दाङ, २९ जेठ । राष्ट्रिय साना शहरी खानेपानीका केन्द्रिय अध्यक्ष खेमराज वली नेतृत्वको टोलिले पवन नगर खानेपानीको अनुगमण गरेको छ । अनुगमण टोलिले समितिसंग मुहान क्षेत्रको वर्तमान अवस्था, पानीको स्रोत, संरक्षण, वितरण प्रणाली तथा वर्षायाममा देखिने समस्याबारे जानकारी लिएको थियो । सोक्रममा उपभोक्ता समितिले विशेषगरी वर्षाको समयमा मुहानमा माटो, लेदो तथा अन्य फोहोर मिसिने कारण उपभोक्ताले धमिलो पानी पिउन बाध्य भएको बताउँदै पानी प्रशोधन केन्द्रका लागि महासंघले आवश्यक पहल गर्नुपर्ने बताएका थिए ।
सो अवसरमा अध्यक्ष ओलीले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले मुहान संरक्षण, पानी प्रशोधन प्रणालीको सुधार तथा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तह, उपभोक्ता संस्था र सरोकारवालाबीच समन्वय गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता निर्मल आचार्यले खानेपानीको गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता, वातावरण संरक्षण तथा मुहान क्षेत्रको नियमित निगरानी आवश्यक रहेको धारणा राख्नुभयो । खानेपानी आयोजनामा झण्डै १५ सय धारा वितरण गरिएको पवननगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष टिकारामम भण्डारीले जानकारी दिनुभयो ।







