२०८३ साउन ११ गते सोमवार

दाङमा माटोबाट फिल्टर बनाएर खर्च धान्दै कुमाल परिवार

देउखुरी । गढवा गाउँपालिका–६ गढवा निवासी लिलाराम कुमाल र उनको परिवारले अहिले माटोको फिल्टर बनाउँदै आएको छ । शुरुमा माटोको घैंटा, भुर्कीजस्ता सामान बनाउँदै आएको यो परिवारले अहिले बजारको माग र आवश्यकता हेरेर माटोको भाँडालाई आकार दिदै आएको छ । विगत १५ वर्षदेखि माटोको फिल्टर बनाएर उद्यमलाई नयाँ ‘स्वरुपमा रुपान्तरण गरेपछि यो व्यवसाय दिगोरुपमा चलिरहेको छ । वार्षिक एक हजार फिल्टरको भाँडा बिक्री हुँदै आएको छ ।

‘बाजेबाट बुवाले सिक्नुभयो । बुवाबाट मैले सिकें । अहिले यही पेशाले परिवारको खर्च धानेको छ’– कुमालले भन्नुभयो–‘अहिले फिल्टर बनाएर बिक्री गर्ने काम चलिरहेको छ ।’ एउटा फिल्टरलाई एक हजार रुपैयाँमा विक्री गर्ने गरिएको छ । देशका विभिन्न स्थानमा यहाँ तयार भएको माटोको फिल्टर पुग्ने गरेको छ । बजारमा पाइने फिल्टरभन्दा मूल्यमा सस्तो र उपयोगी भएको कुमालको भनाइ छ ।

कुमाल समुदायले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । बजारमा प्लास्टिकका भाँडा भित्रिएपछि माटोको भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा पर्न थालेपछि समुदायका केही युवाले आधुनिक प्रविधिसँग जोडेर उत्पादनमा विविधिकरण गरेका छन् । माटोको पानी छान्ने फिल्टरदेखि भान्सामा चाहिने सामग्री बनाएर आम्दानी गर्न थालेका हुन् ।

चौकु थारु कुमालले माटोको भाँडा बनाउन भक्तपुरमा धेरै समय बिताउनुभयो । अहिले उहाँ गाउँ फर्किएर त्यही माटोको भाँडा बनाउने पेशालाई निरन्तरता दिनुभएको छ । आधुनिक भाँडा बनाउने सीप जान्नु भएका कुमालले बजार र उपभोक्ताको चाहना अनुसार भाँडा बनाउँदै आउनु भएको हो । गर्मी मौसममा माटोको जग, घैंटाहरु बिक्री हुने गरेका छन् । यसका साथै भान्सामा पनि फकाउन मिल्ने भाँडा पनि बनाउने गरेका छन् । विगतमा सुस्ताएको माटोको भाँडा बनाउने कामले फेरि गति लिन थालेपछि कुमाल खुशी हुनुहुन्छ ।

‘हामीले जानेको काम यही हो । खेती गर्ने जग्गा जमिन भएन । जे छ माटोमा छ’– उहाँले भन्नुभयो– ‘गाडीको शोरुम भएजस्तै हामीले बनाएको भाँडाको पनि शोरुम भइदिए राम्रो हुन्थ्यो ।’ परम्परागत सीपमा आधारित कुमाल समुदायले माटोको भाँडा सँगै मादल बनाउनेसमेत काम गर्दै आएका छन् । जसबाट आम्दानी पनि हुँदै आएको छ । स्थानीय सरकारले सेरामिक्स हव बनाउने अभियानलाई समेत प्राथमिकता दिएको छ ।

गढवा गाउँपालिकाले सेरामिक्स हव बनाउनेगरी तालिमप्राप्त जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको भने भ्रमणमा पुग्ने पाहुनालाई माटोको भाँडा उपहार दिएर ब्राण्डिङ गर्न थालिएको छ । ‘माटोको भाँडालाई ब्राण्डिङ गर्ने नीति स्थानीय सरकारले बनाएको छ’– गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले भन्नुभयो– ‘माटोको भाँडालाई आधार मानेर सेरामिक्स हव बनाउने योजना छ ।’

तर, भाँडा बनाउन चाहिने माटो र पकाउन चाहिने दाउरा पाउन मुस्किल छ । सामुदायिक वनले माटो र दाउरामा अवरोध पु¥याउने गरेको छ । यो समस्यालाई समाधान गर्न समुदायबाट माग उठेको छ भन्दै दशरथ घिमिरेले नयाँयुगबोधमा खबर लेख्नु भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया