तुलसीपुर, ७ भदौ । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रसाद अर्याललाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ । अस्पतालको जिम्मेवारी पाएदेखि नै विवादको उत्कर्षमा पुगेका निमित्त मेसु अर्याललाई लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सिफारिसमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले जिम्मेवारीबाट हटाएर उनको ठाउँमा डा. पदमराज अधिकारीलाई ल्याउने तयारी गरेको छ ।
‘राप्ती प्रादेशिक अस्पताल जनताको मुठ्ठीदानबाट स्थापना भएको हो । यहाँ जनताले धेरै ठूलो आशा अपेक्षा गरेका छन् । अस्पतालाई बनाउन र उपचार सेवालाई प्रभावकारी बनाउन उहाँलाई जिम्मेवारी दिइएको हो । तर सोचे अनुसार काम गर्न सक्नु भएन । सुरु देखि विवादीत हुँदै आउनु भयो । त्यसकारण डा. ओमलाई जिम्मेवारीबाट हटाउन लागिएको हो ।’ मुख्यमन्त्री चौधरीले भन्नुभयो ।
डा. ओम प्रसाद अर्याल माथि उपचार सेवालाई प्रभावकारी बनाउन नसकेको, अस्पतालमा आएका बिरामीलाई आफु कार्यरत निजी अस्पतालमा पठाउने गरेको, समितिको निर्णयबिना डाइलासिस मेसिन जिल्ला बाहिरका अस्पताललाई दिएको, कर्मचारी भर्ना गर्दा रात्रिकालिन समयमा अन्तरवार्ता लिएको, श्रेणी विहीन कार्यालय सहयोगीलाई लिखित परीक्षा गराएको, सार्वजनिक सरोकारका विषयमा दिनुपर्ने सूचना लुकाएको लगायतका आरोपहरू लाग्ने गरेका छन् । सार्वजनिक सरोकारको विषयको सूचना नदिने डा. अर्याललाई राष्ट्रिय सूचना आयोगले समेत सूचना नदिनुको कारण खुलाउन आदेश जारी गरिसकेको छ । सवत्र आलोचना हुनथालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटीका नेतारुले समेत डा. अर्याललाई सचेत गराएका थिए ।
मेसुको जिम्मेवारी डा. पदमराज अधिकारीले सम्हाल्दै
स्रोतका अनुसार अस्पतालको जिम्मेवारी डा. पदमराज अधिकारीलाई दिने तयारी गरिएको छ । अधिकारीलाई दिउसो ४ बजे राप्ती प्रादेशिक अस्पतालको प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।