२०८३ कार्तिक ११ गते बुधवार

उपभोग्य वस्तुको सहज आपुर्तिका लागि सल्यानमा छलफल 

सल्यान, ४ असोज । चाडपर्वमा उपभोक्तालाई सहज रुपमा उपभोग्य सामाग्री आपूर्तिको व्यवस्था मिलाउनका लागि सल्यानमा बृहत छलफल र आवश्यक निर्णय गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले आवश्यक मात्रामा उपभोग्य सामाग्रीहरूको सहज उपलब्धताका लागि प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै शुक्रबार नै खलंगा बजारका विभिन्न पसलमा अनुगमन समेत गरिएको थियो ।

उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय सल्यानको संयोजनमा भएको बैठकमा सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उपभोग्य सामाग्रीको सहज उपलब्धताका लागि निगरानी र अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि र गुणस्तरबारे सचेत हुन आवश्यक रहेकोमा जोड दिदैँ अनुगमन समितिले उपभोक्ता अधिकारको रक्षागर्दै सामानको गुणस्तर र मूल्यमा एकरूपता कायम गर्न विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

उद्योग तथा उपभोक्ताहित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछानेले उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमाउपलब्ध गराउने जिम्मेवारी व्यवसायीको भएकाले  यसमा लापरवाही गरेमा सह्य नहुने बताउनुभयो ।  

बैठकले जिल्लामा सुरक्षा निकाय, नियमनकारी निकाय तथा सल्यान उद्योग वाणिज्य संघ लगायतका सङ्घसंस्थाहरूले जिल्लामा भित्राइने खाद्य सामाग्रीहरूको पैठारी ओसार पसार तथा भण्डार समेतको समग्र आपूर्ति प्रणालीमा अवरोध हुन नदिन आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । यस्तै चाडपर्वका लागि जिल्लामा भित्राइने खाद्यान्न, तरकारी, फलफल, माछा मासु लगायतका उपभोग्य सामाग्रीहरूको सहज आपूर्ति सुनिश्चित गर्न, मूल्यवृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, साल्ट ट्रेडिङ, पशु सेवा कार्यालय, स्थानीय तहहरू लगायतका नियमनकारी निकायहरूले आ–आफ्नो बजार अनुगमन प्रणालीलाई थप क्रियाशील, व्यवस्थित र प्रभावकारी बनाउने पनि जिल्ला स्तरीय बजार अनुगमन समितिको बैठकले निर्णय गरेको छ । 

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।