
तुलसीपुर,२१ चैत्र । गर्मी मौसमको समयमा बजारमा बढी खपत हुने चिसो आईटमका पेयपदार्थको गुणस्तरमा ध्यान दिन भन्दै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमनलाई तिब्र बनाएको छ । आज मात्रै तुलसीपुरको सल्यानरोड र ग लाईमा गरी १० वटा कोल्डस्टोरमा अनुगमन गर्दा करिब ४ हजार बराबरको पेय पदार्थहरु जफत गरी नष्ट गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।
जसमा लेवल नलगाइएका जार र वोटलका पानी,उपभोग्य मिति नाघेका चिसो पेयपदार्थ,मदिरा जफत गरी नष्ट गरिएको हो । यस्तै अनुगमनकै क्रममा पालिकामा पसल दर्ता नभएको,सरसफाईमा ध्यान नदिएको लगाएतका समस्या देखिएको थियो भने दर्ता विना नै सञ्चालनमा रहेका पसललाई एक हप्ता भित्र पालिकामा दर्ता गर्न पनि शाखा प्रमुख शर्माले निर्देशन दिनुभएको छ । यस्तै लेवल नलगाएर वजारमा जारको पानी बेचिरहेको गाडीलाई समेत सचेत गराईको छ ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले चिसो पेय पदार्थ खरिद गर्नुभन्दा पहिले नै उपभोक्ताले उक्त बस्तुको उत्पादन मिति र म्याद नाघ्ने मिति हेरेर मात्र खरिद गर्नु पर्ने र व्यवसायीले पनि पैसा कमाउने उदेश्य मात्रै नलिई उपभोक्ताको स्वास्थ्य प्रति पनि सजग भएर व्यवसाय गर्नु पर्ने बताउनुभयो । शाखा प्रमुख रेखा शर्मा,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरी,उद्योग वाणिज्यसंघ तुलसीपुरका प्रतिनिधि निर्मला भुसाल,नगर प्रहरी लगाएतको उपस्थितिमा बजार अनुगमण गरिएको थियो ।