२०८३ बैशाख ११ गते शुक्रवार

विपद्मा सरकार यसपटक रातभर जागा भयो

काठमाडौं । अविरल वर्षाका बीच सरकार र सुरक्षाकर्मीको सक्रियताले यसपालि जनताको मनमा सरकारप्रतिको विश्वास पुनर्जीवित गराएको छ । सामान्यतया विपद्का बेला ‘मुख ताक्ने’ एक मात्र स्रोतको रूपमा हेपिएको सरकारी संयन्त्र यसपालि भने “आपतमा सरकार भेटियो” भन्ने प्रशंसा पाउन सफल भएको छ ।

यसअघिका विपत्तिमा हेलिकोप्टरबाट निरीक्षण गरेर जिम्मेवारी टार्ने अभ्यास रहे पनि अन्तरिम सरकारले यसपटक स्थलमै पुगेर संयन्त्र परिचालन गरेको जनआभास छ । सामाजिक सञ्जालहरूमा अधिकांश नागरिकले विपद् नियन्त्रणमा सरकारको तत्परतालाई ‘असामान्य सकारात्मक परिवर्तन’को रूपमा स्वागत गरेका छन् ।

जेन-जेड आन्दोलनका बेला सुरक्षाकर्मीमाथि भएको व्यवहारप्रति संकेत गर्दै धेरैले टिप्पणी गरेका छन् — “सुरक्षाकर्मीको महत्व बुझ्यौ होला नि, तिनीहरूलाई भाला हानेर मार्नेहरूले।” विपद् व्यवस्थापनमा सत्तापक्ष मात्र होइन, विपक्षी दलका समर्थकहरूले समेत सरकारको होशियारीको खुलेर समर्थन गरेका छन् । सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत सरकार र सुरक्षाकर्मीको प्रयासको सराहना गरेका छन् । शर्माले भनेका छन्, “मानवतावाद राजनीतिभन्दा माथि हुन्छ, बर्दीविनाका सुरक्षाकर्मी सम्झिएर उद्धारमा जुटौं।”

यसपालि मौसम पूर्वानुमान महाशाखाले पनि विश्वासिलो भूमिका निर्वाह गरेको जनाइएको छ । एक समय पूर्वानुमानहरू मिल्दैनन् भन्ने गुनासो हुने महाशाखाले अब उच्च प्रविधिबाट सटीक सूचना प्रवाह गर्न थालेको छ । सरकारले ती चेतावनीहरूलाई समयमै गम्भीरतापूर्वक लिई सवारी आवागमन रोक्ने, नागरिकलाई घरमै बस्न आग्रह गर्ने र सतर्क रहन अपिल गर्ने निर्णय गरेपछि ठूलो जनधनको क्षति टारिएको मानिन्छ ।

सरकारले ‘ठूलो चमत्कार’ नगरे पनि ‘समयमै चासो’ देखाएको तथ्यलाई नागरिकले राहतका रूपमा लिएका छन् । सामाजिक सञ्जालमा धेरैले लेखेका छन्— “सरकार सक्रिय हुँदा पहिलो पटक ढुक्क भएर निदाउन सकेँ।” केहीले त “सरकार भएको पहिलो पटक महसुस भयो” भनेर टिप्पणी गरेका छन् ।

साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले आफ्नो व्यक्तिगत अनुभव लेख्दै भनेका छन् —“म मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष वर्षा हुँदा डर लाग्थ्यो । यसपटक भने रातभर सरकार पनि हाम्रो साथमा थियो । कुनै परे हामी छौँ भनेर सूचना आइरहेको थियो । म ३ बजेतिर सुतेँ, अहिले थाहा पाएँ — सरकार रातभर जागा थियो ।” कोइरालाको यो भनाइले धेरै नेपालीको सामूहिक भावना बोलेको छ — यसपटक नागरिकले सरकारको अस्तित्व महसुस गरे ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया