तुलसीपुर, २९ असार । दाङमा एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा आर्थिक वर्ष २०७८र७९ मा नौ र २०७९र८० मा छ जनाको मृत्यु भएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म एक सय ७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा ज्यान गुमाउने गरेको बताउनुभयो । समयमै अस्पताल पुगिसकेका बिरामीले पनि ज्यान गुमाउनुमा स्वास्थ्यकर्मीकै लापरबाही भएका बिरामीका आफन्त गुनासो गर्छन् । सर्प नचिन्दा र अस्पताल ढिलो आउने गरेका कारण कतिपय व्यक्तिहरूको सर्पदंशबाट ज्यान जाने गरेको चिकित्सकहरू बताउँछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारीले सर्पले टोकी हाल्यो भने तत्काल अस्पताल पुग्न आग्रह गर्नुभयो।
पछिल्लो समय एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्ने भएको हुँदा पनि कतिपयले अकालमै ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने उहाँको भनाइ छ । अस्पताल जानुको साटो झारफुकमा विश्वास गर्दा पछिल्लो तीन वर्षमा २५ जनाको मृत्यु भएको छ । सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति भए पनि जिल्लामा कतिपयले झारफुकमा लाग्दा ज्यान गुमाएका छन् भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नु परेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।