२०८३ जेष्ठ २५ गते सोमवार

वर्गीय मुद्दाको घाँटी निमोठ्न खोजिदैछ कमरेड……

 नेपाल बहु जातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक अनेकन विविधता भएको मूलक हो । सँगै नेपालको संविधानले बहुलवादलाई पनि स्विकार गरेको छ । अनेकन तत्त्वबाट समाज निर्माण भएको हुन्छ भन्ने स्वीकार गर्नु नै बहुलवाद मान्नु हो। यसले अनेक वाद वा सिद्धान्तको पनि स्वीकार गछ । नेपालमा खास गरी चिन्तनका हिसाबले पूर्वीय दर्शनको प्रभाव हरेक समुदायमा परेको छ । यसको ज्वलन्त उदाहरण अहिंसालाई अँगाल्ने र सबै समुदाय शान्तिपूर्ण वातावरणमा मिलेर बस्ने, कसैमाथि अत्याचार नगर्ने र कसैको बाह्य अत्याचार नसहने नेपाली समाजको चिन्तन नै हो । एक ढिक्का भई सबै समुदाय मिलेर हिजो पनि देशलाई कसैको गुलाम बन्न नदिएको इतिहास हामी सामु छ।नेपाल र नेपालीको यही खास विशेषतालाई खुइल्याउन लागी पर्नु विस्तारवाद र साम्राज्यवादका लागी हितकर छ । नेपाल लामो समयसम्म एकात्मक सामन्ती सत्ताको मारमा पिल्सिएको नमिठो यथार्थ हाम्रो इतिहास बनेको छ ।

हामी त्यो कालरात्री पार गरेर आज जनताको शासन चल्ने एउटा सुन्दर र उत्तम व्यवस्था “लोकतान्त्रिक गणतन्त्रमा’’ छौं । यो व्यवस्था प्राप्तिमा हिजो, वर्गीय उत्थानकै आवश्यकता हो तर शान्तिपूर्ण तवरले संसदीय व्यवस्थामा रहेर जनताको मन र मत जितेर समाजवादी व्यवस्था हुँदै साम्यवादमा पुग्न सकिन्छ भन्ने विश्वास गर्ने कम्युनिष्ट पार्टी नेकपा एमाले, हिंसात्मक युद्धमा विश्वास गरेर बुलेटद्वरा शत्ता कब्जा गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भन्ने तर अन्तमा फेरि त्यही छोडेको कम्युनिष्ट पार्टी नेकपा माओवादी, नाममा प्रजातन्त्र तर यथार्थमा उदार पूँजीवादमा विश्वास गर्ने नेपाली काँग्रेस र अन्य दल सँगै मिलेर आफ्नो भूमिका निर्वाह गरे ।

द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्ने र वर्ग नै उत्पीडक र उत्पीडितको मूलभूत कारण मान्ने कम्युनिष्ट । यसै मान्यताले गर्दा उत्पिडनबाट मुत्ति दिलाउन कम्युनिष्टहरुले विभिन्न किसिमका आन्दोलन छेडे हिंशात्मक र अहिंसात्मक । नेकपा (एमाले) पार्टीले शसस्त्र सेनाबिना पनि जनताको मन जितेर सबैखाले उत्पीडनबाट नेपाली समाजलाई मुक्ति दिलाउन सकिन्छ भन्ने विश्वास सहितको सिद्धान्त अँगाल्यो । “जवज’’ जतिबेला यस्तो बिचारले नेपालमा प्रशस्त स्थान पाएर नेपालीको मन जित्दै थियो ठिक त्यही समयमा अर्काे कम्युनिष्ट पार्टी जन्म्यो नेकपा माओवादी जसले शसस्त्र द्वन्द्वबाट राज्य शत्ता कब्जा गरेर सर्वहाराको अधिनायकत्व कायम गर्न सकिन्छ भन्ने मान्यता राख्यो । किन र कहाँबाट आयो यो..? यसको रहस्य समयले खुलाउँदैछ

करिव १० वर्ष यही कथित जनयुद्धको भुमरीमा फस्यो नेपाल । त्यही प्रायोजित कथित जनयुद्धको बेलामा नै नेपालमा एउटा बीस वृक्ष रोपिएको थियो, जातीय राज्यको अवधारणा । एक प्रकारले भन्न सकिन्छ कि वर्गीय मुद्दाबाट उति बेलानै माओवादी पार्टी धेरै टाढा भागिसकेको थियो । किनकी खासमा यो जनताको मुक्तिका लागी भएको आन्दोलननै थिएन । यो त प्रभुको इसारामा उनकै हितमा नेपालको ध्वंस चाहने तत्वहरूले चलाएको विध्वंस न थियो । नेपाल वास्तवमा यो १० बर्षे ध्वंसात्मक आन्दोलनका कारण धेरै पछाडि पर्यो ।

