२०८३ असोज १८ गते आइतवार

तुलसीपुरको दमकल खरिद प्रक्रिया रद्द, एक वर्ष देखि पश्चिम दाङ दमकलविहीन

फोटो फाईल

तुलसीपुर, १८ असोज । तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि अघि बढाएको खरिद प्रक्रिया रद्द गरेको छ। आवश्यक दमकल खरिदका लागि उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको भए पनि पेश भएका बोलपत्रमध्ये कुनै पनि बोलपत्रदाता सारभूत रूपमा प्रभावग्राही नदेखिएको भन्दै खरिद प्रक्रिया नै रद्द गरिएको हो। उपमहानगरपालिकाको खरिद इकाई प्रमुख हिमालय शर्माले जारी गरेको सूचना अनुसार कार्यालयको २०८३ असोज ८ गतेको निर्णय अनुसार दमकल खरिद कारबाही रद्द गरिएको छ। बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाइएको भए पनि प्राविधिक तथा अन्य आवश्यक मापदण्डका आधारमा कुनै पनि बोलपत्र सारभूत रूपमा प्रभावग्राही नदेखिएपछि प्रक्रिया रद्द गर्नुपरेको कार्यालयले जनाएको छ।

यो सँगै तुलसीपुरमा नयाँ दमकल खरिद हुने अपेक्षा तत्कालका लागि अन्योलमा परेको छ। दमकल खरिद प्रक्रिया रद्द भएपछि पुनः नयाँ प्रक्रिया अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल गत वर्ष भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनीमा परी जलेर पूर्ण रूपमा नष्ट भएको थियो। त्यस यता उपमहानगरपालिका दमकलविहीन अवस्थामा छ। पश्चिम दाङका चार स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले मात्रै दमकल सञ्चालन गर्दै आएको थियो। तुलसीपुरको दमकलमा आगजनी भएपछि तुलसीपुर सहित पश्चिम दाङका चारवटै पालिका दमकलविहीन भएका छन्।

आपतकालीन अवस्थामा प्रयोग हुने महत्वपूर्ण साधन नै नभएपछि पश्चिम क्षेत्रका स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप चुनौती देखिएको छ।आगलागीका घटना हुँदा तत्कालै नियन्त्रणमा लिनुपर्ने भए पनि आफ्नै क्षेत्रमा दमकल नहुँदा अहिले घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ। घोराहीबाट दमकल आउन समय लाग्ने भएकाले आगलागी नियन्त्रणमा ढिलाइ हुने र त्यसबीचमा थप क्षति हुनसक्ने जोखिम कायमै छ। विभिन्न कारणले दमकल खरिदमा ढिलाई भईरहेको भन्दै नागरिकस्तरबाट पछिल्नो समय छिटै यसको व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।