पृय मित्र प्रकाश विकल्प जि द्वारा लिखित“देश किन बनेन ? नामक पुस्तक पढी एक पाठकिय टिप्पणी पस्किन चाहे । पुस्तक भित्र देश किन बनेन ?भन्ने प्रश्न मात्र होईन संगसंगै देश कसरी बनाउने भन्ने सवालहरु, समाधानका उपाय र जुक्तिहरु पनि समेटिएका छन् ।प्रश्न मात्र खडा गरेर,सामुन्नेमा देखिएका समस्याहरुलाइ अहिल्यै र यहिबाटै समाधान गर्न सकिने यथार्थलाई अस्विकार गर्दै कहिल्यै कहि नपुगिने अक्करे भिरमा देखिने भिर मौरिको चाकाको स्वाद यस्तो हुन्छ भन्दै स्वैरकल्पनामा रमाउने र त्यस जटिल,रुढी र शास्त्रीय जागरनका गफमा मात्र लिप्त हुने भिरु हर्कतका बिरुद्ध पनि लेखकले जबर्जस्त तर्क पेश गरेका छन्।
आफ्ना तर्क पेश गर्दै गर्दा उनले निराशा,रुञ्चे,कुण्ठित गनगन र सिकायतलाई मात्र प्राथमिकता दिई कथित बिष्णुको अवतारको दाइलाई? वा भगवानहरु?लाई गुहारेका वा डाकेका छैनन् ,त्यस दक्षिणपंथी रुझान वा रुढिको बिरोधको नाममा खुदै रुढी र जडताको अक्करे भिरमा फस्ने उग्रवामपन्थी रोगबाट ग्रसित हुनबाट उनि सचेष्ट देखिन्छन् । पुस्तकमा राजनीतिक दलहरू र त्यसका मुख्य नेतृत्व एकाथरी व्यबहारबादि हुने नाममा दिनानुदिन सिद्धान्त,बिचार,मूल्य,निष्ठा,आदर्शबाट च्युत हुँदै गइरहेको र अर्कोथरि ब्यबहारिक जिन्दगीमा देखापर्ने समस्यालाई तत्काल सम्बोधन गर्न सकिने र आम जनतामा रहेको अबिश्वास,नासमझपनलाई समझमा ल्याइ अगाडि बढ्न सकिने जुक्तिबाट पछि हट्दै दर्शन र बिचारको रक्षाको नाममा टसमस नहुने,रुढि र यथास्थितिको बिरोधको नाममा खुदै संकीर्ण मनस्थिति र जडतामा फस्ने,समय चेतनालाई बुझ्न नसक्ने असाध्य रोगबाट ग्रसित हुने अबस्थाको बारेमा पनि लेखकले उजिल्याएका छन् ।साथै नेतृत्वका त्यसै प्रबृत्ति अथार्त कथनी र करनी,आदर्श र व्यबहार बिच बेमेल जिन्दगीले गर्दा राजनीतिक दल र नेतृत्व प्रति आम नागरिक स्तरमा बढ्दै गएको चरम असन्तुष्टि,निराशा,रोष,निन्दा र प्रश्नका पोका पन्तुराहरुलाइ पनि लेखकले सबैका सामु सार्बजनिक गरिदिएका छन् ।
नेपाली समाज अबिकशित हुनुमा परम्परा,संस्कृति र संस्कारको नाममा पिछडिएको चिन्तन,धार्मिक रुढी अन्धबिश्वासमा ज्यादा टांसिनु र जकडिनु पनि एक समस्याको रुपमा रहेको र यसलाई चिर्न प्रमुख राजनीतिक दलहरु र त्यसका नेता तथा कार्यकर्ताहरु,समाजमा रहेका सचेत नागरिक,बुद्धिजीवी युवा तथा बिद्यार्थीहरुको निरन्तर झक्झक्याइ,सचेतना मूलक कार्यक्रमको आयोजनाको माध्यमबाट जनता संगको घुलमिल ,प्रशिक्षण, दार्शनिक सुझबुझ,स्पष्ट दृष्टिकोण र सचेत प्रयत्नको शक्त भूमिका अपरिहार्य हुनुपर्नेमा लेखकको सबिनय आग्रह रहेकोछ।
त्यसैगरी पुस्तकमा समाजमा देखापरेका तमाम बेथिति,कुरिती बिकृती,बिसंगती,अनियमितता,अस्तब्यस्त,अराजकता,ढिलासुस्ती र भ्रष्टाचार बढ्नुका कारण र त्यस धुन्धुकारी हर्कतका बिरुद्ध सचेत नागरिकले खेल्नुपर्ने भूमिकाको बारेमा पनि लेखकले बिमर्शको लागि सार्बजनिक अपिल गरेका छन् । त्यसैगरि पुस्तकमा कार्यपालिका,ब्यबस्थापिका र न्यायपालिकाको कार्य क्षेत्राधिकार,अन्तर्सम्बन्धका आयाम,कर्मचारीतन्त्र र प्रशासनिक मामिला,बित्तीय सुशासन,मानबाधिकार,वैदेशिक नीति तथा परराष्ट सम्बन्ध कुटनिती र राष्ट्रियताका बारेमा पनि बोल्ने प्रयास गरिएको छ।राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र अखण्डताका सवालमा नेपालमा कृयाशिल राजनीतिक दलहरु र त्यसका मुख्य नेतृत्व ऐन मौकामा को,के कसरी खरो रुपमा उत्रे?वा दोग्ला वा दब्बु नीति अख्तियार गरे?यसबारेमा पनि प्रकाश पारिएको छ।
त्यसैगरी पुस्तकमा नेपाल बिकास नहुनुमा राजनीतिक अस्थिरतालाई औल्याइए पनि नेतृत्वकर्ता देश बिकाशको भोकले पागल नभए सम्म ठोंस,अडिक र मिसनमा दृढ संकल्पयुक्त नभए सम्म मुलुकले प्रगति गर्न नसक्ने लेखकको जिरिह रहेको छ।
त्यसैगरी पुस्तकमा विभिन्न दलमा आबद्द नेता,कार्यकर्ता तथा शुभेच्छुकहरु नेतृत्वले लिएका गलत तौर तरिका,रबैयाको डटेर बिरोध गर्ने,सच्चिन र सच्याउन आग्रह गर्ने,आलोचनात्मक चेतका जिउंदा जाग्दा र बिउंझेका हुनुपर्नेमा केबल अन्धसमर्थक र अन्धबिरोधी मत प्रकट गर्ने लम्पट भोंदुरामहरुको झुन्डमा परिणत भएको प्रबृत्ति सम्बन्धमा प्रकाश पारिएको छ।
त्यसैगरी पुस्तकमा जातिय क्षेत्रीय र लैगिक उत्पीडन लगाएतका बिभेदलाइ जस्ताको त्यस्तै छाडेर बिकासका कुराले मात्र गन्तब्य नभेटाउने र निष्फल हुने भएकोले राज्यले पछाडि परे,पारिएको बर्ग समुदाय क्षेत्रको मनोबिज्ञानलाई बुझ्दै त्यहाँ देखापरेका समस्या समाधानमा उच्च प्राथमिकताका साथ पहल लिइ अभिभावकत्व ग्रहण गर्नुपर्ने प्रसङ्गबारे पनि चर्चा गरिएको छ।
त्यसैगरी पुस्तकमा तराईका विभिन्न जिल्लाहरुमा नागरिकता बितरणमा केही समस्या रहेकोमा मधेस आन्दोलनको क्रममा थुप्रै भारतीयहरुलाइ नागरिकता बितरणको प्रबन्ध मिलाइएको तर युगौ देखि त्यहाँ बसोबास,खन जोत गरेका वास्तविक सुकुम्बासी,दलित,जनजाति,चमार,डोम,मुसहर समुदायले राजनीतिक पहुँच नपुगेको र प्रशासन संग समन्वय,भनसुन गर्न नजानेकै कारण सहज नागरिकता पाउनबाट बंचित हुनुपरेको दुखान्त कथा ब्यथालाइ पनि पुस्तकमा समेटिएको छ। त्यसैगरी पुस्तकमा छिमेकी मुलुक भारतले सिमावर्ती जिल्लामा सिमाना पार गर्दै नेपालको भूभागमा परेको जमिनमा आइ सिमा पिलर राख्ने,त्यहाँका स्थानीय जनतालाई धम्क्याउने,हातपात कुटपिटमा उत्रने,आवतजावतमा समस्या खडा गर्ने मिचाहा हेपाहा र थिचाहा व्यवहार देखाइरहेको र ०७२ सालमा महिनौ आर्थिक नाकावन्दी लगाइ अमानवीय,निष्ठुर वर व्यबहार पर्दर्शन गरि नेपालीजनलाइ दुःख र पीडा थोपरेकोमा त्यस घटनामा चुं नबोल्ने,नाकावन्दीको शब्द उच्चारण गर्न समेत लुते र दब्बु नीति अख्तियार गर्ने विभिन्न राजनीतिक पार्टी र त्यसका नेतृत्वको रबैया र प्रबृत्तिबारे पनि बोल्ने प्रयास भएको छ।
त्यसैगरी पुस्तकमा लेखकले चाहे ००७ सालमा राणा बिरोधि आन्दोलनमा होस् वा ०४६सालको पंचायत बिरोधि आन्दोलनमा होस् या ०६२÷०६३ सालको निरंकुश राजतन्त्र बिरोधि आन्दोलनमा सहयोग र समर्थन गरेको नाममा होस् वा सशस्त्र बिद्रोही माओवादी र सात राजनीतिक पार्टी बिच भारतको भूमिमा १२ बुंदे समझदारी बनाउने प्रक्रियामा सहयोगी भूमिका खेलेको किन नहोस् भारतले सुनियोजित,कपट र योजनाबद्द रुपमा नेपालका मुख्य राजनीतिक पार्टी त्यसका नेतृत्वकर्ता,सरकार,शासन प्रणालीमा समेत दख्खल पुर्याउंदै आएको र ०७२ सालको संबिधान निर्माण प्रक्रियामा आफ्नो स्वामित्व समेत खोजेकोमा सो अनुकुल नहुंदा मुलुकले कठोर अमानवीय र कष्टकर आर्थिक नाकाबन्दी ब्यहोर्नुपरेको तितो यथार्थताको बिषय सामाग्रीलाई पनि समेटने कोशिस गरेका छन् ।
त्यसैगरी पुस्तकमा तत्कालीन राजा बिरेन्द्रले आफ्नो जन्मदिनको अवसरमा उपस्थित हुन आएका ३९ राष्ट्रका प्रतिनिधि समक्ष नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावलाई भारतले समर्थन नगरेको,शुरुदेखिनै नकारात्मक दृष्टिकोण राखी ठाडै अस्विकार गरेको,धनी देशहरूको लगानीमा संचालन भएका बहु राष्ट्रिय कम्पनीहरु विशेषत बिश्व बैक,ध्त्इ,क्ष्ःँ र एशियाली बिकास बैक जस्ता संस्थाहरुले बिश्व अर्थतन्त्रलाई कसरी मुठ्ठीमा कसेका छन्?शक्ति राष्ट्रहरुले गरिब र विकासन्मुख देशको आन्तरिक राजनीतिलाई कसरी अधिनस्थ राखेका छन् ? शक्ति राष्ट्रको जुंगाको लडाइँले गर्दा गरिब तथा कमजोर कुटनिती भएका राष्ट्रहरु कसरी बाटो बिराएका बटुवा जस्तो हुन बाध्य छन्?विकट,दुर्गम र पिछडिएको क्षेत्रमा बिकास र आर्थिक सहयोग गर्ने नाममा ल्नय,क्ष्लनय,को भूमिका के कस्तो रहेकोे छ?पछिल्लो समयमा दातृ संस्थाबाट सहयोगको आवरणमा नेपालको आन्तरिक मामिलामा कुटनैतिक मर्यादा विपरीत अनावश्यक चासो,निग्रानि र दबाब बढनुले नेपाल पर निर्भर तर्फ उन्मुख हुनु मुलुकको भबिस्यको दृष्टिकोणबाट बिल्कुलै सकारात्मक नभएको पर निर्भरताले आन्तरिक उत्पादनमा मात्र होईन राष्ट्रिय स्वाधीनतामा समेत असर गर्ने, दाताको सहयोगलाई देशको आबश्यक्ताका लागि लगानी गर्ने भन्दा पनि उसको इच्छालाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जनाले नेपालको हितमा दीर्घकालीन असर पार्ने प्रसङ्गबारे पनि चर्चा गर्ने प्रयास गरिएको छ।
त्यसैगरी पुस्तकमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण गरि कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको भनिएता पनि भूमिको सहि बितरण र उपयोग नहुंदा परिणाम सन्तोषजनक हुन नसकेको,नेपालमा अधिकांश मलिला र खेतीयोग्य जमिन श्रम गर्ने,कामदार बर्गलाइ हेला होचो र अनादर गर्ने,श्रम अनुसार ज्याला दिन आनाकानी गर्ने सिमित मानिसहरूको अधिनस्थ रहेकोेले श्रम गर्ने बर्गका हातमा भूमि नहुंदा कृषकले,उद्यमि र इलमिले दुःखजिलो गरि उत्पादन गरेका चिज बस्तुले उचित मूल्य नपाएको र बजारीकरणको ब्यबस्थापन नहुदा बिचौलियाको हालिमुहाली बढी वास्तविक किसान र उपभोक्ता मार्कामा पर्ने गरेको,उनिहरुको जांगर मरि निराशामा फस्ने र जसले गर्दा स्वदेशमा केही गरौ र यहि केही गर्न सकिन्छ भन्ने सकारात्मक उर्जा भएका जांगरिला ब्यक्तिहरु नचाहदै रोजगार र अवसरको खोजिको लागि वैदेशिक यात्रामा निस्कन बाध्य हुनुपर्ने अबस्थाको बारे पनि प्रकाश पारिएको छ,त्यस गुह्य बिषयबस्तुबारे उधिन्ने प्रयास गरिएको छ।
त्यसैगरी पुस्तकमा नेपालमा जल,जमिन,जंगल,जडिबुटीका साथै श्रम शक्ति प्रयाप्त भएर पनि त्यसलाई मुलुकको बृहतर हितको लागि स्पष्ट खाका र बैज्ञानिक योजना बनाइ एउटै सोंच र लक्ष्य सहित अगाडि बढ्नबाट सम्पूर्ण राजनीतिक दलहरू चुकेको, राजनीतिक दल र कर्मचारीतन्त्र बिच उपयुक्त समन्वय र सहकार्य सामुहिक जवाफदेहिता र उत्तरदायित्वको संस्कार,राजनीतिक नेतृत्वमा स्पष्ट भिजन र कर्मचारीतन्त्रमा उत्सुकता र यथेष्ट सहयोगी भावना बिकास हुनुपर्ने ठहर पनि लेखकको रहेकोे छ।
त्यसैगरी पुस्तकमा मुलुकको शैक्षिक प्रणाली अतिनै परम्पराबादी,अबैज्ञानिक,अब्यबहारिक भएको,खोज अनुसन्धान र आविष्कारलाई बढवा दिनुपर्ने,सिर्जनात्मक रचनात्मक र परिणाममूखि बन्नु भन्दा पनि केबल घोकन्ते,रटन्ते र जागीरे मार्कामा मात्र सिमित रहेको ब्यहोरा बारे पनि उल्लेख गरिएको छ।
त्यसैगरि पुस्तकमा अनियमितता,ढिलासुस्ती,कालोबजारी,चर्को मूल्य दर,भ्रष्टाचार,बढ्दो बेरुजुको नियमन,अनुगमन तथा मूल्याकंन गर्ने,खराबलाई दण्ड र अशललाई पुरष्कृत गर्ने परिपाटी प्रभावकारी र चुस्त दुरुस्त हुन नसक्दा मुलुकले बिकास र समृद्धिको लक्ष्य पूरा गर्न नसकेको र बाधक भूमिका निर्वाह गरेको अबस्थाको बारेमा पनि प्रकाश पार्ने कोशिस गरिएको छ।
त्यसैगरी पुस्तकमा मुलुकमा सुशासन तथा द्रुत बिकासका लागि स्थायी सरकार अपरिहार्य भए पनि समानुपातिक निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलले संसदमा एकल सरकारको लागि बहुमत सदस्य पुर्याउन सक्ने स्थिति बिद्यमान नरहेको अबस्थाले गर्दा मिलिजुली या संयुक्त सरकार अनिवार्य बन्न पुगेकोले आफ्नो पार्टीको स्वार्थमा धक्का लाग्ने बितिक्कै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने,सरकारबाट हट्ने वा अर्को सरकार बन्ने बनाउने धुन्धुकारी हर्कत पुनरावृत्ति भैरहने अबस्था सिर्जनाले मुलुकले स्थायित्व,सुशासन र बिकास पाउन नसकी तत्कालीन सरकारले अगाडि सारेका बिकास परियोजना निति निर्माणले निश्चित गति र लय पकड्न नसकी अलपत्र पर्ने,पार्ने दुखान्त चित्रण समेत पस्किएको छ।
त्यसैगरी पुस्तकमा ००७,०१७,०४६,०६५ साल सम्म आइपुग्दा ६५ बर्ष सम्म ४ पटक शासन ब्यबस्था परिवर्तन भएको,अघिल्ला परिवर्तनहरु पर्याप्त नभएको ठहर गरि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाइए पनि हिजोका शासन ब्यबस्थाका गलत पक्षहरु गणतन्त्रको आङमा समेत जुम्राझै सरेर आउनु जसको परिणाम गणतन्त्र आएको एक दशक बितिसक्दा पनि नागरिकले परिकल्पना गरेको समाज ब्यबस्थाको जग निर्माणको ढांचा समेत नहुनु राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको सोचमा परिवर्तन नआउंदा नागरिकले महशुस गर्नेगरी जन जिवीकाका सवाल र विकास निर्माणले फड्को नमार्नुले के राजतन्त्र फाल्नुनै गणतन्त्रको मुख्य कार्यभार हो?भन्दै लेखक आक्रोशित रुपमा प्रस्तुत भएको देखिन्छन् ।
त्यसैगरी पुस्तकमा देशमा रोजगार र अवसरको कमि भएको र आफ्नो भबिस्य समेत अनिश्चयमा पर्न सक्ने भन्दै नौजवान युवाहरु कसरी दलालहरु मार्फत बिदेशको भूमि ताक्छन?गाउँघरमा रहेका खेती योग्य जमीन समेत कसरी बांझोमा परिणत हुंदैछ?वैदेशिक रोजगारीको ध्याउन्नमा डुबुल्की मार्दा घर घडेरी,भौतिक सम्पत्तिको जोगाड भए पनि बिदेशमा गएको साथी लामो समय पछि नेपाल फर्किदा एक अर्का बीच पारिवारिक अबिश्वास उत्पन्न हुन जांदा बेमेल जिन्दगी,सम्बन्ध बिच्छेद जस्ता घटनाको वृद्धि हुनु, मर्दा पर्दा लास उठाउने,दुःख अप्ठेरोमा साथ दिने मानिस समेत पाउन मुस्किल पर्न थालेको सामाजिक परिबन्धका तितो यथार्थतालाइ पनि लेखकले पुस्तकमा समेटेका छन् ।
त्यसैगरी पुस्तकमा लेखकले चाहे राजनीतिमा होस् या सामाजिक क्षेत्रमा त्यहाँ देखिने बिधि,पद्धति,बेथिति,बिसंगती र यथास्थितिका बिरुद्ध आफूलाई बिचार र मुद्दाको पैरबी कर्ता र युवा भन्नेहरुले बौद्धिक बिमर्शमा जुट्न,हस्तक्षेपकारी र आलोचनात्मक चेतका आवाज मुखरित गर्नमा आनाकानी मौन र ,मुक बन्नु स्वयं ब्यक्ति,संबंधित संस्था वा पार्टी र समाजको बृहत हितको लागि चिन्ताको बिषय रहेकोले युवाहरूलाइ स्वाभिमानी वन्न,निराशा,अधैर्यमा नफस्न,यथास्थिति र भिरुपनलाई चिर्न,आत्मनिर्भर बन्न,पिछलग्गु,अन्धसमर्थक र अन्धबिरोधी होईन सचेत,हक्की,जुझारु र अध्ययनशील वन्न,तथ्य द्वारा सत्य खुट्याउन लाग्नुपर्नेमा विशेष जोड दिएका छन् ।
त्यसैगरी पुस्तकमा ०४६ सालको पंचायत बिरोधि आन्दोलन देखि ०६२÷०६३ सालमा भएको निरंकुश राजतन्त्र बिरोधि आन्दोलनमा नागरिक समाजले खेलेको भूमिका अत्यन्त प्रभाबी रहे पनि आजकल नागरिक समाजमा प्रतिनिधित्व गर्ने जागरुकहरु मौन,नोमालुम र बेखबर मार्कामा रहेको स्थितिको बारे पनि प्रकश पार्न कोशिस गरिएको छ।
त्यसैगरी पुस्तकमा देशले सोंचे अनुरुप प्रगति गर्न,बिकासले गति लिन नसक्नुमा राजनीतिक पार्टी र त्यसका नेतृत्व मात्र दोषि नभै आम मतदाताहरु पनि उत्तिकै भागिदार भएको,सहि र गलत,अशल र खराबबारे निर्क्यौल या छनौट गरि अभिमत प्रकट गर्नुपर्नेमा केबल आफू आबद्द पार्टी र त्यसका नेताको मात्र ताबेदारी गर्नमा फगत पार्टी विशेषको कार्यकर्तामा मात्र सिमित हुन पुग्दा अमूल्य मतको दुरुपयोगको उपज स्वरुपनै देशमा सुशासन,थिती,विधि र नीतिको परिपालना हुनुको अतिरिक्त कुशासन, बेथिति,बिकृती,कालोबजारी र भ्रष्टाचारले झ्याङ्गिने र फैलिने अवसर पाएको भन्दै लेखकले त्यस प्रबृत्तिलाई लामखुट्टेले टोक्नुमा झुल नलगाउनु,फोहोरी वातावरण सिर्जना गर्नु स्वयं मान्छेको दोषको संज्ञा दिएका छन् । फेरि पनि भनु; पुस्तकमा देश किन बनेन?भन्दै समस्याको पोका पन्तुरा मात्र नओकली संगसंगै समाधानका जुक्ति पनि समाविष्ट गरिएछन्।लेखकले एक सचेत र जिम्मेवार नागरिकले खेल्नुपर्ने भूमिका निर्वाहमा गम्भीर चिन्ता प्रकट गर्दै राज्य र सम्बन्धित पक्षलाइ घच्घच्याएका छन्।जम्मामा पुस्तक पठनिय र सङ्ग्रहनिय रहेकोमा कुनै शंका छैन । धन्यवाद ।






