पाल्पा । राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा राज्यको प्राथमिकता अझै कमजोर रहेको बताउनु भएको छ । पाल्पाको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं साधारणसभाको उद्घाटन गर्दै उहाँले पर्याप्त बजेट अभाव, ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानीको कमजोर पहुँच तथा योजनामा हुने ढिलाइ र भ्रष्टाचारले सेवा प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो ।
शहरी क्षेत्रमा पनि नियमित पानी वितरण चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष वलीलले नागरिक ट्यांकर र बोतलको पानीमा निर्भर हुनुपरेको बताउनुभयो । उहाँले सबै नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउन पर्याप्त लगानी, पारदर्शिता र प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मौलिक अधिकारका रूपमा रहेको खानेपानीजस्तो सेवामूलक संस्थामा राज्यले आयकर मिनाहा, विद्युत महसुलमा छुट तथा ब्याजदर कम समेत माग गर्नुभयो । संस्थाका अध्यक्ष कमल राज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव नीलकण्ठ पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


















