दाङ, १८ बैशाख । दाङको घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ६०–६५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १६ गते राति करिब १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ती पुरुषलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारकै क्रममा सोहीदिन राति १२ बजेको समयमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको अवस्थामा प्रहरीले खोजतलास गर्दै जाँदा मिति १७ गते हिजो दिउँसो साढे ३ बजेको समयमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका–३ मुलाबारी बस्ने ३० वर्षीय प्रेमलाल नेपाली रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार


















