विजौरी, ४ भदौ । तुलसीपुर उपमहानगरपालिका डुम्रिगाउका इश्वरी प्रसाद चालिसे खुट्टाको एलर्जीले दिक्क छन् । विभिन्न अस्पतालहरुमा छाला रोग विशेषज्ञको परामर्शमा औषधि उपचार गर्दा पनि निको नभएपछि उनी यसै साता तुलसीपुर उपमहानगरपालिका—१९ विजौरी स्थीत प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा आइपुगेका छन् ।
‘यहां एलर्जीको उपचार जुकालाइ टोकाएर गराइन्छ भन्ने सुनेर यहां आएको हुं, लामो समयदेखि खुट्टामा भएको एलर्जीको समस्याले मलाइ यहां ल्याएको हो’, चालिसेले गोरक्षलाइ भने । आयुर्वेदका विभिन्न विधामा आफुले उपचार गराएको र यसमा पनि विश्वास भएको कारण आफु यहां आएको उनको विश्वास थियो । उनले यसैसातादेखि जलौका उपचार विधि(जुकालाइ टोकाएर शरीरको विशाक्त वाहिर निकाल्ने विधि) बाट उपचार सेवा सुरु गरेका छन् ।
बांके जिल्लाको नेपालगन्जकी डोल्मा सुनारलाइ आफ्नो पुरानो रोग निको हुनमा आशा पलाएको छ । दुइ साता अघिदेखि उनको जलौका विधिबाट उपचार सुरु भएको छ । निम्न वर्गिय परीवारकि डोल्माले यस अघि पनि धेरै सरकारी स्वास्थ्य संस्थामा धाइन्, कतै निको नभएपछि उनी तुलसीपुर उपमहानगरपालिका—१९ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आइपुगेकि हुन् ।
उनी आफ्नो हातपाखुरामा भएको घाउको उपचारकालागी विजौरी आइपुगेको बताइन् । धान गोड्ने क्रममा पाछेको पाखुरामा क्रमश घाउ बढ्दै गयो, धेरै ठाउ उपचार गर्दा निको भएन । ‘अलि चिलाउन कम भएको छ, आशा छ, मलाइ निको हुने छ’, जलौका कर्म पद्धतीबाट उपचर गराउंदै आएकि सुनारले पत्रकारहरुलाइ भनिन् । विजौरी स्थीत सो अस्पतालले करीव डेढ महिना अघि जलौका कर्म अर्थात जुकालाइ टोकाएर रगत चुसाउंदै उपचार गर्ने प्रविधि सुरु गरेपछि सुनार जस्तै कम्तिमा ४० जना भन्दा बढिले यो सेवा पाइसकेको उपचारमा संलग्न चिकित्सक डा मदन भण्डारीले बताए ।
‘हामीले यस अवधिमा करीव ४० जनाको यहि विधिबाट उपचार गर्दै आएका छौं, धेरै पुराना इन्फ्याक्सन सहितका घाउहरु निको भएका छन्’, डा भण्डारीले भने । खासमा लामो समयको घाउ, छालाका विभिन्न दिर्घ समस्या, डण्डिफोर, शोरीयाशिस, रक्तनली अवरोध हुने समस्या लगायतका रोगहरुमा जलौका विधिबाट उपचार संभव हुने पनि उनको भनाइ थियो । उनको भनाइमा यो फरक प्रदातिको जुका हो । जसले शरीरमा कुनै खराव गर्दैन, शरीरमा भएको खराव रगत मात्रै आफुले चुसिदिन्छ र रोग निको हुन सहयोग पु¥याउछ ।
भारतबाट काठमाण्डौ हुंदै यहां ल्याइएको यो जुका हिरुडो मेडिसाइनल्स प्रजातिको हो । एक जना विरामीको उपचारकालागी कम्तिमा ३ देखि ५ वटा सम्म जुकाले टोकाइन्छ । अवस्था हेरेर हरेक ५ दिनमा यो प्रक्रिया दोहो¥याउन सकिने पनि ति चिकित्सकले बताएका छन् । अहिले यो प्रविधिबाट उपचार गराउन अस्पतालले ५५ वटा जुका ल्याएर पालेको छ ।
लेउ खुवाएर जुकालाइ पालिंदै आएको अस्पतालले जनाएको छ । विरामीको अवस्था, आवस्यकता हेरेर जुकाको संख्या पनि बढाउंदैलैजाने अस्पतालका निमित्त निर्देशक डा सन्तोष ठाकुरले बताएका छन् । एउटा जुकाको मुल्य तीन सय रुपैया पर्ने पनि अस्पतालले जनाएको छ । तर विरामीलाइ आवस्यकता अनुसार एक सय रुपैया शुल्क सम्म लिइने गरेको सो अस्पतालले जनाएको छ । तर अस्पतालमै भर्ना भएका विरामी तथा न्युन आय भएका विरामीहरुलाइ निशुल्क रुपमा पनि यो सेवा दिइदै आएको बताइएको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने क्रम पनि बढेको छ । डोल्माले पद्धतिबाट शुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन्। उनले भनिन्, ‘शुरुमा जुका शरीरमा राख्दा डर लागेको थियो तर यसले टोके पनि केही थाहा पाइँदैन । यो रोगको उपचार धेरै गरे निको भएको थिएन । यहाँ राम्रो उपचार हुन्छ भन्ने थाहा पाएर आएकी थिएँ। यहाँ त जुकाले टोकाएर उपचार हुँदो रहेछ। धेरै चिलाउँथ्यो। यो तरिकाले उपचार गर्दा चिलाउन कम भएको छ । अस्पतालका अनुसार पहिला छिटफुट रूपमा हुँदै आए पनि पछिल्लो डेढ महिनादेखि नियमित रूपमा शुरु भएको हो ।
डा. भण्डारीका अनुसार शुरुमा जुकाको टोकाइबाट उपचार गराउँदा बिरामीहरू डराउने भए पनि पछि ठिक भएपछि उनीहरूले नै अरू बिरामीहरू ल्याएर आउने गर्दछन् । उनले भने, ‘शुरुमा बिरामीलाई यो पद्धतिबाट उपचार गर्दा मनाउनै गाह्रो हुन्छ। जब उनीहरूले उपचार गरेर राम्रो हुन्छ अनि अरूलाई पनि उपचारका लागि ल्याउने गर्दछन् । जसले गर्दा यो पद्धतिबाट उपचार गर्नेको संख्या विस्तारै बढ्दै गएको छ ।’
यो उपचारबाट शरीरमा भएको दूषित रगत जुकाले खाने र त्यसले गर्दा बिरामीलाई समस्याविना उपचार गर्न सहज हुने पनि बताए । उनले भने, ‘शरीरमा जुकाहरू राखिन्छ तर अन्य पद्धतिबाट उपचार गर्दा बिरामीलाई दुखाइ हुनसक्छ। यो पद्धतिबाट कुनै पनि दुखाइ हुँदैन । जुकाले हाम्रो शरीरमा रहेको दूषित रगत मात्र खान्छन्।’ मुख्य गरी छालाका समस्या भएका बिरामी, दुखाइको समस्या, नसाका समस्या भएका बिरामीलाई यो पद्धतिबाट उपचार गरिने पनि उनले बताए ।
अस्पतालका निमित्त प्रमुख डाक्टर सन्तोष ठाकुरका अनुसार जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि नेपालमा भने कम मात्रामा हुने गरेको छ। नरदेवी आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र काठमाडौँपछि प्रादेशिक आयूर्वेद चिकित्सालय विजौरीमा यो सेवा शुरु भएको पनि उनले बताए । आयुर्वेदले मात्र नभई विभिन्न अनुसन्धानबाट पनि अहिले आधुनिक चिकित्सकहरूले यसको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ।
श्रीलंका, भारत लगायत विभिन्न देशमा यो उपचार प्रभावकारी रूपमा बढेको पनि उनले बताए । उनले भने, ‘कुनै पनि बिरामीलाई उपचार गर्दा धेरै पीडा हुनसक्छ तर यो पद्धतिबाट उपचार गर्दा उनीहरूलाई कुनै पीडा हुँदैन। यी जुकाले हाम्रो शरीरमा भएको अशुद्ध रगत मात्र खाने भएकाले यो पनि एउटा विशेषता हो ।’
उपचारमा संलग्न स्टाफ नर्स श्रीया श्रेष्ठले पनि भर्खरैदेखि विजौरीमा सुरु भएको जलौका विधिको उपचारले धेरै दिर्घ रोगिहरुमा सुधारात्मक प्रतिफल मिलिरहेको बताएकि छिन् । ‘हामी धेरै आशावादी छौं, आयुर्वेद चिकित्साको यो विधिको उपचारले धेरै दिर्घरोगीहरुको समस्या समाधान हुने छ’, स्टाफनर्स श्रेष्ठले भनिन् । विभिन्न सन्चार माध्यमहरुमा समाचार आउन थालेपछि विजौरी अस्पतालमा पछिल्लो समयमा यो विधिको सेवा लिनेहरुको पनि उत्साह र आकर्शण बढिरहेको अस्पतालले जनाएको छ ।
त्यसो त पछिल्लो समयमा प्रादेशिक आयुर्वेद अस्पतालले रोग निदानलाइ प्रार्थमिकतामा राख्दै आधुनिक प्रविधि पनि अनुशरण गर्न थालेको छ । आधुनिक उपकरणहरु सहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा समेत अस्पतालले सुरु गरेको छ । सुगरका विरामीलाइ नियमित रक्त जाच तथा मुटुको इसिजि समेतका सुविधाहरु सो अस्पतालले उपलव्ध गराउन थालेपछि पछिल्लो समयमा विजौरी अस्पताल विरामीको गन्तव्यका रुपमा परीणत पनि भएको छ ।
अस्पतालमा पन्चकर्म सेवा फुलफेजमा चलेको छ भने विशेषज्ञ सहित फिजियो थेरामी सेवा सन्चालन भएपछि ढाड कम्मरका दिर्घरोगीहरु समेत सो अस्पतालमा सेवा लिन आउन गरेको अस्पतालकि फिजियोथेरापिष्ट डा नेहा रेग्मीले बताएकि छन् । अस्पताल परीषरभित्र रहेको खुल्ला नागरीक व्यायमशालामा पनि सेवा ग्राहिहरुको भिड छ । अस्पताल भित्रकै आफ्नै फार्मेशीले पनि विरामीहरुलाइ सहज भएको बताइएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।