 आज बडो दुःखका साथ भन्नू पर्छ कि उतिबेला रोपेको विष वृक्षले यतिबेला आँकुरा फाल्दै छ । यो बढ्ने क्रममा छ । शान्तिपूर्ण तवरले बसेको नेपालका विभिन्न जातजातका बिचमा विग्रह ल्याउने कोशिस हुँदैछ । दलको नाम जेसुकै होला, दल खोल्ने छुट पनि भयो ल तर क्षेत्रिय र जातीय मुद्दामा केन्द्रित दललाई, विखण्डनका तरंगहरुलाई सरकारबाटै अनेक संरक्षण प्रदान भइरहेको देखिन्छ ।  यो बिषय नेपाली समाजकालागी सुखद हुने संकेत कसैगरेपनि भेटिंदैन । सबै तिलाञ्जलि दिएर, यस्तै दलको आडमा केही समय सत्तामा टिक्ने अभिलाषा माओवादीलाई पलाएको छ । यिनीहरूलाई सत्तामा टिकाएर आफ्नो अभिष्ट पूरा गर्ने प्रभु पनि मख्ख छन् र यिनीलाई साथ र हौसला प्रदान गरिरहेका छन् । एकदिन नेपाल आफ्नो हातमा पर्ने दिन कुरेर प्रभुहरु ढुकेका छन् ।

ए ! नेपालका उत्पीडित जात जातिका आमाबुवा, दाजुभाइ दिदिबहिनीहरु समयमै सचेत बनौं । हो हामी सामु प्रसस्त पीडा छन् तर यी पीडाहरूको मलम एक जातको बाहुल्यता वा राज्य वा एकता हुँदै होईन । हाम्रो एकता वर्गका आधारमा हुनुपर्छ । पक्कै पनि हो सामन्ती सत्ताले जातलाई अछुत बनाएर मान्छेले मान्छेलाई जातका आधारमा विभेद गर्ने संस्कारको पनि विकास गरायो जसका कारण कथित तल्लो जात भनी माग्नेले आफ्नो नियतिलाई दोष दिंदै, कुनै पूर्व जन्मको सरापले तल्लो जातमा जन्मलिन् परेको ठानेर चुपचाप सहेर बसे र उसको शत्ता लामो समय टिकिरह्यो।उसले गरीब हुनुमा पनि जातलाई नै दोषी देखेर बसिरह्यो बिचरा । हामी जातीय भेदभाव जस्तो कुसंस्कारका बाछिटाहरू आज पर्यन्त लड्नै पर्ने छ । सभ्य समाज निर्माणका लागी। दलित आन्दोलन रोकिएको छैन र रोक्नु पनि हुँदैन । बरु यो आन्दोलनमा भएका अस्पष्टतालाई चिर्न जरुरी देख्छु म ।

कतिपय साथीहरू यो आन्दोलन जातीय विभेद विरुद्धको आन्दोलन मात्र हो ठान्नुहुन्छ । त्यस्तो होईन यो वर्गीय आन्दोलन पनि हो । दलित शब्दले दलिएको वा शोषित पिडीत भन्ने जनाउँछ । यसरी बुझ्दा यथार्थमा उपल्लो वर्गले हो हामीलाई शोषण गर्ने जात त देखाइएको कुरा मात्र हो । माथि उल्लेख भएझैँ । धेरै धन हुने, अभिजात वर्गले हो हामीलाई थिचेको । गरिब व्राह्मण पनि हामी सँग मिलेको हुन्छ नी समाजमा । पैसा हुनेले पैसा नहुने माथि शोषण गर्छ । हामीलाई  जातिय र क्षेत्रीय मुद्दामा बाँडेर लडाउन भिडाउन खोजिदैछ र नेपाल र नेपालीको एकतालाई खण्डित पार्न खोजिदैछ। यसो हुँदा हामी कमजोर हुनेछौं र  एकदिन हाम्रो नेपाली भन्ने पहिचान गुम्नेछ।वर्गीय पक्षधरताको आन्दोलन विना शोषित पीडितको कदापी उत्थान हुन सक्दैन। किन वर्गीय मुद्दा छोडेर जातीय राज्यको विष रापेको कमरेड..? जब सिद्धान्त, मूल्य र मान्यताबाट नै माओवादी च्युत भयो यस्तो पार्टी वा यसको नेतृत्वमा अहिले बनेको सरकारले कसरी नेपाल र नेपालीको उत्थान गर्न सक्छ बताउनुस् कमरेड..? के माओवादी पार्टी कम्युनिष्ट रहिरहन सक्यो अब..?

जानी नजानी यस्तो विष हामी सबैको दिल दिमागमा पनि घुस्दै छ वा भनौँ जबरजस्ती घुसाउन खोजिदैछ। एमाले पार्टीले अहिले सम्म यस्ता गलत मान्यतालाई चिर्दै आएको देखिन्छ। सैद्धान्तिक अस्पष्टताका कारण कतिपय समयमा पार्टी सदस्यहरुमा विचलन शुरु हुँदै गरेको संकेत एमालेमा पनि देखिन्छ। जसरी संगठन सुदृढीकरणमा एमाले लागेको छ अब यो पार्टी सँग पनि थोरै समय मात्र छ आफ्ना सदस्यहरुलाई बिचारमा स्पष्ट पार्ने र अडिग बनाउने। समाजमा कसैले विष छरिदिएको छ यसबाट समाज जोगाउन बहुतै कठिन छ।कमरेड खुट्टा लुला नगराएर, निहित स्वार्थ त्यागेर, क्षणीक लाभ भुलेर उभिनु पर्छ एमाले कार्यकर्ता। वर्ग विश्लेषण गरौं र सबै प्रकारका उत्पीडनबाट समाजलाई मुक्ति दिलाऊँ ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया