दाङ,१३ तुलसीपुर । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका दाङको तुलसीपुरका २५ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । हराइरहेकाहरुको खोजीका लागि तुलसीपुरबाट बाढी प्रभावित क्षेत्रमा गएको टोलीले समेत उनिहरु जीवीत रहेको या नहरेको कुनै जानकारी पाउन सकेन ।
सम्पर्कविहीनहरूको खोजी तथा पहिचानका लागि टोली ११ गते बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । प्रभावित क्षेत्रमा पुगेर शव तथा अस्पतालमा रहेका घाइते र अन्य व्यक्तिहरूबारे जानकारी संकलन गरेपछि टोली दाङ फर्किन लागेको हो । टोलीले चितवन र पोखरामा संकलन गरिएका ३३५ वटा शव हेरेर सम्पर्कविहीन तुलसीपुरवासीको पहिचान गर्ने प्रयास गरेको थियो ।
टोलीले चितवनमा संकलन गरिएका १०२ र पोखरामा रहेका २३३ शवको पहिचानको प्रयास गरेको थियो । ती शवमध्ये सम्पर्कविहीन तुलसीपुरवासीको पहिचान हुन नसकेपछि खोजीका लागि गएको टोलि पोखराबाट आज साँझपख दाङका लागि हिडको छ । नगर प्रवक्ता माधव वलीका अनुसार तुलसीपुरका विभिन्न वडाका २५ जना अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा तुलसीपुर–१३ का गोपीलाल रोका, लालबहादुर रोका, नारायण अधिकारी, प्रेम विक (दंगीशरण–६, हाल तुलसीपुर–१३) र शोभाराम योगी रहेका छन्। त्यस्तै, तुलसीपुर–२ का देवबहादुर गाहा मगर, तुलसीपुर–१८ का सुदन गिरी, विकास परियार, गोपाल परियार र जुगराम चौधरी सम्पर्कविहीन छन्।
तुलसीपुर–६ का रञ्जित वली, तुलसीपुर–७ का नारायणी पराजुली र सृजना थापा पनि अझै सम्पर्कमा आउन सकेका छैनन्। यसैगरी तुलसीपुर–१९ का पूर्णबहादुर बस्नेत, जयमान विक, सुरेश चौधरी, गोपाल पुन, दिलबहादुर पुन र लालबहादुर सुनार तथा तुलसीपुर–१५ का बजारु चौधरी र सीमा चौधरी सम्पर्कविहीन रहेको नगर प्रवक्ता वलीले जानकारी दिनुभयो।
सम्पर्कविहीनहरूको खोजीका लागि तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष तथा नगर प्रवक्ता माधव वलीको नेतृत्वमा १३ का वडा अध्यक्ष मोहन पौडेल र सम्पर्क बिहिनका आफन्तहरु गएको उपमहानगरले जनाएको छ । बाढीका कारण रोजगारीका लागि रुसुवाको भोटेकोसी क्षेत्रमा पुगेका तुलसीपुरका २५ जनासँग सम्पर्क हुन नसकेपछि परिवारजन चिन्तित छन्। उनीहरूको अवस्था यकिन गर्न खोजी तथा पहिचानको कामलाई तीव्रता दिनुपर्ने आफन्तहरूले बताएका छन ्।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।