झापा , ३ मंसीर । झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा बुद्धशान्ति ३ का ११ बर्षिय दिप्सन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्का एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा परि घाइते हुनेमा अर्जुनधारा ११ का २२ बर्षिय गगन तामाङ र बुद्धशान्ति ३ की ३९ बर्षिय सावित्रा कँडेल रहेका छन्।
घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार बुधवार विहान साढे एघार बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका–६, बसपार्क पूर्व ट्रकले मोटरसाइकललाई ठक्कर दिदा सडकमा लडेका बेला अर्को ट्रक आएर किचेको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यही बेला ट्रक आएर किचेको प्रहरी निरीक्षक जबेगुले बताए। मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्रक चालक फरार रहेको र ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको छ।


















