ताप्लेजुङ, १५ फागुण ।ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया,उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ , एयर डाइनेस्टीका पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको छ ।
सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ । अहिले प्रहरी घटना स्थलमा पुगीसकेको छ । पाथिभराबाट तेह्रथुममा रहेको चुहानडाँडा विमानस्थलको अवलोकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर बुधवार बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।
दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । दुर्घटनास्थलमा पुगेका स्थानियहरुको अनुसार हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको छ।
पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।