२०८३ असार २८ गते आइतवार

जेन–जी आन्दोलनका क्रममा फरार २५ वर्ष कैद सजाय पाएका कैदी पक्राउ

फोटो फाईल
तुलसीपुर, २८ असार । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय पाएका एक कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ बनगाउँ निवासी ३३ वर्षीय गोरे भन्ने गोविन्द वि.क. रहेका छन्।

उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २०७८ जेठ २८ गतेको अदालतको फैसलाअनुसार २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए। कारागार कार्यालय तुलसीपुर, दाङमा कैद भुक्तानका क्रममा रहेका उनी २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

फरार कैदीको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले २०८३ असार २७ गते राति ९ः३५ बजे घोराही उपमहानगरपालिका–१३ बनगाउँस्थित लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका गोविन्द वि.क.लाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया