२०८३ बैशाख ११ गते शुक्रवार

विद्वान व्यक्तित्व टिकाराम उदासी सर द्वारा सम्पादित र वरिष्ठ पत्रकार तथा चिन्तक नारायण प्रसाद शर्मा द्वारा लिखित आत्मवृतान्त “जीवन प्रवाह मार्क्सदेखि बुद्ध सम्म भर्खरै पढी सिध्याई सो सम्बन्धमा पुस्तक भित्र त्यस्ता के कस्ता विषय समेटिएका छन् ? एक पाठकीय बिचार टिप्पणी लेख्ने कोसिस गर्दै छु ।  साहित्यका विविध विधा मध्य संस्मरण, निबन्ध र आत्मवृतान्त विधा खोइ किन हो असाध्यै मनपर्छ । यसकारणले कि – त्यहाँ ब्यक्तिका नितान्त निजी भोगाइ र आत्मचिन्तनका विषय भए पनि अभिव्यक्त भएका बिचार काल्पनिक ,मनगढन्ते भन्दा बढी सामाजिक र यथार्थ धरातलको नजिक रहेका हुन्छन् ।सामाजिक  प्राणी भएर पनि एक एक अर्काले भोगेका सुखदुःखका कहानी झण्डै दुरुस्तै मिल्न पुग्नु स्वभाविक हुन जान्छ र त कथा ,निबन्ध , उपन्यास , कविता र संस्मरण विधा पढ्दै ,सुन्दै या हेर्दै गर्दा मानिस कहिले भावुक बन्छ कहिले आलोचना या सहमत असहमत हुन पुग्छ । 

विद्वान व्यक्तित्व टीकाराम सर द्वारा नारायण गुरुको समग्र व्यक्तित्वको गुदी पहिल्याउने हेतु निकै मिहिनेत ,जाँगरका साथ सम्पादन गरि तयार पारिएको यस आत्मवृतान्त पढ्दै गर्दा धेरै ठाउँमा मेरा पनि भावना , अनुभव र बिचार मिलेको महशुस भयो । वि सं १९८८ सालमा घोराही बर्गदिमा जमिएका नारायण गुरु यो ९५ बर्षको बुढ्यौली उमेरमा पनि युवा मस्तिष्क र जांगर भावका साथ सामाजिक सरोकारका मुद्दाहरूमा सार्वजनिक मञ्चमै बौद्धिक बिमर्शमा भाग लिन रुचाउँछन् ,आफ्ना बिचारलाई आलेख मार्फत प्रस्ट्याउँछगुरुजीको त्यो उत्साह र सक्रियता देख्दा हरकसैलाइ ईष्र्या लाग्छ, अहा भन्न मन लाग्छ । पुस्तकको शिर्षकले भनेझैँ मार्क्स देखि बुद्ध चेतबाट समेत लैस भएर पनि होला जनताको जीवन सुधार , मानवीय मूल्य मान्यताको नैतिक आचरणयुक्त जीवन पद्धतिको गहिरो बोध ,मानवाधिकार, मानवतावाद सम्बन्धी मुद्दामा गुरुजी शान्त, गम्भीर तथा स्पष्ट वक्ता ,सैद्धान्तिकि, बैचारिकीदार्शनिकि सु स्पष्टताले निखारिएका र खारिएका छन् ।

आफू १३ बर्षको उमेर छंदा आमाको निधन हुन पुगेकोले मातृत्व स्नेहबाट बञ्चित नारायण गुरु सानो छंदा ठुली आमाको रेखदेखमा हुर्की बढेको एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन्छन् । उनका बुवाले गाउँघरमा पुरेत्याइँ समेत गर्ने गरेको र  सामान्य खेतीपातीबाट तैबिसेक गुजारा चलाएका उनको जिन्दगीमा पनि आम मान्छेले भोगेका जस्ता अकथनीय हन्डरठक्करका अनुभूति संगालिएका छन् । त्यस समयमा यातायातका साधन नहुंदा टाढा दुरिमा रहेको स्कुलमा जांदा खाली खुट्टा हिँडेको ,रित्तो गोजि,टालेकारफ्फु भरेका कपडा लगाएको ,एउटै भाइ गोत्यारहरु आफूहरु भन्दा हुनेखाने ,प्रशस्त जायजेथाका भएकोले उनीहरुले आफूहरुलाइ हेर्ने नजरिया आड,होच्याउने र बेवास्ता गर्ने , आफन्तहरूका वर व्यवहारले धेरै चोटि स्वाभिमानमा ठेंस लागेको,घाइते भएको र दुख्न पुगेको अनुभूति पनि पुस्तक मार्फत बाँडेका छन् ।

 त्यसैगरी पुस्तकमा तत्कालीन समयमा गाउँघरका ठूला ठालुका छोराछोरीले हेलाहोचो र अपमानका वर व्यबहार देखाएकोले सानैदेखि अन्याय र दलनलाई सहन गर्नुहुँदैन भन्ने विद्रोहि चेत पलाएको जस्तै सँगै हुर्की खेल्ने दलितका छोराछोरीलाई छुवाछूत,विभेद,घृणा  र अनादर गर्ने प्रबृत्ति उपर सवाल र प्रश्न तेर्स्याउंदै ००७ सालको क्रान्ति पछि नारायण गुरु लगाएतका जागरुक स्वभावका युवाहरूले दलितका घरमा पूजाआजा गर्न हुन्न भन्ने चलनलाइ तोड्दै आफै प्रमुख वाचक बनेर ढांटगाउंको विश्वकर्माको घरमा पुजा कथा लगाएको,दलितहरुलाइ मानमनितो दिएको र उनीहरु संग बढ्ता घुलमिल गर्न रुचाएको भन्दै तत्कालीन समय चेतनामा अभ्यस्त गाउँघर समाजका आफन्ती इष्टमित्र र नजिकका साथीहरुले आफूलाइ समाज भंडुवा र अराजक स्वभावको अर्थ्याइँ, अर्घेलोको रुपमा हेरि चाडवाड,बिहे,जन्म मृत्यु जस्ता संस्कारमा समेत निम्ता दिन ,घरमा आइजाइ गर्ने,खुलेर बोलचाल गर्ने जस्ता काममा निषेध र बन्देज लगाइ एक किसिमले समाज बहिष्कार सो सरहको व्यवहार प्रदर्शन गरि पीडा दिएको नमिठो पललाई पनि पुस्तकमा स्मरण गरिएको छ ।

बिधवाले पुनर्बिवाह गर्न पाउनुपर्ने कथा बस्तु बोकेको मान्यता अगाडि सार्दै इन्दुमती र जातपात,उचनिच प्रथाको विरुद्धमा अभिमन्यु जस्ता नाटक लेखी र सडक पर्दर्शन गरि नागरिक सचेतना अभियानमा सक्रियतापूर्वक भाग लिएको जागरणका बिषयलाई पनि पुस्तकमा स्थान दिइएको छ।

आफू भौतिकबादी दार्शनिक चेत र वामपन्थी कम्युनिस्ट बिचार बोकेर हिडेपछी कतिपय पुरातन संस्कारमा हिड्नु भएका सहोदर बुवा संग समेत बेलाबेलामा असमझदारी,बेमेल र ठाक्कनठुक्क्न परेको र तत्क्षण मनभित्र वृद्धहरु संग विवाद गर्नुहुन्न र झनै छोराले बुबाको कुरा परचक्री संग काट्न हुन्न भन्ने बोधले बुवा संग थप विवादमा उत्रने र सवाल गर्न छाडेको प्रसङ्ग ब्यहोरालाइ पनि पुस्तकमा समेटिएको छ । 

 यसैगरी पुस्तकमा २०१०सालदेखि ०१५ सम्म नेपाल कम्युनिस्ट पार्टीको संस्थापक जि सचिबको जिम्मेवारी पूरा गरेका नारायण गुरुले ०१६ सालको संसदीय निर्वाचनमा दाङको पूर्वी क्षेत्रबाट कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएकोमा पराजित भएका र ०१७ सालमा सुरक्षा कानुन अन्तरगत लगातार ३ बर्ष जेल चलानभै वामपन्थी रुझान र कम्युनिस्ट पार्टीमा आस्थावान भएकै नाममा तत्कालीन प्रशासनबाट उनका दैनिकी प्रति चियो चर्चा निगरानी र पटकपटक गरि पक्राउ जेलनेलको यातना समेत भोगेका नारायण गुरुले घरको आर्थिक स्थिति कमजोरका  कारण घर व्यबहार चलाउन समस्या भएकोले सकृय राजनितीबाट अलग हुनुपरेको र त्यस क्षण मनभित्र गहिरो पिडा र अन्तर्द्वन्द महशुस भएकोबारे पनि स्मरण गरेका छन् ।

सकृय वामपन्थी राजनीति छाडी गृहस्थ जीवनमा आइ शिक्षण पेशा गरिरहेका र घर ब्यबहारिक मामिलालाई तैबिसेक सल्टाउंदै र मिलाउंदै आएका गुरुजिलाइ वामपन्थी कम्युनिस्ट स्कुलिङ भएको र त्यसमा  कृयाशिल एब आबद्दता रहेको भन्दै जेनतेन शिक्षण गरिरहेको स्कुलबाट हटाइएको अबस्था सृजनाबारे पनि प्रकाश पारिएको छ।

 त्यसैगरी वामपन्थी कम्युनिस्ट आन्दोलनमा भैरहने टुटफुट, बिभाजन र गाली राजनीति प्रति चिन्ता जाहेर गर्दै अद्यापि पनि मार्क्सवादी बिचारबाट बिचलित नभएको,सक्रिय राजनीतिबाट गृहस्थि जीबनमा फर्किए पनि समाजसेवा , साहित्य र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण्को बाटोमा योगदान दिने प्रयत्न गरेको र यस हिसाबले जीवनमा असन्तोष र गुनासो नरहेको अनुभूति पनि पुस्तकमा समेटिएको छ।

त्यसैगरी पुस्तकमा नारायण गुरुले समाज जागरण तथा राजनीतिक आन्दोलनको क्रममा विभिन्न समयमा जेलमा बस्नुपरेको क्षणलाइ एक बिश्वबिद्धालयको रुपमा लिइ जेल बसाईमानै पाठ्यपुस्तक भन्दा पनि बाहिरका पुस्तकहरुलाई अध्ययन गर्न भ्याएको जस अन्तर्गत राहुल सांकृत्यान ,मार्क्स ,लुसुन,मेक्सिम गोर्की,ल्यु साओची,दयानन्द सरस्वती लगाएत इतिहास ,मनोबिज्ञान,दर्शन र सामाजिक यथार्थतमा आधारित जीवन दर्शनका पुस्तकहरु पढेपछि झनै उत्प्रेरित भएको जसका कारण समाजलाई हेर्ने, खुदै आफैलाइ हेर्ने र जीवन जगतलाइ हेर्ने विश्व दृष्टिकोणमा सहि समझ राख्न सकेको र त्यही दार्शनिकि,सैद्धान्तिकि र बैचारिकि सुझलेनै आफूले नितान्त ब्यक्तिगत र पारिवारिक जीबन भन्दा सामाजिक उत्तरदायीयुक्त जीबनलाइ पहिलो प्राथमिकतामा राखी जीवन बांच्न कोशिस गरेको बिषयबस्तुका बारे चर्चा गरिएको छ ।
उद्दात चेत,मनो सामाजिक बिषयबस्तु र मानबिय प्रबृत्तिका संबेदनसिल बिचार सामाग्रीले पुस्तक पढ्दापढ्दै भाबुकभै  भक्कानिदै रुएको प्रसङ्गलाई जोड दिदै लेखक भन्छन् “भाबुक हुने र संबेदनसिल हुने स्वभाव हरकोही मानिसमा त्यही ढंगले नहुने जिकिर गर्दै मानिसको त्यही स्वभावनै उसको पुंजी हो ।”यहि संबेदनसिल स्वभावलेनै आफूलाई बढ्ता मानबिय हुन एबं सामाजिक जीवन बाच्ने उत्प्रेरणा दिएको कुरा लेखकले  जाहेर गरेका छन् ।
त्यसैगरी पुस्तकमा घर व्यबहार चलाउन हम्मेसी भएपछि सकृय राजनीतिबाट गृहस्थि जीबनमा प्रवेश गरेपछि पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन ०३२ सालमा तत्कालीन जि.पंचायतको पुरानो छापाखाना किनेको र ०३३ असौज देखि युगबोध पत्रीकाको प्रकाशन प्रारम्भ गरेकोमा ०३९ सालमा गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता प्रकाशन गरेपछि त्यसलाई जघन्य अपराध ठानी तत्कालीन अंचलाधिश नारायण बस्नेतले पत्रीका माथी प्रतिबन्ध लगाइएको घटना ब्यहोरालाइ पनि समाबेश गरिएको छ ।
त्यसैगरी पुस्तकमा बचपन अबस्थामा आफू एक किसिमले सनकि र उपद्रया स्वभावको चर्चा गर्दै घरका अभिभावकलाइ नसोधी ३ पटक सम्म भागी भारतसम्म पुगेको, सबै उपद्रव,गल्ति र बदमासीमा अग्रज देखि शिक्षकबाट मायालु डांट सहितको थप्पड समेत खानुपरेको ,त्यस घटनाहरु  पछि घरबाट भागी हिड्ने क्रम रोकिएको रोचक अनुभूतिलाई पनि पुस्तकमा समाबेश गरिएको छ ।
त्यसैगरी पारिवारिक संस्कार र वातावरणमा माछा मासु खानमा बर्जित रहे पनि साथी संगति, लैलै र पार्टी कामको सिलसिलामा माछा मासु, रक्सी,चुरोट,खैनी समेत सेवन गरेको तर त्यसमा लत नबसाएको ,अन्तर्मनले चारित्रीक र नैतिक शुद्धतालाइ शिर माथी राखी काम गर्ने गरेको जस्ता जान अन्जानबशका कमजोरी,छली ढांटी हरकतलाइ पनि नलुकाइ ,आत्मप्रशंसा र बडप्पन पर्दर्शन नगरी खुलस्त रुपमा प्रस्तुत गरेका छन् ।
यसरी गुरुले  प्रायः लेखकहरुले आत्मकथा लेख्दा आत्मबंचनामा मात्र सिमित हुने गरेको पाइन्छ त्यसबाट लेखक बचेका छन् ।  त्यसैगरी पुस्तकमा नारायण गुरु संग राजनीतिक आन्दोलन  तथा समाज सुधारक जागरण अभियानको मोर्चाम साथ , सहयोग र समर्थन गरेका विभिन्न जागरुक ब्यक्तित्वहरुको नाम लिंदै उनीहरुले समाजमा पुर्याएको योगदान र भूमिकालाई कम आंक्न नहुने राय प्रकट गरेका छन् ।
दाङको कम्युनिस्ट आन्दोलनका हस्ती नेत्रलाल अभागी संग ब्यक्तिगत सम्बन्धका पाटाहरु भए पनि केही बिषयमा मत बाझिएको र खटपट समेत भएको भन्दै अभागीको ब्यक्तित्वबारे सकारात्मक मूल्याकंन गरिएको छ । पुस्तकमा सर्बोदय पुस्तकालयको स्थापना तथा त्यसको जग आधार निर्माण गर्न आफू लगाएतका साथिहरुले खेलेको भूमिकाको बारे पनि चर्चा गरिएको छ ।
त्यसैगरी पुस्तकमा आफू शिक्षण पेशामा रहदा नेपाली बिषयको  परिक्षामा आफ्ना बिद्यार्थी उत्तमकृष्ण मजगैयाले सबै प्रश्नको हल गरेकोले १०० पुर्णाङ्कमा १०० नं नै दिई त्यस अगाडि गणित बिषयमा मात्र १०० पुर्णाङ्क दिने प्रचलनलाई तोड्ने प्रयास गरेको त्यसले केहि बिबाद ल्याए पनि नारायण गुरुकै अडान सदर भएको रोचक प्रसङ्गलाई पनि समेटिएको छ ।
त्यसैगरी पुस्तकमा मानव जातिको उदय भए देखि सुखभोग , सत्ता ,शक्ति,पद , धन र प्रतिष्ठाको लागि मानिसले कसरी युद्धलाई निम्ता गरेको थियो ?छ ? शक्ति सम्पन्न राष्ट्रहरुले कसरी गोला , बम ,बारुद ,आणविक हतियारको शक्ति पर्दर्शन तथा होडबाजी,भण्डारणको ध्वांस दिदै आणविक हतियारमा कमजोर क्षमताको देश र त्यहाँका जनतालाइ सताउने, तर्साउने र त्यहाँको सार्बभौमसत्ता र स्वतन्त्रतामा अनावश्यक हस्तक्षेप गरि युद्ध थोपर्ने हर्कत गरेका छन् ?
मान्छे भित्रको दया ,करुणा ,प्रेम, सद्भाव ,सामुहिकता र बन्धुत्व प्रेम किन नामेट हुँदै गइरहेको छ ? मान्छे किन दिनानुदिन नितान्त स्वार्थी ,निन्दक ,पर पिडक ,अमानवीय , सम्बेदनहिन ,रुखो र निष्ठुर प्रबृत्तिको हुंदो छ ? यस पर पिडक, पर निन्दक र सम्बेदनहिन स्वभावमा लम्पट हुंदो मान्छेको मानबताको बिकास गर्न गौतम बुद्धले सिकाएको ध्यान ,ज्ञान, साधना र बुद्ध शिक्षा चेतना आजको सन्दर्भमा अत्यन्तै उपयुक्त र प्रभावी हुने जुक्तिका बारे पनि प्रकाश पारिएको छ।
यस आत्मबृतान्तमा विद्वान ब्यक्तित्व टिकाराम सरले नारायण गुरु जस्तो इतिहास बोकेको मुर्धन्य ब्यक्तित्वबारे दुनियाँले पनि थाहापावस,जानोस,बुझोस भन्ने हेतु गुरुजी संग छलफल बिमर्श गर्दै उहाँका मन मस्तिष्कमा कुंदिएका बिचारलाइ छाम्न जे जसरी मिहिनेत र जांगर देखाउनु भएको छ त्यसको उच्च प्रशंसा गर्नैपर्छ । यद्यपि नारायण गुरुले आफ्ना भनाइ राख्ने क्रममा “बिषयबस्तु ,घटनाक्रम र समय चेतनालाई अझै बिस्तृत रुपमा प्रस्ट्याउन पर्ने थियो र पनि त्यो बढी तन्किने,लम्बिने र अन्यत्रै मोडिने भएकोेले जे जति बिषय प्रसङ्ग आएका छन् सन्तुष्ट र गदगद छु।” नारायण गुरुको स्विकारोक्तिले पनि भन्छ – यस आत्मबृतान्तमा मुख्य अन्तर्बस्तु अटाएका ,पोखिएका र अभिव्यक्त भएका छन् ।  समग्रमा आफ्नो एकबारको जिन्दगी तुच्छ नबनाएकोमा गुरुजिले गौरब बोध गरेका छन् ।
५ बर्षको उमेरमै घरमै अक्षारम्भ गरेका र प्राइभेट द्वारानै टियूबाट नेपाली बिषयमा एमए सम्म्को औपचारिक अध्ययन पूरा गरेका नारायण गुरुले पाठ्यक्रम बाहिरका मार्क्स देखि लुसुन,गोर्की, बुद्द दर्शन सम्मका अनेकन पुस्तकहरु स्व अध्ययन  गरि आफ्नो ज्ञान क्षेत्रको दायरालाई बिशाल ,बोधगम्य र फराकिलो बनाएको कुरा उहाँको जीवन दर्शनको बुझाइ र व्यबहारबाट स्पष्ट झल्किन्छ ।यसरी नागरिक समाजको अगुवा , विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका देखि प्रेश काउन्सिलको अध्यक्ष हुँदै अन्तरिम ब्यवस्थापिका सँसदको अनुभव समेत बटुलेका नारायण गुरु राजनीतिक सुझबुझ तथा ब्यबहारिक अनुभवले निखारिएका परिपक्व साझा ब्यक्तित्व हुन  ।
दिनानुदिन समाज गन्धकी,भ्रष्ट ,अराजक ,बेसोमत,मनपर्दी बिचारहिन,मूल्यहिन,नैतिकहिन,थिती ,विधि र नीतिहिनताले दुर्गन्ध फैल्याइरहेको बेला,बेइमानी र दुष्कर्ममा रमाउनेहरु बेपर्वाह र तमासका साथ सांढे बनी बुर्कुसी मार्दै हिडिरहेको बेला  स्वाभिमान र नैतिक पुंजिको जगमा ईमानलाई बचाएर हिड्ने नारायण प्रसाद शर्मा जस्ता अशल र सज्जन ब्यक्तित्वहरु पनि छन् है भन्न पाउनु,पिठ्युँ पछाडी उहाँको सत्कर्मबारे मुक्तकण्ठले गीत गाउन पाउनु आफैमा गतिलो र गुनिलो उदाहरण हो।
अन्त्यमा र जम्मामा होचो कदका तर बैचारिक सुझबुझ र परिपक्वताले उचो र अग्लो कदका,वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा ज्यूको यस आत्मबृतान्त कथा पठनिय छ । उहाँलाई थप जान्न बुझ्न चाहानुहुने पाठक,स्रोता तथा शुभेच्छुकहरुलाइ यो पुस्तक सङ्ग्रह गरि अध्ययन गर्न समेत सबिनय सिफारिस गर्दछु । धन्यवाद ।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया