२०८३ भाद्र १५ गते सोमवार

पत्रकारिता : सत्यको खोजी कि शयनकक्षको पर्दा च्यातेर भीड जम्मा गर्ने व्यवसाय ?

पत्रकारिता सत्यको खोजी हो । तर जब कसैको निजी जीवनमा चियाएर त्यसलाई सनसनी, कौतूहल र मनोरञ्जनको सामग्री बनाइन्छ, त्यहाँ एउटा गम्भीर प्रश्न उठ्छ—हामी पत्रकारिता गरिरहेका छौँ कि भ्वायोरिज्म० को बजार विस्तार ? पत्रकारिता आफैँमा सम्मानित र जिम्मेवार पेशा हो । समाजले पत्रकारमाथि एउटा आधारभूत विश्वास गरेको हुन्छ—उसले दिने सूचना तथ्यमा आधारित हुन्छ, उसको खोजी सत्यको नजिक पुग्ने प्रयास हुन्छ र उसको कलमले सार्वजनिक सरोकारका विषयलाई समाजसामु ल्याउँछ ।

सायद यही विश्वासका कारण पत्रकारितालाई लोकतन्त्रको ‘चौथो अंग’ भनिएको हो । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब सार्वजनिक चासो र जनताको कौतूहललाई एउटै अर्थमा बुझ्न थालिन्छ । जनतालाई जान्नैपर्ने कुरा र जान्न मन लाग्ने कुरा एउटै होइन । कसैको निजी सम्बन्ध, व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध वा शयनकक्षसम्मको गोपनीयतामा चियाएर त्यसलाई उत्तेजक शीर्षक र सनसनीपूर्ण प्रस्तुतिमार्फत बजारमा बेच्नु पत्रकारिता हो ? वा हामी केवल मानिसको स्वाभाविक कौतूहललाई व्यवसायमा बदलिरहेका छौँ ? जनतालाई कुनै कुरा जान्न मन लाग्यो भन्दैमा त्यो कुरा सार्वजनिक गर्नुपर्ने अधिकार पत्रकारितालाई स्वतः प्राप्त हुँदैन । पत्रकारिताको धर्म मानिसको जीवनको पर्दा च्यात्नु होइन । जहाँ सार्वजनिक हित प्रभावित हुन्छ, त्यहाँ पर्दापछाडिको सत्य उजागर गर्नु हो ।

निजी जीवन सार्वजनिक चासोको विषय बन्न सक्छ—तर त्यसको स्पष्ट सार्वजनिक औचित्य हुनुपर्छ । सार्वजनिक पद, सार्वजनिक स्रोत, कानुन, सत्ता दुरुपयोग, भ्रष्टाचार वा व्यापक सामाजिक हितसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ भने निजी आचरणको केही पक्ष सार्वजनिक बहसको विषय बन्न सक्छ । तर केवल मानिसको निजी जीवनप्रति भीडको कौतूहल छ भन्दैमा त्यो समाचारको सार्वजनिक औचित्य बन्दैन । क्लिकको पछाडि कतै मान्छेको जिन्दगी त छैन ?

आजको डिजिटल युगमा एउटा शीर्षकले हजारौँ मानिसलाई केही मिनेटमै एउटै ठाउँमा जम्मा गर्न सक्छ । एक फोटो । एउटा भिडियो । एउटा उत्तेजक शीर्षक । र त्यसपछि सुरु हुन्छ—कमेन्ट, शेयर, आरोप, फैसला र चरित्रहत्या । तर हामीले कहिल्यै सोचेका छौँ ? त्यो ‘कन्टेन्ट’को अर्को छेउमा एउटा वास्तविक मानिस पनि छ । उसको परिवार छ । उसका छोराछोरी छन् । उसका साथीभाइ छन् ।उसको सामाजिक प्रतिष्ठा छ । र सबैभन्दा महत्वपूर्ण—उसको बाँकी जिन्दगी छ । समाचार केही दिनमा पुरानो हुन सक्छ ।

तर त्यसले बनाएको डिजिटल दाग कहिलेकाहीँ वर्षौँसम्म मेटिँदैन । विशेषतः महिलाको हकमा त सामाजिक परिणाम अझ कठोर हुन सक्छ । पुरुषले समाजको आलोचना केही समयपछि पचाएर फेरि सामान्य जीवनमा फर्कन सक्ला; तर महिलामाथि लगाइएको ‘चरित्र’को छाप धेरैपटक जीवनभरको सामाजिक सजाय बन्न सक्छ । त्यसैले समाचार बनाउने हातले एउटा प्रश्न अवश्य सोध्नुपर्छ— ‘मैले यो समाचार प्रकाशित गरेपछि सम्बन्धित व्यक्तिको जीवनमा के असर पर्ला ?’

व्यक्तिगत रिसको हतियार पत्रकारिता बन्नु हुँदैन अझ दुःखद अवस्था त्यतिबेला आउँछ, जब व्यक्तिगत रिस, कुण्ठा, प्रतिशोध वा इगोको हिसाब मिलाउन सञ्चारमाध्यमलाई माध्यम बनाइन्छ । कसैको नितान्त निजी जीवन सार्वजनिक तमासा बनाइन्छ । अनि सामाजिक सञ्जालको भीड— ‘क्या बात!’ भन्दै ताली बजाउँछ । तर पत्रकारिताको सफलता भीडको आकारले मापन गर्ने हो भने भीड र सत्यबीचको अन्तर कसले छुट्याउने ? सनसनीले क्लिक ल्याउन सक्छ; तर त्यसले पत्रकारिताको विश्वसनीयता ल्याउँदैन । सार्वजनिक पदमा पुगेपछि निजी जीवन कति सार्वजनिक हुन्छ ? यहाँ अर्को महत्वपूर्ण प्रश्न छ ।

सार्वजनिक पदमा पुगेका व्यक्तिले आफ्नो निजी आचरणमा सामान्य नागरिकभन्दा बढी सचेत, संयमित र जिम्मेवार हुनुपर्ने अपेक्षा स्वाभाविक हो । सार्वजनिक जीवनमा प्रवेश गरेपछि उसको केही निजी व्यवहारले सार्वजनिक विश्वास, पदको गरिमा र नैतिक उत्तरदायित्वसँग सम्बन्ध गाँस्न सक्छ । तर यसको अर्थ यो होइन कि— सार्वजनिक पदमा पुगेपछि उसको सम्पूर्ण निजी जीवन जनताको सम्पत्ति हुन्छ । सार्वजनिक पदले सार्वजनिक उत्तरदायित्व माग्छ । यसले निजी जीवनको सम्पूर्ण स्वामित्व समाजलाई दिँदैन । यही सीमारेखा पत्रकारिताले अझ बढी संवेदनशील भएर कोर्नुपर्छ ।

एउटा प्रश्न, जसले पत्रकारिताको नियत छुट्याउन सक्छ हरेक सनसनीपूर्ण समाचार प्रकाशित गर्नुअघि पत्रकार र सम्पादकले आफूलाई एउटा सरल प्रश्न सोध्न सक्छन— ‘यो समाचार जनताको जान्ने अधिकारका लागि हो कि जनताको जान्ने कौतूहल बेच्नका लागि ?’ यदि समाचारले भ्रष्टाचार उजागर गर्छ, सत्ता दुरुपयोग देखाउँछ, सार्वजनिक स्रोतको दुरुपयोग प्रमाणित गर्छ वा सार्वजनिक जिम्मेवारीसँग जोडिएको अनैतिक आचरणलाई तथ्यसहित प्रश्न गर्छ भने त्यो खोज पत्रकारिता हो ।

तर कसैको निजी जीवनमा अनधिकृत प्रवेश गरेर उसको अपमान, लज्जा र व्यक्तिगत पीडालाई ‘कन्टेन्ट’मा बदल्नु पत्रकारिताको शक्ति होइन । त्यो शक्तिको दुरुपयोग हो । पत्रकारिताले भीड होइन, विवेक निर्माण गर्नुपर्छ । पत्रकारिताको मूल्य सनसनीमा होइन, सत्यमा हुन्छ ।उसको शक्ति अरूको गोपनीयता भत्काउनमा होइन, सत्ताको जवाफदेहिता खोज्नमा हुन्छ । उसको सफलता भीड जम्मा गर्नुमा होइन, समाजलाई विवेकशील बनाउनुमा हुन्छ । त्यसैले अब प्रश्न पत्रकारलाई मात्र होइन, हामी पाठक र दर्शकलाई पनि हो ।

हामी सत्य पढ्न चाहन्छौँ कि अरूको निजी जीवनमा चियाउन ? हामी उत्तरदायी पत्रकारिता चाहन्छौँ कि सनसनीको बजार ? हामी यस्तो समाज निर्माण गर्दैछौँ जहाँ गल्तीको आलोचना हुन्छ, कि यस्तो समाज जहाँ मानिसको निजी जीवन नै सार्वजनिक मनोरञ्जन बन्छ ? अन्ततः पत्रकारिताको वास्तविक परीक्षा यही हो—पर्दा च्यातेर भीड जम्मा गर्नु सजिलो छ । तर पर्दापछाडिको सत्य खोजेर समाजलाई विवेकशील बनाउनु नै पत्रकारिताको असली साहस हो ।

लेखक पूर्व प्रहरी निरीक्षक रामबहादुर जिसी हुनुहुन्छ ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।