दाङ, ३० जेठ । दाङको एक होटलबाट सुनजस्तो देखिने पहेँलो बहुमुल्य धातुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बहुमुल्य धातुको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको टोलीले लमही नगरपालिका–६ अमिलियास्थित नमस्ते होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा सुचना अधिकारी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी र रुकुम बाफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मा बस्ने २२ बर्षिय दिलिप परियार रहेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार गिरी भारतबाट उक्त धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुनु भने परियार किन्ने व्यक्ति हुन ।
प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु २४६.५०० ग्राम -दुई सय छयालीस दशमलव पाँच सय ग्राम) तौल भएको ५२ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको धातु बरामद गरेको डिएसपी केसीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्ति र धातुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






