२०८३ जेष्ठ १७ गते आइतवार

खानेपानीमा कर छुट गरेको भन्दै महासंघद्धारा धन्यवाद ज्ञापन

काठमाण्डौ, १७ जेठ । खानेपानी क्षेत्रमा कर छुटको व्यवस्था गरेको भन्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले धन्यवाद ज्ञापन गरेको छ । महासंघले नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटलाई स्वागत समेत गरेको छ । महासंघका अध्यक्ष खेमराज वलीद्वारा जारी विज्ञप्तिमा खानेपानी सेवा जनताको मौलिक हकसँग जोडिएको विषय भएकाले यस क्षेत्रमा लाग्दै आएको कर खारेज तथा कर छुटको व्यवस्थाले देशभर सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

विज्ञप्तिअनुसार महासंघले विगतदेखि अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा पत्राचार र डेलिगेशनमार्फत उठाउँदै आएका मागहरू तथा राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावमा समेटिएका विषयहरूलाई सम्बोधन गर्न आग्रह गर्दै आएको थियो । सरकारको पछिल्लो बजेटमार्फत ती मागहरूमध्ये केही सम्बोधन भएको भन्दै देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले खुसी व्यक्त गरेका छन ।

महासंघले यस निर्णयले नेपाल सरकार र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, महासंघे खानेपानी क्षेत्रमा विद्युत् महसुल छुटलगायत बाँकी रहेका अन्य जायज मागहरू पनि आगामी दिनमा क्रमशः सम्बोधन हुने अपेक्षा राखेको छ ।

महासंघले खानेपानी सेवा नाफामुखी नभई सार्वजनिक सेवामूलक भएकाले विद्युत् महसुलमा छुटको व्यवस्था नभएसम्म विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु उपयुक्त नहुने धारणा पनि व्यक्त गरेको छ । यसबाट आम उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार पर्ने महासंघको भनाइ छ । विज्ञप्तिमा सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रलाई दीर्घकालीन नीति, योजना तथा आवश्यक सहयोगमार्फत थप सुदृढ, दिगो र प्रभावकारी बनाउँदै लैजाने अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया