मेहनत थोरै प्रतिफल धेरै खोज्दा सफल बन्न सकिदैन : घनश्याम पाण्डे

तुलसीपुर, १६ मंसिर । थोरै मेहनतमा धेरै प्रतिफल खोज्दा उद्यममा सफल हुन नसकेको ग्रीन फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले बताउनु भएको छ । दाङको तुलसीपुरमा भएको उद्यमको अवस्था, संभावना र चुनौती विषय अन्तक्रिया कार्यक्रमका प्रमुख वक्ताको रुपमा रहनु भएका पाण्डेले परिश्रम र मेहनत कम गर्ने तर प्रतिफल तथा आम्दानी बढी खोज्दा उद्यमीहरु पलायन हुँदै गएको बताउनु भएको हो । उद्यमी भएर व्यवसाय संचालन गरिरहँदा कहिले घाटा र नाफा भैरहने भएकाले घाटा भयो भन्दैमा हरेस नखान र निरन्तर लागिरहन उहाँले आग्रह गर्नुभयो । आफूसँगसँगै समाज र देशको समृद्धिका लागि अध्ययन, अनुसन्धान, कडा मेहनत नगर्दासम्म उद्यममा अगाडि बढ्न नसकिने भन्दै आफ्नो क्षमतामा निखारपन ल्याउनु आवश्यक रहेको उहाँको भनाइ छ । जवसम्म सीप, क्षमता, दक्षतामा निखार्ता ल्याउन सकिदैन तवसम्म उद्यम गरेर सफलता प्राप्त गर्न नसकिने औल्याउनु भयो ।
सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष दुजमान भण्डारीले सबैले एउटै किसिमको उद्यम गर्दा बजारीकरणको समस्या रहेको भन्दै नयाँ उद्यमको विकास गरेर नयाँ सामग्री उत्पादन गर्न सके बजारीकरण र प्रतिस्पर्धामा जान पनि सहज हुने बताउनु भयो । उहाँले उद्यम तथा व्यवसाय गर्नेहरुलाई नयाँ उद्यम नयाँ सामग्रीको उत्पादन गर्न पनि सुझाव दिनुभयो । विभिन्न किसिमका उद्यम गरिरहेका उद्यमीहरुसँग भएको अन्तक्रियामा सहभागी उद्यमीहरुले स्थानिय उत्पादनलाई स्थानिय सरकारले नै प्राथमिकता दिनुपर्ने बताएका थिए ।

भारत तथा तेस्रो मुलुकबाट आयात हुँदा स्थानिय रैथाने उत्पादनले बजार र मूल्य दुवै नपाउने गरेको गुणासो स्थानिय उद्यमीहरुले गरेका थिए । उद्यमीलाई सामग्री उत्पादन गर्ने देखि लिएर बजार व्यवस्थापन, उत्पादन गर्ने लागतमा सहुलियत दिने, उद्यमसँग सम्बन्धित संघसंस्थाको दर्ता प्रक्रिया, बिल काट्ने, राजश्वको दायरामा ल्याउन सुझाव दिने, अनुदान दिने तथा अनुदानका लागि पहन गर्ने, प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादनका लागि तालिम दिने लगायतका कुरामा स्थानिय सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्न आवश्यक रहेको बताएका थिए ।

DGM NEPAL का लुम्बिनी प्रदेश संयोजक कबिता तामाङ,  ममता चौधरी,  कृषि वन उद्यमी समूह, वन उद्यम सहकारीका प्रतिनिधिहरु सहितको  दुनाटपरी उद्योगी, ढकिया उत्पादक, अचार उद्योगी, तरकारी तथा मल उत्पादक किसान लगायत ३० भन्दा बढीको सहभागिता रहेको थियो । NRN संस्थाको DGM परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रमा डिजिएम परियोजनाका संयोजक डाक्टर चिरञ्जिवी खड्काले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया