२०८३ भाद्र ३ गते बुधवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई थान सक्सन मेसिन सहयोग

दाङ ३ भाद्र । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान केन्द्रीय सदस्य इन्जिनियर अनन्तराज घिमिरेले ५० हजार रुपैयाँ बराबरका दुई थान सक्सन मेसिन सहयोग गर्नुभएको छ।घिमिरेले आफ्नी ८६ वर्षीया आमा जीवा घिमिरेको प्रतिष्ठानमा सफल उपचार भएको खुसीयालीमा आमाको नाममा उक्त स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।

आमाको उपचारका क्रममा सरकारी अस्पतालबाट प्राप्त सेवा सन्तोषजनक रहेको र उपचारपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै घिमिरेले त्यसैको खुसीमा अस्पताललाई सहयोग गरेको बताउनुभयो । सक्सन मेसिन विशेषगरी शल्यक्रियाका क्रममा रगत, तरल पदार्थ तथा अन्य अनावश्यक पदार्थ बाहिर निकाल्न प्रयोग हुने महत्वपूर्ण स्वास्थ्य उपकरण हो। अस्पतालमा नियमित उपचार तथा शल्यक्रियाका क्रममा यसको आवश्यकता पर्ने भएकाले दुई थान मेसिनको सहयोगले प्रतिष्ठानको सेवा प्रवाहमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य संस्थालाई आवश्यक उपकरण सहयोग गरेर घिमिरे परिवारले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । सहयोगप्रति प्रतिष्ठान निर्देशक डा. सुरेश रसाइलिले घिमिरे परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया