रोल्पाको रानागाउँका स्थानिय र उद्योगविच भएकोे सहमती कार्यान्वयनको माग

तुलसीपुर, १८ मंसिर । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने रानागाउँका स्थानिय र सगरमाथा सिमेन्ट उद्योगविच भएका ३९ बुँदे सहमती कार्यान्वयनको स्थानियले माग गरेका छन् । सोमबार उत्खन्नन् स्थलमा भएको भेलामा माग सहित आन्दोलनका कार्यक्रम गर्ने जानकारी संघर्ष समितिले दिएको हो । रानागाउँमा सगरमाथा सिमेन्ट उद्योगले स्थानियसँग विभिन्न सम्झौता गरेर विगत लामोसमयदेखि चुनढुंगा उत्खनन गरिरहेको छ ।

उद्योगले उत्खनन सुरु गर्नुअघि स्थानीयसँग रानागाउँका सबै घरजग्गा खरिद गर्ने सहमति गरेको थियो तर, लामो समय बितिसक्दा पनि उद्योगले उक्त सहमति पूरा नगरेको भन्दै स्थानियहरु अझै पनि सहमती कार्यान्वयनको माग गर्दै आएका छन् । उद्योगले रानागाउँका करिव ६०/६५ घरधुरीमध्ये अहिलेसम्म १७ घरधुरीको मात्र घरजग्गा खरिद गरेको छ । बाँकी घरधुरीका स्थानिय धुलो, धुवाँ, र ध्वनि प्रदूषणबाट आजित बनेको स्थानिय जानकी बुढाले बताउनु भयो । उद्योगले करिव ४÷५ वर्षदेखि आश्वासन मात्रै दिँदै आएको तर दिएका आश्वाशन पुरा नगरेको स्थानियको गुणासो छ ।

उद्योगले दिएको आश्वाशन र सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । आफ्ना माग पुरा नहँुदासम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने संघर्ष समितिका संयोजक ओमराज घर्तीले बताउनुभयो । ‘स्थानीयले पटक–पटक उद्योगसँग सहमति पालना गर्न आग्रह गरे पनि कुनै चासो नदेखाएपछि संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएका हौँ,’ उहाँले भन्नुभयो । स्थानीय बासिन्दाले उद्योगले सबै वस्ती खरिद गर्नुपर्ने, कि त उत्खनन कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् । उत्खननका कारण पर्यावरणीय प्रदूषण तीव्र रूपमा बढेको भन्दै नागरिकले विभिन्न खाले समस्या भोग्नुपरेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया