कृष्ण मन्दिरमा चण्डीपाठदेखि रामलीला लगायतका कार्यक्रम गरिने 

तुलसीपुर, १५ असोज । दाङको तुलसीपुर –८ कृष्ण मन्दिरमा श्रीमद् बाल्मिकी राम कथा नवाह ज्ञान महायज्ञ एवम् शृङ्गारिक माहाआरती महोत्सव सञ्चालन हुने भएको छ । श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । श्रीकृष्ण मन्दिरको भौतिक निर्माणार्थ तथा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले विजयादशमीको अवसर पारेर महोत्सव सञ्चालन गर्न लागिएको हो ।
रामलीलाका लागि सर्लाही र बर्दियाबाट कलाकार आउने भएका छन् भने स्थानीय कलाकारलाई पनि प्राथामिकता दिने समितिका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो । नवदुर्गापूजाभरि बिहान साढे ७ बजेदेखि १० बजेसम्म दैनिक चण्डी पाठ गरिने छ भने सांस्कृतिक झाँकी तथा रामलीला साँझ ७ बजेदेखि राती ९ बजेसम्म सञ्चालन गरिने छ । 

असोज १७ गते देखि २५ गतेसम्म रामलीला, चण्डीपाठ, नियमित पुजा आरति, श्रीराम कथा, लगायतका कार्यक्रमहरू रहेका छन् । सो अवसरमा बाल ब्रह्‍मचारी केशवाचार्य महाराज सूर्यपाकीको उपस्थिति रहने छ भने भागवताचार्य गुरुदेव पण्डित कोमल उपाध्यायले संगीतमय रामकथा  वाचन गर्नुहुने छ । असोज २६ गते १० बजे मूर्ति विसर्जन गर्ने कार्यक्रम रहेको छ । 
कृष्णजन्माष्टमीमा ३ लाख बढी आम्दानी 
यसैबीच मन्दिर व्यवस्थापन समितिले कृष्णजन्माष्टमीमा भएको आयव्यय विवरण सार्वजनिक गरेको छ ।  रसिदबाट ५ लाख ३९ हजार ७ सय ३२, नियमित पूजाबाट १ लाख ४३ हजार ३ सय, गुरु दक्षिणाबाट ९ हजार ९ सय ७०, ९ नम्बर वडाबाट २० हजार समेत गरेर ७ लाख २६ हजार ५ सय ३७ रुपैयाँ आम्दानी भएको सचिव भुपबहादुर केसीले बताउनुभयो ।

त्यसैगरी खर्चतर्फ कलाकार ५१ हजार आरति ३६ हजार, रोपलाइट सहित इलेक्ट्रिक लाइट  ५१ हजार, साउण्ड सिस्टम ७० हजार, दक्षिणा २४ हजार २ सय ७०, खाद्यान्न १९ हजार ८ सय १५,कामदार २४ हजार, प्रचार प्रसार १९ हजार ५ सय छपाई २१ हजार, पुजा सामान २५ हजार ९ सय विधि ९८ हजार ४८६ रुपैयाँ समेत गरेर ३ लाख ९० हजार ३ सय ८६ रुपैयाँ खर्च भएको सचिव केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जम्मा आम्दानीसँग खर्च घटाउँदा ३ लाख ३६ हजार २ सय ६१ रुपैयाँ कोषमा जम्मा भएको समितिले बताएको छ । साे अवसरमा समितिका उपाध्यक्ष इन्द्रजित चाैधरीले कार्यक्रमकाे विषयवस्तुमाथि प्रकाश पार्नुभएकाे थियाे भने ऐतिहासिक चिनारीका विषयमा पण्डित खगेन्द्र बस्यालले जानकारी गराउनु भएको थियो । 

 

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया