कार्तिक ११ तुलसीपुर। दाङका किसानलाई यतिबेला धान ढल्याउन चटारो परेको छ। मौसमविद्ले कार्तिक ११ देखि १५ गते सम्म वर्षा हुने पूर्वानुमान गरेपछि किसानहरू धान काटेर ढल्याउने काम छिटो सक्ने हतारमा जुटेका छन्। तुलसीपुर उपमहानगरपालिका–७ बेत्रावती निवासी ६५ वर्षीया पविकुमारी पोख्रेल बुधबार बिहानैदेखि खेतमा धान ओसाउन व्यस्त हुनुहुन्थ्यो। उमेरले ६५ वर्ष पुगिसके पनि उहाँको खेतमा काम गर्ने जाँगर र मेहनत भने अझै उस्तै देखिन्थ्यो। वर्षाको पूर्वानुमानसँगै धान काट्ने र ओसाउने काम समयमै सक्ने उद्देश्यले उहाँ बिहानैदेखि खेतमा खटिनुभएको हो।
घरमा पाँच छोरा भए पनि अहिले उहाँलाई खेतीपातीको काममा परिवारका अन्य सदस्यसँगै जुट्नुपर्ने अवस्था छ। उहाँका अनुसार दुई छोरा अमेरिकामा, दुई छोरा कुवेतमा र जेठा छोरा भारतमा हुनुहुन्छ। छोराहरू विदेशमा रहेकाले अहिले घरमा वृद्धवृद्धा र बुहारीहरू मात्रै छन्। पविकुमारी आफैँ खेतमा धान ओसाई रहनुभएको थियो भने बुहारीहरू पनि अरुको धान काट्न सघाइरहेका थिए। श्रीमान भने धानका बोरा घर लैजानका लागि सहयोगी मान्छे खोज्न गएको उहाँले बताउनुभयो।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै किसानहरू अहिले खेतको काम छिटो सक्ने प्रयासमा छन्। विशेषगरी वर्षाको सम्भावना बढेपछि धान काट्न र ढल्याउनमा व्यस्त किसानलाई काम भ्याउन थप चटारो परेको छ। मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले किसानहरू मौसमको अवस्थालाई ध्यानमा राखेर खेतीपातीको काम अघि बढाइरहेका छन्।

खेतीपातीमै जीवन बिताएका पविकुमारीजस्ता किसानका लागि धान काट्ने र ओसाउने केवल काम मात्रै होइन, वर्षभरि परिवारको खाद्यान्न जोहो गर्ने आधार पनि हो। उमेर ढल्किँदै गए पनि खेतमा पसिना बगाइरहेकी पविकुमारीको मेहनतले कृषि कर्मप्रतिको लगाव र किसानको परिश्रमलाई झल्काउँछ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।