दाङमा २ महिना नवित्दै ४३ जनाद्धारा आत्महत्या

तुलसीपुर, २५ भदौ । दाङमा चालु आर्थिक वर्षको २ महिना नबित्दै ४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ को २ महिना नबित्दै ४३ जनाले आत्महत्या गरेका हुन् । साउन महिनामा २९ जना र भदौ महिनाको २२ गते आइतबारसम्म १४ जना गरी ४३ जनाले आत्महत्या गरेका छन् । सोही अवधिमा जिल्लामा महिला भन्दा धेरै पुरुषहरुले आत्महत्या गरेका छन् । जसमा २८ जना पुरुष र १५ जना महिला रहेका छन् । उनीहरु ३६ जना झुण्डिएर र ७ जना विष सेवन गरेर आत्महत्या गरेका थिए । जातिगत आधारका ब्राहमण तथा क्षेत्री समुदायका १० जना, २४ जना जनजाती र ९ जना दलित समुदायका नागरिकहरु रहेको प्रहरीले दिएको तथ्याँकमा उल्लेख गरिएको छ ।

 

वितेको आर्थिक वर्ष २०८१/०८२ मा १ सय २३ पुरुष र ९९ जना महिला गरी २ सय २२ जनाले आत्महत्या गरेका थिए । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ सय २२ पुरुष र ८७ महिला गरी २ सय ९ जना र आर्थिक वर्ष २०७९/०८० मा १ सय २२ पुरुष र ९८ महिला गरी २ सय २० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको हालसम्म सबै भन्दा धेरै झुण्डिएर ५ सय ५७ जना, विष सेवन गरेर १ सय ३० जना, भीरबाट तथा पानीमा हाम फालेर ४ जना, घाँटी रेटेर १ जना, हतियार प्रयोग गरी २ जना गरी ६ सय ९४ जनाले आत्महत्या गरेका हुन् । सोही अवधिमा महिनाको आधारमा आत्महत्या गर्नेमा श्रावन महिनामा ९१, भदौमा ७३, असोजमा ४१, कात्तिकमा ५५, मंसिरमा ४२, पौषमा ५०, माघमा ५५ फागुनमा ४५, चैतमा ४३, वैशाखमा ५०, जेठमा ८७ अषाढमा ४९ जना रहेका छन् ।

 

यसैगरी प्रहरीको तथ्याँक अनुसार बारको आधारमा सबैभन्दा धेरै सोमबार १ सय २६ जना र कम शनिबार ७४ जनाले आत्महत्या गरेका छन् । यस्तै आइतबार ९६ जना, मंगलबार १ सय २ जना, बुधबार १ सय ८ जना, बिहीबार ९३ जना र शुक्रबार ९२ जनाले आत्महत्या गरेका थिए । समयको आधारमा विहान ६ वजेदेखि मध्यान्ह् १२ वजेसम्मको समयमा सबैभन्दा धेरैले आत्महत्या गर्ने गरेका छन् ।

सोही समयमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको हालसम्म आत्महत्या गर्नेमा २ सय २५ जना रहेका छन् । विभिन्न ४ वटा समुहमा गरीे कुन समयमा कतिले आत्महत्या गरेका छन् भनेर प्रहरीले छुट्याएको छ । मध्यान्ह् १२ वजेदेखि साँझ ६ वजेसम्म १ सय १८ जना, साँझ ६ वजेदेखि राती १२ वजेसम्म १ सय ५८ जना र रातको १२ वजेदेखि बिहान ६ वजेसम्म १ सय २७ जना गरी ६ सय ९४ जनाले आत्महत्या गरेको समयलाई विभाजन गरेको छ ।

 

पेशाका आधारमा कृषि पेशाका रहेका नागरिकहरु बढी मात्रामा आत्महत्या गर्ने गरेको प्रहरीले तथ्याँकले देखाएको छ । कृषि पेशा गर्ने २ सय ८८ गृहणी १ सय ७२, बैदेशिक रोजगारका कारण १२, बेरोजगारका १४, चालक सहचालक १, ज्यामी मजदुरी ५९, विद्यार्थी १ सय १३, व्यापारी ६ र कर्मचारी २ जनाले आत्महत्या गरका थिए । पेशाका आधारमा गरिबीले नै धेरै आत्महत्या गर्ने गरेको स्पष्ट देखाउँछ । गरिबीलाई घटाउन नसक्दा आत्महत्या न्यूनिकरणमा समस्या नै देखिएको प्रहरीको तथ्याँकमा उल्लेख छ ।

प्रहरीको तथ्याँकमा उमेरका हिसावले विश्लेषण गर्दा किशोरावस्था देखि युवा अवस्थाका व्यक्तिहरुले धेरै आमहत्या गरेका छन् । १६ वर्षमूनिका ४५ जना, १६ देखि २५ वर्षका १ सय ७५ जना, २६ देखि ३५ वर्षका १ सय ६ जना, ३६ देखि ६० वर्षका १ सय ५८ जना । ६० देखि माथिका ९० जनाले आत्महत्या गरको तथ्याँकमा उल्लेख गरिएको छ ।

 

किन हुन्छ आत्महत्या ?
प्रहरीका अनुसार गरिबीका कारण बढ्दो महत्वाकाङ्क्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसक्नु, प्रेममा धोका, असफलता, मनोरोग, सोचेको जस्तो नहुनु जस्ता कारणले आत्महत्या गर्ने गरेका छन् । यस्तै लागू औषध दुव्र्यसनी, दिर्घ रोग, पारिवारिक कलह, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी वा अन्य कारणले झै– झगडा गर्ने लगायतका विविध कारणले आत्महत्याका घटना हुने गरेका छन् ।

 

आत्महत्या रोकथामका लागि प्रहरीले चालेको कदम आत्महत्या रोकथामका लागि जिल्ला प्रहरी कार्यालय दाङले प्रयास नगरेको भने होइन । आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम अनुरुप गाँउ गाँउमा पुगी आत्महत्या रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । यस्तै आत्महत्याको प्रयास गरेका मानिसहरुलाई मनोपरामर्श दिने र उपचारको सहजिकरण गर्ने कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले यति गर्दा पनि अर्थात प्रहरीले चालेको कदमले मात्रै आत्महत्या न्यूनिकरणमा सफलता प्राप्त गर्न नसकेको देखिन्छ । आत्महत्या न्यूनिकरणमा प्रहरीको एक्लै प्रयासले मात्रै पुग्दैन । यसमा घरपरिवारदेखि राज्यले ल्याउने विभिन्न आन्तहत्या न्यूनिकरणका उपायका कार्यक्रमहरु संचालन गर्न आवश्यक देखिन्छ ।।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया