विपक्षी दलका सांसदहरूले सुरुदेखि नै निर्वाचित सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भई जनप्रतिनिधिहरूप्रति उत्तरदायी बन्न आग्रह गर्दै आएका छन्। उनीहरूले संसदीय मर्यादा, लोकतान्त्रिक संस्कार तथा सार्वभौम संसदको गरिमा जोगाउन निरन्तर आवाज उठाइरहेका छन्। तर विडम्बना, प्रधानमन्त्री बालेन शाहले ती आवाजलाई सुनुवाइ गर्नु त परै जाओस्, सामान्य राजनीतिक शिष्टाचारको समेत आवश्यकता महसुस गरेको देखिँदैन।
खुदै रास्वपाको नेतृत्व र सभामुख डिपि अर्यालको आग्रहलाइ समेत वेवास्ता गर्दै उहा संसदमा उपस्तिथि हुन आनाकानी र अटेरी बन्नु आश्चर्य र गम्भीर संशयको बिषय बन्न पुगेको छ । उहाको हठी, एकांगी र आत्मकेन्द्रित प्रवृत्तिको पछिल्लो उदाहरण त्यतिबेला देखियो, जब आफ्नै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सम्माननीय राष्ट्रपतिले सम्बोधन गरिरहँदा उहा अचानक उठेर बाहिरिनुभयो । यो घटना केवल अस्वाभाविक व्यवहार मात्र थिएन ।
यसले राज्यका संवैधानिक संस्थाहरूप्रति उनको दृष्टिकोण र संसदीय प्रणालीप्रतिको असहजता समेत उजागर गर्यो। प्रधानमन्त्री पद सम्हालेपछि जनतामाझ उपस्थित भई विश्वास र समर्थनका लागि औपचारिक धन्यवाद व्यक्त गर्न समेत आवश्यक नठान्नु उनको जनउत्तरदायित्वप्रतिको उदासीनताको अर्को संकेत हो।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदादेखि नै उहाले संघीय सरकार र तत्कालीन प्रधानमन्त्रीहरूसँग निरन्तर टकरावको राजनीति गर्दै आफूलाई “एक्लो विद्रोही” पात्रका रूपमा प्रस्तुत गर्न खोज्नुभयो। सामाजिक संजाल र जन आक्रोशलाइ राजनीतिक शक्तिका रुपमा उपयोग गर्ने उहाको शैलिले आरम्भमा धेरै युवा माझ आकर्षण पैदा गर्यो परम्परागत दलहरु प्रतिको निराशा र आक्रोशलाइ उहाले आफ्नो लोकप्रियताको आधार बनाउनुभयो तर लोकप्रियता र नेतृत्व क्षमता एउटै कुरा होइनन ।
भिडको तालीले राज्य संचालनको जटिलता समाधान गर्दैन ्र प्रश्न र सवाललाई बोझ ठान्ने प्रबितिले अन्तत लोकतन्त्रलाईनै कमजोर बनाउछ ।लोकतन्त्र आवेग, उत्तेजना र व्यक्तिगत प्रतिशोधको माध्यम होइन । यो संवाद, संयम, सहकार्य र संस्थागत उत्तरदायित्वमा आधारित प्रणाली हो। लोकतन्त्रमा, लोकप्रियता स्थायी हुदैन। जनताको समर्थन ,भावनाले जित्न सकिएला तर त्यो बिश्वास कायम राख्न संयमता, विनम्रता र उत्तरदायित्व आबश्यक पर्छ । इतिहासले देखाएको छ कि ? अत्यधिक लोकप्रियताले जब अहंकारको रुप लिन्छ ,तब त्यसले नेतृत्वलाइ यथार्थबाट टाढा पु¥याउन वरिपरी केवल प्रसंशकहरुको घेरा बन्न थाल्छ,आलोचनात्मक चेतना हराउन थाल्छ र अन्तत नेतृत्व स्वयम् आफ्नै छविको बन्दि बन्न पुग्छ ।
आज देश आर्थिक संकट ,बेरोजगारी, युवा पलायन ,भ्रष्टाचार ,शिक्षा र स्वास्थ्य क्षेत्रको अब्यबस्था जस्ता गम्भिर समस्या संग जुधिरहेको छ। यस्तोबेला प्रधानमन्त्रीको ध्यान व्यक्तिगत छबी निर्माण,आक्रोशपूर्ण प्रतिकिया र टकरावको राजनीतिमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण प्रतिक्रिया हो ।प्रधानमन्त्री बालेन शाह साच्चै परिवर्तनकारी नेतृत्वका रुपमा स्थापित हुन चाहन्छन भने उहाले आलोचनाबाट भाग्ने होइन ,त्यसलाई सुन्ने साहस देखाउनुपर्छ ्र संसद संग सम्बाद गर्नुपर्छ।जनताको असन्तुष्टि बुझ्नुपर्छ र राज्य संचालनलाई ब्यक्तिगत इगो होइन ,संबैधानिक जिम्मेवारीका रुपमा ग्रहण गर्नुपर्छ।अन्यथा आजको लोकप्रियता निराशामा बदलिन समय लाग्ने छैन्र
उहाको स्वभाव कति जिद्दी र उत्तेजनापूर्ण छ भन्ने कुरा त्यतिबेला पनि देखिएको थियो, जब सुरक्षाकर्मीहरूले नियमित सुरक्षा जाँच गर्दा उहाले त्यसलाई व्यक्तिगत अपमानको रूपमा लिएर “सिंहदरबार जलाइदिन्छु” भन्ने शैलीको अभिव्यक्ति दिनुभयो । जिम्मेवार सार्वजनिक व्यक्तित्वबाट अपेक्षित संयमता र परिपक्वताको सट्टा यस्तो अभिव्यक्तिले समाजमा आक्रोश, द्वेष र असहिष्णुताको मनोविज्ञान फैलाउने काम मात्र गर्यो।
हिजो काठमाडौं महानगरको प्रमुख हुँदा बागमती लगायत नदी किनारका अव्यवस्थित बस्ती हटाउने प्रयासमा संघीय सरकारले अवरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गर्ने बालेन शाह, आज स्वयंम प्रधानमन्त्री बनेपछि त्यही विषयमा संवेदनशील र दीर्घकालीन समाधान खोज्नुको सट्टा शक्ति प्रदर्शनमा उत्रिएको देखिन्छ। काठमाडौं, ललितपुर र भक्तपुरका खोला किनारमा रहेका होस् वा देशका विभिन्न ठाउँमा रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको समस्या दशकौँदेखि जटिल सामाजिक–आर्थिक प्रश्नका रूपमा रहेको छ। यसको समाधान राज्यको दीर्घकालीन योजना, पुनःस्थापना, वैकल्पिक आवास र मानवीय दृष्टिकोणबाट खोजिनुपर्थ्यो।
तर विडम्बना, बिना पर्याप्त तयारी, बिना स्पष्ट गुरुयोजना र बिना पुनःस्थापनाको विश्वसनीय खाका प्रस्तुत नगरी, राज्य संयन्त्र र सुरक्षातन्त्रको अप्रत्यक्ष दबाबमार्फत बस्ती हटाउने शैली अपनाइनु संवेदनशील राज्यभन्दा संवेदनहिन दन्डाधिकारी जस्तो देखियो। यसले प्रभावित नागरिकहरूमा मात्र होइन, उहालाई विश्वास गरेर मतदान गरेका समर्थकहरूमाझ समेत असन्तुष्टि र निराशा पैदा गरेको छ।
जनभावनाको त्यो परिवर्तनलाई समयमै बुझ्न नसक्नु प्रधानमन्त्रीको गम्भीर राजनीतिक भूल हुन सक्छ। दुःखद पक्ष के छ भने, आम नागरिकका पीडा, गुनासा र आलोचनाप्रति प्रधानमन्त्री बालेन शाह प्रायः असहिष्णु देखिन्छन्। प्रश्नलाई लोकतान्त्रिक अधिकारको रूपमा स्वीकार गर्नुको सट्टा विरोधलाई व्यक्तिगत शत्रुता ठान्ने प्रवृत्ति लोकतान्त्रिक नेतृत्वको होइन, अहंकारको परिचय हो। असहमति सुन्न नसक्ने र आलोचनाबाट भाग्ने नेतृत्व अन्ततः जनमतबाट टाढिँदै जान्छ।
यही प्रवृत्तिलाई उहाका समर्थकहरूले “क्रान्तिकारी शैली” भन्दै महिमामण्डित गरिरहेका छन्। प्रश्न उठाउनेहरूमाथि “देख्लास”, “पर्खलास” जस्ता धम्कीपूर्ण भाषाको प्रयोग हुनु लोकतान्त्रिक संस्कारको संकेत होइन । यो भीडतन्त्र, अन्धसमर्थन र असहिष्णु राजनीतिक संस्कृतिको संकेत हो। लोकतन्त्रमा कुनै पनि व्यक्ति प्रश्नभन्दा माथि हुँदैन। जनताबाट निर्वाचित नेतृत्व जनताकै अगाडि उत्तरदायी हुनुपर्छ। संसद, संविधान, विधि र नागरिक चेतनाभन्दा ठूलो कोही हुँदैन — प्रधानमन्त्री पनि होइन। लोकतन्त्रको सुन्दरता नै यही हो कि यहाँ प्रशंसा मात्र होइन, प्रश्न पनि गरिन्छ । समर्थन मात्र होइन, जवाफदेहिताको माग पनि गरिन्छ।
लेखक सेवा निबृत्त प्रहरी निरीक्षक हुनुहुन्छ ।





