पोखरा, ४ असार । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले एक कार्यक्रमकाबीच रजतजयन्ती समारोह मनाएको छ । स्थापना भएको २५ वर्ष पुगेको अवसरमा संस्थाले रजतजयन्ती तथा २१ औँ साधारणसभा र छैटौँ अधिवेशन पनि संगै मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खानेपानी सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले उपभोक्ता संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
संस्थाले विगत २५ वर्षदेखि स्वच्छ खानेपानी उपलब्ध गराउँदै समुदायमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा सेवाको गुणस्तर, दिगोपना र पूर्वाधार विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले गर्नुपर्ने धेरै काम उपभोक्ता संस्थाहरूले गर्दै आएको बताउनुभयो । खानेपानी क्षेत्रलाई राज्यले पर्याप्त प्राथमिकता नदिँदा नागरिकहरू स्वच्छ खानेपानीबाट वञ्चित हुनुपरेको उहाँको भनाइ थियो ।
लेखनाथ खानेपानी उपभोक्ता संस्था नेपालकै सफल खानेपानी संस्थामध्ये एक रहेको उल्लेख गर्दै संस्थाको सफलतामा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । खानेपानी मन्त्रालय नै नभएको अवस्थादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै उहाँले सरकारले ल्याएका केही ऐन तथा नियमावलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले विगतका प्रगति, उपलब्धि, सेवा विस्तार, वित्तीय अवस्था तथा आगामी योजनाबारे जानकारी गराउँदै खानेपानी सेवालाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने विषयमा सहभागीबीच छलफल गरिएको कोषाध्यक्ष नारायणी भट्टराइले बताउनुभयो ।





