दाङ, २१ असार । गएको जेठमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नुभयो । नेकपा एमालेका विभिन्न नेताहरुको नेतृत्व गर्दै जेठ १० गते उत्तरी चीनको उडान गर्नुभएकी पूर्व राष्ट्रपति भण्डारीले चीनको १० दिने भ्रमण सकेर १९ गते स्वदेश फर्किनुभयो । चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गर्नुभयो । चीन सरकारका दोस्रो बरियताका चेङ सीपीसीका शीर्ष पङ्क्तिका नेता हुनुहुन्छ । सात सदस्यीय स्थायी कमिटीका पूर्वसदस्य चेङ सीपीसीमा आठौं वरियतामा पर्नुहुन्छ ।
चीनमा रहँदा उहाँको भ्रमणलाई नेपालमा विभिन्न दृष्टिकोणले विश्लेषण गरियो । कसैले भ्रमणलाई चीनले उच्च सम्मान दियो भने, कसैले भावि एमालेको नेतृत्वका रुपमा बुझे, कसैले पूर्व राष्ट्रपतिको हैसियतले गरेको सम्मान हो । एमाले पार्टीका निम्ति होइन भनेर व्याख्या गरे । जेहोस आआफ्नै तर्क र विश्लेषण गरे । खासमा यो भ्रमणलाई चीनले उच्चस्तरको सम्मान दिएको पक्कै हो । तर यसका पछाडि केही महत्वपूर्ण कारण छन् । चीन नेपालमा वाम सक्ती एक ठाउँमा उभिएको हेर्न चाहन्छ । कम्युनिष्ट पार्टीहरू मिलेको अघि बढेको हेर्न चाहन्छ । टुटफुट होइन । सबै कम्युनिष्टलाई एउटै मालामा गाँस्ने माध्यमका रुपमा पूर्व राष्ट्रपति भण्डारीलाई चीनले लिएको छ । त्यसका लागि नेकपा एमालेमा भावि नेतृत्वको रुपमा विद्यादेवी भण्डारीलाई चीनले हेर्न चाहेको छ ।
जसका कारण चीनका उच्च स्तरका नेताहरूले भण्डारीसँग भेटघाट गरे । चिनीयाँ उच्च स्तरका नेताहरूसँग भेटले नेपालमा यही सन्देश दिन्छ । पार्टीको नेतृत्व र सरकारमा नभएका बेला पूर्व राष्ट्रपतिलाई यति महत्व दिनुका पछाडि सबै कम्युनिष्टहरू एकै ठाउँमा आउने र त्यसको नेतृत्व विद्याले गर्दा सबै ठिकठाक हुन्छ भन्ने दृष्टिकोणमा चीन पुगेको अनुमान लगाउँन सकिन्छ । सीपीसी र एमालेबीचको सम्बन्धदेखि नेपालमा वाम शक्ति एकीकृत गर्न पनि विद्या भण्डारी अगाडि बढ्नुपर्ने सन्देश चीनका तर्फबाट प्राप्त भएको छ ।
कम्युनिष्ट एकताका लागि चीनले विद्यालाई बलियो हतियार मानेको छ । कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प पनि छैन । कि सक्किने कि नसच्चिने । यो बाहेक नेकपा एमाले, नेकपा माओवादी लगायतका साना कम्युनिष्ट पार्टीको बाटो अर्को छैन । खैर नेपालमा सँधै स्थिरता निम्त्याउने, सडकमा चिच्याउने, सत्तामा पुग्नका लागि बहुमत प्राप्त गर्न नसक्ने । आफ्नो स्वार्थका निम्ति मात्रै जनतालाई सधै भर्याङ बनाउने हो भने राम राम भन्ने बाहेक अरु उपाय छैन ।
यस करण बलियो देखिन्छ कम्युनिष्टहरुको एकता
देशको सुशासन, विकास र समृद्धिका लागि स्थिर सरकार नै हो । स्थिर सरकारका लागि कुनै पनि दलले बहुमत प्राप्त गर्नुपर्छ । वर्तमान परिस्थीती हेर्दा दलहरु एक्लाएक्लै निर्वाचनमा जाँदा बहुमत ल्याउने कुनै लक्षण छैन । त्यसका लागि पार्टी एकता नै हो । हुन त यसको पनि अभ्यास नेपालमा फेल भइसकेको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकता देखि चुनावी तालमेल र विभाजन, काँग्रेस–माओवादीको चुनावी गठबन्धन र अहिलेको सत्ता समीकरणले त्यो कुरालाई सजिलै पुष्टी गर्दछ ।
स्थिर सरकार संचालनका लागि यी दुवै अभ्यास फेल हुनुमा माओवादी–काँग्रेसको अप्राकृतिक गठबन्धन र माओवादी–एमाले भित्रका नेताहरुको आआफ्नै दम्भ र अहङ्कारले पार्टी त कम्जोर भयो नै देश समेत आर्थिक रुपले संकटको दलदलमा धकेलियो । कम्युनिष्ट एकता भत्कनुमा केपी शर्मा वली, पुष्पकमल दहाल प्रचण्ड र माधव नेपालको प्रमुख भूमिका छ । तर नेतृत्व फेरिँदा पुनः एकताको सम्भावना बलियो देखिन्छ ।
नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी लगायतका अन्य ससाना कम्युनिष्ट पार्टीहरु एक ठाउँमा नआउने हो भने, अहिलेको जुन स्थिति छ त्योबाट झनै खस्किने प्रवल सम्भावना छ । नेपालका अहिलेका चलायमान र गतिशील नेताहरुको विकल्पका रुपमा चीनले विद्यालाई नै अघि सार्न खोजेको हो । किनकी चतुर तर असफल खेलाडीका रुपमा स्थापित एमालेका अध्यक्ष केपी शर्मा वली, माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, समाजवादीका अध्यक्ष माधव नेपालबाट एकताको सम्भव छैन । भएपनि टिक्न सक्दैन । एकले अर्कोलाई आशङ्काको दृष्टिकोणले हेर्ने भएकाले विश्वास मान्न कठिन छ ।
यसको उपयुक्त विधि भनेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नै हो । भण्डारी नेतृत्वमा आउँदा त्यसको दोस्रो वरियताको रुपमा माओवादीबाटबाट पूर्व उपराष्ट्रपति नन्द किशोर पुन पासाङ आउने सम्भावना छ । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दुवै एमाले र माओवादीको सक्रिय राजनीतिमा फर्किनुले पनि यो कुरालाई पुष्टि गर्छ । यसो हुँदा अहिले छुट्भिन्न भएका बामदेव गौतम, भिम रावल लगायतका नेताहरु पनि फर्किनु हुन्छ ।
कम्युनिष्ट पार्टीको दीर्घकालीन एकताका लागि एमाले र माअवोदीका दोस्रो पुस्ताका नेताहरुले आन्तरिक रुपमा छलफललाई बाक्लो बनाउँदै लगेका छन् । एकता नहुँदा राष्ट्रिय राजनीतिमा चौथो र पाँचौ दल बन्न सक्ने सम्भावानलाई नकार्न सकिदैन । किन की पटक पटक भइरहने सत्ता उलटपुलट र अस्थिर राजनीतिले दिगदार भएका जनताले विकल्प खोजेकाले वैकल्पिक शक्ति जवरजस्त रुपमा आउन सक्छ । जसका कारण कम्युनिष्ट पार्टीको नेतृत्व गरेका नेताहरूलाई नैतिक दवाव परेको छ ।
दुई ठूला पार्टी एक ठाउँमा उभिँदा त्यसको नेतृत्वमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र दोस्रो नेताका रुपमा पूर्व उपराष्ट्रपति तथा माओवादीका उपाध्यक्ष नन्द किशोर पुन आउने अड्कलबाजी बलियो बनेको छ । २०८४ को निर्वाचन अघि नै एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एकताको चर्चा सुरु भएको छ । कृषि क्रान्तिको अभियानमा लाग्नु भएका नेत्रविक्रम चन्द विप्लवको चुनावमा भाग लिने भनाइले पनि कता कता त्यो सम्भावना देखाउँछ । किनकी जनआधार कम्जोर भएको विप्लवलाई चुनावमा होमिनु त्यति सहज छैन ।
कम्युनिष्ट एकतापछि चुनावी माहोल आफ्नो पक्षमा पर्यो भने भावी राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा क्रमश केपी शर्मा वली र पुष्पकमल दहाल प्रचण्डलाई अघि सार्दा दुवै नेतालाई मनाउन सकिने विश्लेषकहरू बताउँछन् । केपी ओलीको पनि अबको इच्छा राष्ट्रपति बन्ने भएकाले पार्टीको नेतृत्व विद्याले नै गर्दा ओलीलाई पनि त्यति सकस नहुने अनुमान गरिएको छ । किनकी केपीकै चाहना अनुसार विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्नु भएको थियो । बाहिर जे हल्ला फिजाए पनि उनको भित्री इच्छा विद्यालाई पार्टीको अध्यक्ष बनाउने भन्ने नै छ ।
तर पार्टीको नेतृत्वमा विद्यादेवी पुग्दा ओली जस्तो छलकपट नगर्ने भएकाले पनि सबैले उनलाई स्वीकार गर्ने बुझिएको छ । त्यसैले विद्या भण्डारीलाई नेपालमा वाम शक्तिहरूलाई एकताबद्ध गराउने साझा नेताका रूपमा नस्वीकारिएको हो । केपी ओली र प्रचण्डको नेतृत्वमा वाम एकता असफल भएकाले पनि विद्या भण्डारीलाई साझा व्यक्तिका रूपमा हेरिएको बुझाइ छ । केपी ओलीले माओवादी र एकीकृत समाजवादीसँग मिल्न सकिँदैन भनेर लगातार भनिरहनुले काँग्रेस सभापति शेर बहादुर देउवासँगको सत्ता सहकार्यलाई जोगाइ राख्नका लागि फालिएको पासा हो ।
शेर बहादुरलाई सबैभन्दा ठूलो डर, दुबै पार्टी एक हुन्छनकी भन्ने छ । कम्युनिष्ट पार्टी एक हुँदा काँग्रेसको भविष्य अन्यौलमा पर्छ भन्ने कुरा देउवालाई राम्रोसंग थाहा छ । निर्वाचनमा एक्लाएक्लै जाँदा पहिलो पार्टी काँग्रेस बन्छ भन्ने ध्याउन्नमा लागेका देउवालाई दुइ पार्टी एक हुन्छन भन्ने विश्वास लाग्यो भने यो सरकार जतिखेर पनि ढल्न सक्छ । त्यसकारण ओली यो कुरा सजिलै सबैले थाहा पाउन भन्न चाहदैनन् । ओलीको भनाई र गराइ फरक देखिन्छ । उमेर ढल्की सकेका ओलीको अबको रणनीति भनेको पार्टीको अध्यक्षमा विद्यालाई ल्याउनु हो ।
विद्यालाई ल्याउँदा सबैले स्वीकार गर्ने र वाम एकताका लागि पनि वातावरण तयार हुने । निर्वाचन अघि पार्टी एकता भयो भने बहुमत कम्युनिष्ट पार्टीको हुन्छ । विद्या मार्फत प्रधानमन्त्री प्रचण्डलाई बनाउँदा आफू राष्ट्रपति बन्न सकिन्छ भन्ने बुझाई ओलीको छ । अव यो भन्दा ठूलो सपना ओलीको पनि छैन । पार्टी एकता हुँदा विभिन्न मतभेदका कारण बाहिर गएका नेताहरू पनि फकिर्ने भएकाले सबैको सहानुभूति हुन्छ । यदि यो पहिलो रणनीति असफल भयो भने विद्या त पार्टीको अध्यक्ष हुनुहुन्छ नै कङ्ग्रेससँग सत्ता सहकार्यलाई निरन्तर दिदै निर्वाचनमा गठबन्धन गर्ने र देउवालाई प्रधानमन्त्री बनााएर आफू राष्ट्रपतिमा जानका लागि दोस्रो रणनीति अपनाउने बुझिन्छ । यद्यपी एमाले, माओवादीका अधिकाँस नेताहरु एकताकै पक्षमा भएकाले काँग्रेससंगको चुनावी गठबन्धनमा जाने दोस्रो विकल्प ओलीका लागि सहज नभएको आँकलन पनि गरिएकोछ ।






