भनिन्छ –साहित्य समाजको प्रतिबिम्ब एबं ऐना हो । एक लेखक साहित्यकार, गितकार, कथाकार, कबिले आफ्नै वरपरका स साना घटना प्रक्रिया बिषय प्रसङ्गलाई अरु भन्दा बेग्लै किसिमले सुक्ष्म रुपमा नियाल्दै अवलोकन र निरीक्षण गर्दै त्यसले ओगटेका गुढ रहस्य र महत्वलाई उजागर गर्छ, बाहिरफेर ल्याउंछ । लेखक रमेश के सिजि खुदै समाजशास्त्रको बिद्यार्थी भएकोले पनि होला प्रस्तुत निबन्ध सङ्ग्रहमा समाजमा घटेका विविध पाटालाइ सुक्ष्मरुपमा नियाल्दै त्यसको रौचिरा अध्ययन गरि समाजशास्त्रीय बिबेचना गरेका छन् ।
निबन्धकार दार्मा ५ सल्यान जिमा हुर्के बढेका हुन् । बिकट पहाडी गाउँमा सडक यातायात बाटोघाटो, बिजुली बत्तिको बिस्तार भए संगै सोफि रक्सीका बोत्तल, सुर्तीका पोका र चुरोटको धुवाँ चकचकी बढेको,के युवा, के बृद्दा,के पाका सबै पुरुषहरु फुर्सद पायो कि कुनै खाली घर गोठ,सार्बजनिक चोक चौतारा र बजारको बिच भागमा समेत भेला जम्मा भै जुवातासमा लम्पट बनेको,तास खेल्ने र हेर्नेहरु उत्तिकै तमास र जांगरका साथ संलग्न भएको दृश्य घटनाले लेखकको मन कुडिएको छ, उनको संबेदनसिल मन उद्देलित र भक्कानिएको छ । यस खराब आदत र बुराइंमा संलग्न हुनेहरु संग यसो होईन यसो गर्नुस् भनी बोल्दा लेखकले कयौंपटक सवालजवाफ र नोकझोंक समेत ब्यहोर्नुपरेको छ, अपमानित र अनादर भोग्नुपरेको छ ।
सबैभन्दा दुःखद र बिडम्बनाको बात त स्कुल र कलेजका शिक्षकहरु,समाजका अगुवा र जागरुक ब्यक्तित्वहरु समेत यस गतिविधिमा संलग्न भएको हर्कतले लेखक निकै चिमोटिएका र दुखेका छन् । प्रस्तुत निबन्ध सङ्ग्रहमा बाल बिबाह, बहु बिबाह, जातीय भेदभाव, उच निच, हेला होचो,धामी झांक्री,डायन बोक्सी जस्ता अमानवीय कुरुती ,कुप्रथा ,रुढी र अन्धबिश्वासले कसरी समाज लाई अद्दापी पनि बिशाक्त बनाइ डसिरहेको,दुखाइरहेको र घाइते बनाइरहेको छ ? यसबारेमा प्रकाश पार्ने कोशिस गरिएको छ ।
भौतिक सुख सुबिधा र अवसरको खोजीको निहुँमा गाउँ छाडी शहरमूखि हुने र बिदेश पलायनले गर्दा कसरी गाउँ घर सुनसान,खाली हुँदै केवल बृद्धअबश्थाका बाजे बोइ बा आमाहरु मात्र रहनुपर्दो छ ?आफ्ना सन्ततिहरु आफू संग नरहदा सन्चो बिसन्चो, आपत बिपत र भर अभरमा सुखदुःख, मनका गुनासाहरु बांड्ने घर परिवारका सदस्य नहुंदा, घर जिर्ण, भत्क, बिग्रेकोमा मर्मत संभार गर्ने, लिपपोत गरि चिटिक्क बनाउने सहयोगी हात नपाउंदा जम्मामा आफन्तको माया ममता,अपनत्वबाट बंचित ती बृद्धअबश्थाका बाजे बोइ, बा आमाहरु कुन मनोदशाबाट गुज्रिरहेका छन् ? हिजो त्यही जमिन,त्यही जग्गा र त्यही ठाँउमा खनी खोस्री गर्दा खानपुग्ने खेत र बारिका पाटाहरु आज किन रुखा,बांझा र बेकम्मामा परिणत हुंदा छन ?समग्रमा गाउँघर कसरी शुन्य, उराठ, उजाड र बिरक्त हुंदो छ ?
हिजो आत्मनिर्भर, स्वाभिमानी, हंसी खुशी देखिने चेहराहरु आज किन निन्याउरो रुञ्चे,पर निर्भर र स्वाभिमान गुमाउन समेत तम्तयार हुँदो छ ?हिजो गाउँघरमा रहदा घरपरिवार, इष्टमित्र ,साथिभाइ र आफन्तको माझमा घुलमिल हुन , समुदायको हितको खातिर बोल्न र रम्न मन गर्ने ती ज्यानहरु आज किन शहरको एकान्त कोठामा बसि इष्टमित्र र आफन्तहरु संग बोल्न र नजिकिन समेत झिन्झट मान्दो छ ? हिजो जिम्मेवारीबोध,नैतिकता,इमानदारीता, मानबता,परोपकार, सामाजिक सद्भाव, उद्दात सहयोगि भावना र सामुहिक प्रतिबद्धताका साथ खटिन जांगर देखाउने मनहरु आज किन कुण्ठित, इष्र्यालु, असहयोगी, बेइमानी, कपटी र सम्बेदनहिन स्वभावबाट गुज्रदो छ ?
हिजो अतिथि र पाहुनाहरुलाइ दुध, दहि, महि र घ्यूका परिकारबाट सत्कार र सम्मान गरिंदा आनन्द र खुशी आदानप्रदान गर्न रुचाउने मनहरु आज किन सोफि रक्सीका बोतल र भोड्कामा रमे, जमेको र अनुबाद भएको छ ? यस जमिनी यथार्थ घटना प्रबृत्तिका सामाजिक प्रतिबिम्बलाई लेखकले भुइँतहमानै पुगि जस्ताको तस्तै उतार्ने, उधिन्ने र छिमल्ने प्रयास गरेका छन् ।
लेखक नेपालगन्ज धम्बोजी हुँदै भारत रुपाडिया जानेक्रममा रिक्सावाला, टांगावाला र ठेलागाडाहरु संग गफिदै उनिहरुका मार्का संग संबेदनसिल हुन पुग्छन् बाटो हुंदी चिया पशल र चोकमा एक हुल फुर्सदिला मान्छेहरु भेला जमाभै राजनीति,अर्थनीति,धर्म, कला, संस्कृतिका बारेमा पक्ष विपक्षमा एकापसमा चर्का चर्की गर्दै बिमर्शमा जुटिरहेका केही सचेत र जागरुक स्वभावका देखिने ब्यक्तिहरु मध्य कुनै एकले लेखक संग परिचय साट्दै लेखकलाई शहरका गल्ली गल्लि चाहार्दै काम खोज्दै र टहल्दै गरेका मजदुरि गर्नेहरूका कथा, रिक्सा, ठेला र टांगावाल्हरुको अबस्था र दैनिकी, पिछडिएका लोहार, चमार, कहार, नाउ, कुर्मी, लोतिया, गोडिया, सोमार, खडिक, मङ्गिहरुको आर्थिक दुराबस्थाका बारेमा कलम चलाउन र उनीहरुबारे घोत्लिन सुझाएको संबादले लेखक निकै चिमोटिएको र संबेदनसिल बनेको प्रसङ्गबारे पनि प्रकाश पारिएको छ ।
बेलासपुर, हवल्दारपुरमा अबस्थित चरा मार्ने पेशा अंगालेका चिडिमारको अव्यवस्थित जिन्दगी, नदि किनारका ढुंगा बालुवा चालेर सुन खोज्दै गरेका राजापुरका सुनारहरु, बुलबुलियामा घाँस काटेर हरियाली घाँस मण्डिमा बेच्दैगरेका बा आमा दिदिबहिनीहरु र चौरातिर बदिनिहरुले आफ्नो अस्मिता बेच्न बिबश हुनुपरेको कथाबारे पनि प्रकाश पारिएको छ ।
निबन्धकार रमेश जि सल्यानबासी भएकोले पनि आफू जन्मी हुर्केको गाउँ ठाउँमा अबस्थित मन्दिर,ताल तलैया र पर्यटकीय स्थल, प्राकृतिक सौन्दर्यता, वातावरण, स्थानीय रहनसहन, खानपान, कृषि उपज, भाषा संस्कृतिमा गौरव गर्नुपर्नेमा जोड दिदै खैराबाङ, छायांक्षेत्र, कुभिण्डे दह, कछुवा दह, शिव गुफा, त्रिवेणि गुफा, कुमाख लेक, पुतली दरबार , सिम्ले छहरा, कपुरकोटको रमणीय स्थल ,शारदा नदि, दार्मा खोला, माल्नेटाको अदुवा,कोटमौलाको सुन्तला, गंगामाता मन्दिरको ऐतिहासिकता, धार्मिक सांस्कृतिक सम्पदाको महत्त्वको चर्चा गरेका छन् र भनेका छन् –स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण,बिस्तार र सम्बद्र्धन गर्नमा सम्पूर्ण सल्यानबासीहरुको अहम कर्तव्य हुन जान्छ भन्दै त्यसबारेमा थप चासो र सरोकार राखी घोत्लिएका छन् ।
त्यसैगरी पुस्तकमा केही अवसर र सुबिधाको खोजिमा शहर र सुबिधाजन्य ठाउँमा पुगि योग्यता र क्षमता हांसिल गरि पद धारण, धनी र सम्पन्न हुन सके पनि आफू हुर्किखेलेको गाउँठाउँलाई चटक्कै बिर्सन नहुने, गाउँको बिकास र उन्नतिमा सक्दो सहयोगी र दिलदारभै गाउँ छाडेका विभिन्न पद ओहदा र प्रतिष्ठा प्राप्त ब्यक्ति ब्यक्तित्वहरु गाउँ फर्क अभियानमा जुटि गाउँ बनाउन लाग्नुपर्नेमा लेखकले जिरिह पेश गरेका छन् ।
लेखक काठमाडौमा रहदा बस्दा यौनकर्मी महिलाहरु संग समेत संबादमा जुट्दै उनीहरुले आफ्नो शरीर बेच्नुपर्ने अबस्था कसरी आइलाग्यो ? आफू हरु कहाँ आउने पुरुषहरुले के कस्तो व्यबहार पर्दर्शन गर्छन् ? आफूहरुले कुन मनोदशाका साथ जीवन ब्यतित गर्नुपर्दो छ ? यौनकर्मी महिलाहरु संगको साक्षात्कार संबादले लेखक निकै संबेदनसिल र भक्कानिएको प्रसङ्ग घटनाबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
प्रस्तुत निबन्ध संग्रहको शिर्षक फर्केर हेर्दा अन्तर्गत लेखकले आफू जन्मेहुर्केको ठाउँ सल्यान ढाकाडामको परिचय साट्दै बाल्यकालिन अबस्थामा बिताएका रमाइला पलहरु, स्मृतिहरु संग ढुबुल्की मार्न पुग्छन् ।गरिबी, अभाव, पछ्यौटेपन, अबिकाशबाट गुज्रिदै क्रमशः बिकाश, सुख र बिकशित अबस्थामा बामे सर्दै गएको सल्यान र गाउँको रुप रेखालाइ नियाल्दै लेखकले थप आशावादी हुन्छन् आफ्नै आँखा अगाडि निरंकुश सामन्ती राजतन्त्र बिरुद्द् चलेका आन्दोलन प्रजातन्त्र, लोकतन्त्र र संबिधान सभा मार्फत गणतान्त्रिक ब्यबस्थाको युगका चरणहरुमा स्रोता, भोक्ताको अनुभव समेत संगाल्न पाएकोमा लेखक मखलेल र गदगद हुन पुग्छन् र संगसंगै राज्यसत्तामा पुगेका राजनीतिक दल र तिनको नेतृत्वको अदुरदर्शी नीति, सत्ताको लागि अनावश्यक छिनाझप्टी, सुशासन, समृद्ध, रोजगारको यथोचित प्रबन्ध ,शा. सु तथा अमनचयनमा प्रभावकारिताको अलवा कुशासन अस्थिरता,अबिकाश, बढ्दो बेरोजगारीले गर्दा नागरिकस्तरमा बढ्दै गएको निराशा,बिरक्तभाव, अराजक स्थितिको बढोत्तरी हुँदै जानुले देश क्रमशः अधोगतीको भड्कालोमा जाकिने त होईन भन्दै लेखक चिन्तित बन्न पुग्छन् । लेखकले उठाएका बिषय सन्दर्भ ,सरोकार र मुद्दा उपर पुस्तक पढ्दै गरेको पाठक समेतले ऐक्यबद्धता र समर्थन जाहेर गर्न मन गर्दछ ।
आफू बांचेको समाज वरपर अद्यापि पनि छोरा पाउने आशमा आमाहरूलाई कसरी जबर्जस्त गर्भवती बनाइन्छ ? कथं गर्भमा छोरी भएमा गर्भपतन र भूर्ण हत्या गरि आमालाइ सताइन्छ र प्रताडित गरिन्छ ?जातपात छुवाछूतको नाममा मान्छेले मान्छेलाई कसरी विभेद,अनादर र अपमान गरिन्छ ? गरिबी र तन्न्म जिन्दगीले अघ्घोर च्यापेपछी आमा दिदिबहिनीहरु नचाहदै कसरी आफ्नो शरीर लिलाम गर्न समेत अभिशप्त हुन्छन् ?
मन्दिर, मस्जिद परिसर वरपर सहयोग र सान्त्वनाको लागि याचना गरि हात थापिरहेका मानिसलाई देखे नदेखेझै गर्ने उस्तैपरे थप अनादर र घृणा ओकल्न पछि नपर्ने त्यही मानिस किन मान्छेलेलेनै बनाएको निर्जीव ढुंगाको मूर्तिलाइ पुज्न मन गर्छ ? रुखो, कठोर, अमानवीय र सम्बेदनहिन हर्कत देखाउंछ ? सार्बजनिक पुस्तकालयहरुमा रहेका महत्त्वपूर्ण ज्ञानमालाहरुलाई उचित जतन र संरक्षण गर्न किन कसैको ध्यान खबर जांदैन ?
रजस्वला र मासिक धर्म महिलाको प्रजनन क्षमता र योग्यताको मानकका रुपमा लिइ त्यस समय महिलालाई आराम र न्यानो मायाको खांचो रहनुपर्नेमा, सम्मान र आदरको रुपमा हेरिनुपर्नेमा किन कथित, अशुभ, छुइका रुपमा अथ्र्याइ एकान्त स्थानमा बस्न बाध्य बनाइन्छ ? शारीरिक तथा मानसिक सन्तापमा रहन बिबश पारिन्छ ? किन अझै पनि पुरुषलाई प्राधान्य र महिलालाई कम आंकिएका कुरुती र अन्धबिश्वासले भरीपूर्ण कथा रट्न लगाइन्छ ? यस जरुरी सार्वजनिक सवाल उपर समाजका अगुवा, पढालेखा, बौद्धिक र जागरुक ब्यक्तित्वले किन मुखर रुपमा बोल्न, लेख्न र सचेतना अभियानमा खट्न जांगर देखाउंदैनन ?
राजनीतिमा ईमान, जमान, नैतिकवान, निष्ठापूर्ण र बौद्धिकहरुले पकड जमाउनुपर्नेमा किन प्रत्येक राजनीतिक पार्टी नेतृत्वमा सिद्धान्तहिन,बिचारहिन, आचरणहिन बेइमान,धुत्र्याइ, छलीहरुको रजगज र हाइहुकुम चल्दो छ ? ब्यथिती, बिकृती, अनियमितता र भ्रष्टाचारले किन समाजलाई झन्झन् ड्स्दै छ ?
उपरोक्त प्रबृत्तिबारे घोत्लिदै र संबेदनसिल देखिदै लेखक पुस्तक मार्फत खनिएका छन्, पोखिएका छन् ।
त्यसैगरी पुस्तकमा गाउँघरमा हिजोजस्तो पशुपालन ब्यबसाय हटेको, कृषि उपज, खाद्यान्न बाली, फलफूल तरकारीमा रासायनिक मल र किटनासक औषधिको अत्यधिक प्रयोगले गाउँघर र शहर बजारमा प्राणघातक रोग फैलिएको ,बिदेशी खानपान, संस्कृतिले ठाँउ ओगट्दै स्थानीय खाना, रहनसहन, भाषा संस्कृति लोप हुने सम्भावना तड्कारो रुपमा देखापरेको परिस्थितिका बारेमा पनि चर्चा गर्ने प्रयास गरिएको छ ।
लेखक अध्ययन अनुसन्धानकै सिलसिलामा रोल्पा थबाङमा पुग्दा १२ बर्षिया खुमाहरु पढी गुनि शिक्षिका बन्न चाहेर पनि के कुन परिस्थिति र चेपुवाका कारण पढाइलाई निरन्तरता दिन सकिनन ? हिजो माओवादी बिद्रोहिले चलाएको सशस्त्र द्वन्द्वको त्यस अबधिमा खुमा जस्ता महिलाले राज्यपक्षबाट के कस्तो ताडना र यातना सहन गर्नुपर्यो ?यसबारेमा पनि बिवेचना गर्ने प्रयास गरिएको छ ।
पुस्तकमा कअि परिक्षालाई किन फलामे किल्लाको रपमा अथ्र्याइ बिद्यार्थीहरुको मनस्थितिलाई आतंकित, डरपोक र भयग्रस्त बनाइन्छ ? अशल नागरिक, ईमान जमानको मान्छे उत्पादन भन्दा पनि जसरी पनि ब् ग्रेड ल्याउनैपर्ने, प्रथम वा सेकेन्ड उयकष्तष्यल आउनैपर्ने भन्ने सम्बन्धित स्कुल, कलेज प्रशासन र अभिभावक बर्गको चर्को दबाबको सामुन्ने विद्यार्थी भाइबहिनीहरु कति पीडित भैरखेका छन् ? शिक्षाले ब्यक्तिमा सिर्जनशीलता, उर्बरता, आलोचनात्मक चेत , जिज्ञासा, सन्देह, उत्सुकता र अनुसन्धानको खोजको दायरा फराकिलो पार्नमा प्रभावी भूमिका निर्वाह गर्नुपर्नेमा अन्धभक्त र अन्धसमर्थकहरुको झुन्ड तयार पार्ने, चाकडी, चाप्लुसी, नाताबाद र कृपाबादलाइ मात्र पश्रय दिने झुर, रद्दी र भेडिगोठ प्रबृत्ति हुनु दुःखद र बिडम्बना रहेको भन्दै लेखकले त्यस प्रबृत्ति को उछितो काढेका छन् ।
त्यसैगरी पुस्तकमा सल्यान खलंगामा जन्मिएका पूर्वप्रधान्मन्त्री मरिचमान श्रेष्ठको राष्ट्रबादी छवि, देशभक्तिपूर्ण अडान र जननेता बिपि कोइरालाका साथै नेपाली काङ्ग्रेका दिबंगत बौद्धिक नेता प्रदिप गिरिको ब्यक्तित्वबारेमा पनि चर्चा गरिएको छ ।
लेखक स्वयं समाजशास्त्रको बिद्यार्थी भएर पनि होला समाजको रौचिरा अध्ययन गर्ने सिलसिलामामा उनी कर्णालीका डोल्पा, मुगु, कालिको, जुम्ला, जाजरकोट, रुकुम, दैलेख, सुर्खेत जिल्लाको भौगोलिक अबस्था, त्यहाँको रहनसहन, भाषा संस्कृति,ताल तलैया, सडक यातायात संजाल, सहजता,असहजता, मान्छेहरुका आनिबानी, संस्कार ,जीवन पद्धति र मनोबिज्ञानका पाटाहरु, त्यहाँको गरिबी, अभाव , पछयौटेपन राज्यको उपेक्षा र हेलाहोचोको निति र प्रबृत्तिबारे चर्चा गर्दै लेखकले कर्णाली प्रदेशका सोझा, इमान र जमानका मान्छेहरुले अब गरीबी, अभाव र निराशाको स्वर मात्रै मात्रै होईन प्रदेशमा अथाह संभावना भएका स्थानीय कृषि उपज, फलफूल, जडिबुटी, जलस्रोतलाई यथोचित सम्बद्र्धन र ब्यबस्थापन गरि आत्मनिर्भर बन्दै सुखी, समृद्धि र धनी प्रदेश बनाउन सकिने र यसको प्रबन्ध बिस्तारका लागि राज्यले पहलकदमी लिनुपर्नेमा विशेष जोड दिन पनि लेखकले सार्बजनिक आह्वान गरेका छन् ।
पुस्तकमा हप्तौं सम्म अस्पतालमा उपचाररत एक ब्यक्तिलाई उचित औषधि उपचारको प्रबन्ध, स्याहार, रेखदेख र ख्याल खबर राख्दा समेत बचाउन नसकेकोमा अस्पतालमा कार्यरत एक नर्स संबेदनसिल हुँदै रोइरहेको दृश्यले लेखकको मनलाई छुन्छ र भन्छन् “यसैगरी आफ्नो पेशागत मर्यादा र कर्तव्य प्रति सचेत रहदै एउटा इन्जिनियरले आफूले बनाएको सडक समय नपुग्दै भत्किएको खण्डमा मन दुख्ने भए सायद सडक यति छिट्टै भत्किदैनथ्यो कि ? एउटा नेताले आफूले सत्ता सम्हालेको बेला देश बर्बाद हुंदा दिल दुख्ने भए सायद देश यति छिटो अधोगती तर्फ जादैनन्थ्यो कि ?यसरीनैआफू ले दशौ बर्षसम्म पढाएका बिद्यार्थीहरु अन्तत असफल भएर घर न घाटको हुंदा यसरी शिक्षकको मन फाट्ने भए सायद यति धेरै असफलताको बाढि लाग्दैनथ्यो कि ?“
पुस्तकमा अस्पतालमा डाक्टरको लापरबाहीले गर्दा बच्चाको ज्यान गएको भन्ने पीडित पक्षको भनाइ अनुसार उनीहरुको पक्षबाट पैरवी र सहजीकरण गर्न खोज्दा १०दिन सम्म प्रहरी हिरासतमा बस्नु परेको नमिठो भोगाइ र अनुभव समेत संगालेको प्रसङ्गलाई पनि लेखकले स्थान दिएका छन् ।
पुस्तकमा लेखक जाजरकोटमा डुल्दा घुम्दा प्रधानमन्त्री स्वरोजगार महिला उत्थान कार्यक्रम अन्तर्गत फाराम भर्न आएकी १४ बर्षको उमेरमा बिहेगरेकी काली दमिनिले ३ वटा बच्चा जन्मिएको ,ती बच्चा भेरी नदिले बगाइ बेपत्ता बनाएको र कमाइ काज गर्न गएको श्रीमान समेत बिदेशमै मृत्यु भै एकल जिन्दगी बिताउंदा समाजले अलिच्छिन , टोकेइको बात लगाइ दुखाइ रहेको बेला गाउँकै गोरेले जीवन संगिनिको रुपमा सहर्ष स्वीकार गरेको कथ्य सामाग्री देखि बर्दिया जिल्ला भ्रमण अवलोकन गर्नेक्रममा बाटो हुंदि एकान्त जंगलमा माउ गाइले आफ्नो दुधे बाच्छिलाई एकटकले हेर्दै मातृत्व र अभिभावकत्व प्रदान गरेको दृश्य र होटेल र भट्टीहरुमा मादक पदार्थ सेवन गरि लठ्ठीदै र गफिदै गरेका सुरापानहरुको बेपर्बाह र मस्ती जिन्दगीको मनोबिज्ञानको पाटोलाई पनि लेखकले निकै रोचकढंगले प्रस्तुत गरेका छन् ।
यसरी यस प्रस्तुतिबाट पनि बुझिन्छ कि लेखक कति संबेदनसिल र मानवीय स्वभावले ओतप्रोत छन् ।
लेखक सुर्खेत जानेक्रममा सडक दुर्घटनामा परि घाइते हुंदा अपरिचित ब्यक्तिले उद्दार गर्दै अस्पताल सम्म पुर्याएको त्यस क्षण आफ्नो स्वास्थ्य स्थितिको बारेमा सोधखोज गर्ने आफन्त इष्टमित्र, साथी संगीको अपनत्व र सहयोगी व्यबहार देखि थाहा पाएर पनि सान्त्वनाका शब्द प्रयोग गर्न समेत कन्जुस्याइँ र अर्घेल्याइ गर्ने आफन्त भनौदाहरुको रुखो र सम्बेदनहिन व्यबहारले मन कुडिएको र चित्त दुखेको प्रसङ्ग कोट्याउदै लेखकले आजको चरम स्वार्थी र ब्यक्तिबदि सोच चिन्तनले कसरी समाजलाई गांज्दै छ ? भन्ने हिसाबले मानवीय सम्बन्धका आयामलाइ समेत पर्गेल्ने र उधिन्ने कोशिस गरेका छन् ।
पुस्तकमा माइक्रोसफ्ट देखि बाहुनठाना सम्म पुस्तकका लेखक अमेरिकी नागरिक जोन उडले नेपालको बिपन्न समुदायमा पुगि शिक्षाको ज्योति फैलाउनमा सहयोग हुने हेतु पुस्तक न्यबस्थापनमा खर्चेको योगदान र प्रभावि भूमिकाको बारेमा पनि चर्चा गरिएको छ ।
त्यसैगरी पुस्तकमा लेखकले सल्यान जिल्लाको हावापानी र जलबायु कृषि उपज, फलफूल खेती र पशुपालनका लागि समेत उपयुक्त र अनुकूलन भूगोल रहेकोेले सल्यान जिल्लामा उत्पादन हुने अदुवा, बेसार, खुर्सानी, लसुन, टिमुर, सुन्तला, अलैंची, बदाम, अम्बा हलुवाबेद, कागती, मेवा, केरा, जस्ता फलफूलको व्यावसायिक खेती गरि कृषि उत्पादनमा वृद्धि गराइ कृषि उद्योग समेत स्थापना गरि कृषजन्य उद्योगबाट जिल्लाको आम्दानी र रोजगारीका अवसर खोल्न सकिने र आम जनतालाई आत्मनिर्भर एबं सुखी र खुशी बनाउन सकिने जुक्ति सुझाएका छन्। त्यसैगरी पशुपालनका लागि समेत सल्यान जिल्लाको हावापानी उपयुक्त भएकोले पर्याप्त जंगल क्षेत्र घांसको प्रबन्ध गरि व्यावसायिक रुपलेनै खसी, बाख्रा , भेडा, भैंसी , रांगा, कुखुरा पालन गरि हिजोको भन्दा आजको जिन्दगीलाई थप हंसि खुशि र ब्यबस्थित बनाउन सकिनेबारे पनि बिबेचना गरेका छन् ।
सल्यान जिल्ला मौलिक संस्कृतिमा पनि धनी रहेकोेले बनगडी टप्पा, सोरठी, स्यारिङे, लहरे, लोकदोहोरी जस्ता लोक सम्पदाको संरक्षण र बिस्तार गरि आन्तरिक पर्यटन भित्र्याउन सकिने मेसोका बारेमा लेखकले चासो देखाएका छन् । पुस्तकमा सल्यान जिल्लामा जन्मिएर विभिन्न पेशा ब्यबसाय ,राजनीति ,कला,साहित्यमा लागेका विभिन्न ब्यक्ति ब्यक्तित्वले समाजमा पुर्याएको योगदान र भूमिकाको बारे पनि चर्चा गरिएको छ ।
जम्मामा प्रस्तुत निबन्ध सङ्ग्रहमा उठान गरिएका बिषयबस्तु र घटनाक्रम हाम्रो समाजको यथार्थ प्रतिबिम्बि हुन् । एक गम्भीर पाठक तथा स्रोता पुस्तक पढ्न बसेपछि नसिध्याउन्जेल सम्म पुस्तकलाई छाड्न मन गर्दैन यसर्थ कि – भाषा सुललित र बोधगम्य छ ।निबन्ध सङ्ग्रहमा अभिव्यक्त स्वर आवाजमा उसले आफ्नै जीवनमा भोगेको र अनुभूत गरेको महशुस गर्दछ । निबन्ध सङ्ग्रह यसै पठनिय र सङ्ग्रहनिय छ । धन्यवाद ।






