तुलसीपुर, १२ बैशाख । डिभिजन वन कार्यालय दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा आज सहभागितामूलक वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वन डढेलो न्यूनीकरण गर्दै वन, वन्यजन्तु तथा वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा डढेलो नियन्त्रणका उपाय, स्थानीय तह तथा समुदायको भूमिका र वातावरण संरक्षणका विविध विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीयवासी, सुरक्षाकर्मी, नगर प्रहरी तथा विभिन्न सरोकारवालाको सहभागितामा अग्नि नियन्त्रणसम्बन्धी नमुना अभ्यास समेत गरिएको थियो।डिभिजन वन कार्यालय दाङका सिनियर डिभिजन वन अधिकृत वेसिन्द्रराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले वन डढेलो रोकथामका लागि प्रभावकारी समन्वय, जनचेतना अभिवृद्धि र सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो ।
साथै सबै सरोकारवाला निकायले यस विषयमा गम्भीरता अपनाउँदै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनीहरुले जोड दिएका थिए ।सो अवसरमा श्री गणेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीबहादुर भण्डारी, सव डिभिजन वन कार्यालय तुलसीपुरका वन अधिकृत खिमबहादुर केसीलगायतले बोल्नु भएको थियो ।कार्यक्रम वरिष्ठ वन अधिकृत ओमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण रेन्जर प्रकाश ढकालले गर्नुभएको थियो।


















