तुलसीपुर, जेठ २९ । कानुनी व्यवस्था, लेखा प्रणाली तथा वित्तीय अनुशासनबारे जानकारी गराउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर–दाङको आयोजनामा लेखा व्यवस्थापन तथा कर नीति सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुरस्थित वेस्टर्न पार्टी प्यालेसमा आयोजित कार्यक्रममा व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा व्यवस्थापन, अभिलेख संरक्षण, आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), कर तिर्ने प्रक्रिया तथा पछिल्ला कर नीतिका विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा व्यवसायलाई व्यवस्थित, पारदर्शी र कानुनसम्मत रूपमा सञ्चालन गर्न आवश्यक विषयमा समेत सहजीकरण गरिएको थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर–दाङका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख माधव वली प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयको थियो। त्यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन विशिष्ट अतिथि रहेका थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका परीक्षक बासुदेव अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, पदम वली तथा परशुराम पुन लगायतको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि माधव वलीले पारदर्शी लेखा प्रणाली र करको दायरामा आधारित व्यवसायिक संस्कृतिले स्थानीय आर्थिक विकासलाई सुदृढ बनाउने उल्लेख गर्दै व्यवसायीहरूलाई कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उहाले व्यवस्थित लेखा प्रणालीले व्यवसायलाई दिगो र विश्वसनीय बनाउने बताउनु भयो। नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले बदलिँदो आर्थिक परिवेशमा व्यवसायीहरू समयानुकूल ज्ञान र प्रविधिसँग अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमले व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन र कार्यालयका परीक्षक बासुदेव अधिकारीले सहजीकरण गर्दै करसम्बन्धी नवीन व्यवस्था, व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रावधान तथा अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिनु भयको थियो। उहाहरूले कर प्रणालीप्रति सचेत भई समयमै कर तिर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा करिब ३० जना व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको थियो।
ग्रीन फाउन्डेसन नेपालका प्रतिनिधि गणेश भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण महासंघका महासचिव भद्रबहादुर वलीले गरेका थियो।






