तुलसीपुरको व्यस्त बजारमा युवक माथि खुकुरी प्रहार 

दाङ, १५ कात्तिक । दाङको तुलसीपुर स्थित  सल्यान रोडमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भै हाल तुलसीपुर बस्दै आउनु भएका ३३  वर्षका वीर बहादुर वली घाइते भएको प्रहरीले जनाएको छ । रेडियो प्रकृति एफएम नजिकै रहेको सल्यानी होटलमा चिया खाँदै गरेका वलीलाई मोटरसाइकलमा आएका ५/६ जनाको समूहले ४:४० बजे  खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा  गहिरो चोट लागेको छ । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा  तुलसिपुर –४ रक्षाचौर निवासी ३३ वर्षका गोविन्द हमाल, ३२ वर्षका बसन्त खड्का, २६ वर्षका सुदन मगर लगायत व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

‘बाइकमा केटाहरू माथिबाट सर्र आए । फनक्क बाइक घुमाए । सरासर होटेलमा गए । काउन्टरमा बसेको केटालाई घचाघच फिल्मी स्टाइलमा खुकुरीले हाने । भुँइमा ढल्यो  त्यसपछि पनि हाने । मान्छेहरू होहल्ला गर्न थालेपछी बाइक चढेर भागे  । प्रही १० /१५ मिनेट पछि आएर मुचुल्का बनाएर गयाे ।’ प्रत्यक्ष दर्शी एक युवकले भने । 

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया