२०८२ कार्तिक २१ गते शुक्रवार

कम्युनिस्ट आदर्शको पतन : नेतृत्वको स्वार्थ कि विचारको मृत्यु ?

आउनुहोस् यसबारे केही चर्चा गरौँ – खासगरी वामपन्थी कम्युनिस्ट आन्दोलनमा, हिजो एकै उद्देश्य, एकै  गन्तव्य, एकै मनपेट साटफेर गरेका मनहरु आज एक अर्कालाई ज्यानी दुस्मन ठान्दै, धोखेबाज र गद्दार घोषणा गरि चाहे पार्टी एकताको नाममा होस् वा अलग पार्टी घोषणाको नाममा यताबाट उता तिर हाम फालेर जाने अनि त्यहाँ भित्र पनि पुनः फुट र विभाजनको बीउ रोप्दै जाने शृङ्खलाबद्ध घटना किन घटिरहन्छ ? किन दोहोरिन्छ ? नेताहरूका आफ्ना स्वार्थको चक्रब्युह  भित्र फसाइ किन कम्युनिस्ट आदर्श र सपनामाथि  झेली खेल खेलिन्छ ?

त्यत्तिकै आम नागरिक स्तरमा असन्तुष्टि जाहेर भएको हो र भन्या ? हिजो फेरि नेकपा बिप्लबबाट बाग्लुङ्गे कमरेड चिरन पुनको नेतृत्वमा एउटा हांगा अलग भएछ र माओवादी केन्द्रमा मिसिने सुर कसेछ, उता एकीकृत समाजबादिमा झलनाथ खनाल, रामकुमारी झाँक्री लगायतको समुहले त्यहाँ भित्र असन्तुष्ट जाहेर गरेको खबर छ । आलोचनात्मक चेतको हवला दिदै एमाले, माओवादी केन्द्र जस्ता पार्टीमा पनि उषा तिमिल्सिना र जनार्दन शर्माहरु जस्ता नेताहरु पनि  गनगन गरेको सूनिन्छ

भर्खरै मैले डा.ढाकाराम चापागाईं द्वारा लिखित नेकपा एमाले र माओवादी केन्द्र एकता देखि विभाजन सम्म, नेत्र पन्थीको लेफ्ट राइट सत्ता र शक्तिको अराजनीति र डा.विन्दा पाण्डेको भूइंमान्छे नामक पुस्तकहरू सविस्तार अध्ययन गरि सिध्याएँ । ती तीन वटै पुस्तकको शारांस थियो – मुख्यतः बामपन्थी कम्युनिस्ट आन्दोलनमा कसरी एउटै उद्देश्य, लक्ष्य र गन्तव्य किटान साथ अगाडि बढेका दलहरू र त्यस आन्दोलनमा अनवरत आफ्नो जवानी, उर्जा र समय खर्चेका नेतृत्वहरु किन एकापसमा मिल्न र एकैसाथ रहन सकेनन् र सक्दैनन् ? किन छुट्टाछुट्टै भंगाला र टुकडी बनाइ आ–आफ्ना लम्फु बजाइ शास्त्रीय शुद्धताको आलापमा रमाइ रहेका छन् ? छिन्नभिन्न ,टुटफुटको क्रमबद्ध शृङ्खला उत्पन्न हुनाको कारण के हो ? किन आधारभूत तह अथार्त भूइंमान्छेहरुबाट अलगथलग भै सभ्रान्त र हुनेखाने बर्ग संग बढ्ता उठबस गर्न त्यो समहु ज्यास्ती मन गर्दो छ ?

आज किन कम्युनिस्ट आन्दोलनमा दिनानुदिन सिद्धान्तहिन, मूल्यहिन, निष्ठाहिन, बिचारहिन,आदर्शहिन,नीति थिती र बिधिहिन राजनीतिको बोलवाला पकड हुंदो छ ? हिजो अध्ययन, चिन्तनमनन, खोज अनुसन्धानमा, मुद्दा  र बिषयमा  जोड दिने कमरेडहरु आज किन अध्ययन चिन्तन, मुद्दा  र  विषयका सवाल उठाउनेहरुलाइ अनादर र खिसिटिउरी गर्दै चोक चौतारिमा आफ्नै बिरुद्ध खुइल्याउंदै अन्टसन्ट बक्न मन पराउंछन ? हिजो पार्टी कामकारबाहीको सिलसिलामा गल्ती कमजोरी भएमा आत्मालोचना गर्ने, सच्चिने र सच्याउने प्रतिबद्धता हुने गर्ने, फरक मतलाइ सम्मान र आदर गर्दै त्यस उपर घनिभुत छलफल हुने परिपाटी आज किन क्रमशः भुत्ते हुंदैछ ? उल्टो फरक मतका स्वर आवाज उपर टेढो नजर लगाउंदै मुख बन्द गराउने, कारवाहिको डन्डा बर्षाउंदै लखेट्ने र दपेट्ने  प्रक्रिया अगाडि बढ्दो ? हिजो फरक मतका आवाज भएमा आन्तरिक कमिटी भित्र मात्र राखिने पद्धति रहेकोमा आज किन कमिटीमा नराखी पहिल्यै बजारमा बिक्रि गरिन्छ ?

हिजो पार्टीका निति निर्णय र नेतृत्व विरुद्ध कसैले छिसिक्क अनावश्यक बोल्दा र भ्रम फैल्याउंदा त्यसको डटेर सैद्धान्तिक बैचारिक प्रतिबाद गरि भ्रम निवारणमा खट्ने मनहरु आज उल्टो  नेतृत्वलाई खुइल्याउंदा आनन्द मान्ने र पार्टीका आन्तरिक गोप्य कुरा बाहिर फेर दिन हतार गर्ने अराजक र अनुशासनहिन प्रवृत्ति किन बढ्दो र झ्याङ्गिदो छ ? हिजो आटोपिठो रुखोसुखो खाइ आम नागरिकको घर आंगन र झुप्राहरुमा पुगि सुखदुःखमा समाबेश हुने,उनीहरु संग घुलमिल हुने ज्यान र  मनहरु आज किन गाउँमा बस्न मन नगर्दै शहरका महंगो होटेल र रेष्टुरेन्टहरुमा भुजा, ज्युनार खान मन गर्छ ?

हिजो आम जनताले बोल्ने तपाईं, तिमी हामी जस्ता शब्द सम्बोधनमा आज किन आफूलाईमात्र  केन्द्रमा राखी म, मैले गरेको भन्दै अनि सभ्रान्त बर्गले बोल्ने खाइस्योस, गइस्योस जस्ता शब्द भाषा प्रयोग गर्न लालायित छ ? हिजो सादा जीवन उच्च बिचार,नैतिक आचरणले युक्त हुंदा गौरब बोध गर्ने ज्यान र मनहरु आज किन मोजमस्ती, ऐयासी जिबन, अनावश्यक तडकभड्क  जतिसक्दो र जसरी हुन्छ  पैसा कमाउ धन्धामा लिप्त हुंदो छ ? यसबारेमा यी पुस्तकहरुको पेटबोलिमा गहिरो बिश्लेषण र बिबेचना गरिएको छ ।

अहिले पनि वामपन्थी आन्दोलन र कम्युनिस्टहरु प्रति आम नागरिकको भरोसा छ, जनमत छ । उनीहरुले त्यही बिश्वासका आधारमा पटकपटक  वामपन्थी खेमा र कम्युनिस्टहरुलाइ सत्तामा पनि पुर्याए तर कम्युनिस्ट आदर्श र सपनालाइ ब्य्बहारत साकार रुप दिनुपर्ने, आम नागरिकको दैनिकी सुधारमा ध्यान खबर राख्नुपर्ने र उनीहरुको भरोसा टुट्न नदिन सोही अनुसार काम कामकारबाहीमा अनिवार्य जुट्नुपर्नेमा पार्टीको मूख्य नेतृत्व जहिल्यै अनावश्यक ब्यक्तित्व टकराव, एकले अर्काको अस्तित्व नस्विकार्ने प्रबृत्तिमा फस्दा कम्युनिस्ट आन्दोलनको कडि क्रमशः टुटफुट र छिन्नभिन्न हुंदा कम्युनिस्ट समर्थक , शुभेच्छुकहरुको  मन कम्ता कुंडिएको र दुखेको छैन ? आफूलाई वामपन्थी रुझान र कम्युनिस्ट आदर्शको हिमायती भन्ने  ठान्ने नेतृत्वले कहिले बुझ्ने, कहिले समिक्षामा जुट्ने र बोध गर्ने ?

 फेरि पनि भन्छु – कहिले सुध्रिने ? कहिले सच्चिने? हिन्दीमा एउटा उखान छ – हम कभी नहि सुध्रिङ्गे तो तुम कैसे सुधारो गे ? आम नागरिकको असन्तुष्टि त्यत्तिकै भएको हो र भन्या ? ०८२ कार्तिक १५ दाङ तुल्सिपुर ।

 

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया