तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–११ का स्थानीयवासीका लागि लामो समयदेखिको सडक स्तरोन्नतिको अपेक्षा अब पूरा हुने भएको छ। उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे गर्न रु ४ करोड ३५ लाख बजेट सुनिश्चित भएसँगै उक्त सडक बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने भएको हो। लुम्बिनी प्रदेश सरकारको समपूरक योजनामार्फत सञ्चालन हुने यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। योजनाअनुसार कुल लागतको ४० प्रतिशत बजेट लुम्बिनी प्रदेश सरकारले र बाँकी ६० प्रतिशत तुलसीपुर उपमहानगरपालिकाले व्यहोर्नेछ।
सडक कालोपत्रे भएपछि स्थानीयको दैनिक आवतजावत सहज हुने, कृषि उपज बजारसम्म पु¥याउन सहजता आउने, व्यापारिक गतिविधि विस्तार हुने तथा ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा थप गति पुग्ने अपेक्षा गरिएको छ। वडा अध्यक्ष मानबहादुर रावतले यो योजना वडा नम्बर ११ को विकास यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका तथा नगर प्रमुख टिकाराम खड्काप्रति बजेट सुनिश्चित गरिदिएकोमा आभार व्यक्त गरे।
यसअघि पनि वडा नम्बर ११ का विभिन्न महत्त्वपूर्ण योजनाका लागि उल्लेखनीय बजेट व्यवस्थापन भइसकेको छ। ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास, साथै क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिएको छ। वडा अध्यक्ष रावतको पहलमा पछिल्ला वर्षहरूमा सडक, पुल, खानेपानी, शिक्षा र पर्यटन क्षेत्रका विभिन्न विकास आयोजना निरन्तर अघि बढिरहेका छन्। बजेट व्यवस्थापन र विकास निर्माणका गतिविधिका आधारमा वडा नम्बर ११ तुलसीपुरका १९ वटै वडामध्ये सक्रिय र अग्रणी वडाका रूपमा स्थापित हुँदै गएको स्थानीयको बुझाइ छ।
स्थानीयवासीले पनि पछिल्ला वर्षहरूमा पूर्वाधार विकासले उल्लेखनीय गति लिएको बताएका छन्। सडक, पुल, खानेपानी, शिक्षा तथा पर्यटनसँग सम्बन्धित योजनाले ग्रामीण बस्तीको स्वरूप परिवर्तन गर्न थालेको भन्दै उनीहरूले आगामी दिनमा पनि यस्ता विकास आयोजनाले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका छन्।





