२०८३ जेष्ठ २५ गते सोमवार

स्वतन्त्रताको फिराद !

श्रीमान्,
म जन्मिँदा स्वतन्त्र जन्मिएकी हुँ
नपत्याए सोधिहेर्नोस् एक पटक
गवाहीमा हुनुहुन्छ मेरा आफ्नै मातापिता
म सत्य बोल्दै छु
त्यो बेला थिएन ममा कुनै परिबन्द
बिस्तारै परम्परा निर्वाह गर्ने बहानामा
समाजका विधानहरू पालना गर्न
छेडिए नाक कान
पहिराइए चुरा बाला
हातदेखि पाउसम्म मेरो शून्य निराकार मस्तिष्कमा
पहिलो पटक बनाइयो लैङ्गिकताको विभेदपूर्ण आकार
त्यसैगरी क्रमशः पटक पटक हमला गरियो
मेरो स्वन्त्रतामाथि
कहिले सभ्यताको पाठ पढाउन
कहिले मर्यादा सिकाउन
कहिले शिष्टता देखाउन
बारम्बार भए यस्ता कार्यहरू
सदैव तोकियो मेरो खुट्टामा
एउटा साँघुरो लक्ष्मणरेखा
श्रीमान्,
म त्यहाँ त्यहाँ जान पाइनँ
जहाँ जहाँ मलाई पुग्न मन लाग्थ्यो
विवशता बन्यो साँघुरो संसारमा खेल्नु
उफ्रिन पनि त्रसित हुनुपर्याे कतै छुन्छन् कि पैतालाले लक्ष्मणरेखा !
मैले त्यति त्यति मात्रै बोल्न सके
जति जति मलाई बोल्न अनुमति दिइयो
आकाशमा उडिरहेका चराहरू नियाल्दा
ममा रहर नउब्जिएको होइन उडानको
रातमा बलेका
झिलिमिली जूनतारा देख्दा
मलाई कम्ती रहर लाग्थ्यो उचाइको ?
पखेटा लगाऊँ र जाऊँ उनीहरूकै नजिक
तर, कहिल्यै हेरेन मलाई आकाशले
त्यो निलो आकाशको स्वतन्त्रताबाट
सदैव वञ्चित भएँ म
जब जब म तोड्न खोज्दै थिएँ
कथित मर्यादाको पर्खाल
जब जब म चिर्न खोज्दै थिएँ
प्रतिबन्धित आवाज
चुँडाउन खोज्दै थिएँ
भयको हत्कडी
अर्को ठूलो विडम्बना ।
सुम्पिइयो कसैलाइ मेरो सर्वाधिकार
म आफू आफ्नो रहिनँ
चलेन आफैंमाथि आफ्नो अधिकार
म फेरि निरीह र लाचार भएँ
चलिरहें अरू कसैको इसारामा
कोही निरङ्कुश शासकजस्तै बनेर
परिचालन गरिरह्यो
मैले पटक पटक
यसैगरी गुमाइरहँ आफ्नो स्वाधीनता
कहिले समाजबाट
कहिले आफ्नैबाट
कहिले पराइबाट
कहिले समय र परिस्थितिबाट
यस्तो लाग्छ म यति बेला कैद छु त्यो चार पर्खालभित्र
जहाँ दूर दूरसम्म पनि देखिँदैन स्वेच्छाको प्रकाश
म डराउँछु यो घनघोर अँध्यारोसँग
बेला बेला अवरुद्ध हुन खोज्छ मेरो श्वास
मेरो चारैतिर तैनाथ छन्
कपटी जेलरहरू
मलाई गिज्याइरहेछन्, सताइरहेछन्
जहाँ म बीचमा कैद छु
चिच्याइरहेछु आफ्नो उन्मुक्तिका निम्ति
यदि सुनुवाइ हुन्छ भने श्रीमान्
म अपिल गर्छु
लुटिएको स्वाधीनता फिर्ता ल्याई
सुम्पिइयोस् ममाथि मेरो सम्पूर्ण एकाधिकार
म स्वतन्त्रताको फिराद गरिरहेछु ।
रामबहादुर जिसीकाे फेसवुकबाट

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया