनतेन शिक्षण गरिरहेको स्कुलबाट हटाइएको अबस्था सृजनाबारे पनि प्रकाश पारिएको छ।
त्यसैगरी वामपन्थी कम्युनिस्ट आन्दोलनमा भैरहने टुटफुट, बिभाजन र गाली राजनीति प्रति चिन्ता जाहेर गर्दै अद्यापि पनि मार्क्सवादी बिचारबाट बिचलित नभएको,सक्रिय राजनीतिबाट गृहस्थि जीबनमा फर्किए पनि समाजसेवा , साहित्य र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण्को बाटोमा योगदान दिने प्रयत्न गरेको र यस हिसाबले जीवनमा असन्तोष र गुनासो नरहेको अनुभूति पनि पुस्तकमा समेटिएको छ।


















