तुलसीपुर २० असार । बागचौर नगरपालिकाको आयोजनामा नगरस्तरीय शैक्षिक अन्तरक्रिया तथा वृहत् शिक्षक सम्मेलन आजदेखि सुरु भएको छ।
नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा बागचौर नगरपालिकाको सभाहलमा सुरु भएको दुईदिने सम्मेलनमा नगरभित्र रहेका ७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा २०७४ सालदेखि हालसम्म सेवा निवृत्त भएका शिक्षक–कर्मचारीहरूको सहभागिता रहेको छ।
सम्मेलनको उद्घाटन गर्दै नगर प्रमुख गौतमले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै बदलिँदो समयअनुसार शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, व्यवहारिक तथा विद्यार्थीकेन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासका कामलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि, शिक्षण–सिकाइका नवीन अभ्यास, विद्यालय व्यवस्थापन, समसामयिक शैक्षिक नीति तथा कार्यक्रम, अनुभव आदान–प्रदान तथा आगामी शैक्षिक कार्ययोजनाका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिनेछ।
सम्मेलनको अवसरमा २०७४ सालदेखि हालसम्म सेवा निवृत्त भएका शिक्षकहरूलाई शिक्षा क्षेत्रमा पुर्याएको अमूल्य योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।
बागचौर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, समन्वय तथा अनुभव आदान–प्रदानलाई थप प्रभावकारी बनाउँदै नगरको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको हो। सम्मेलन असार २० र २१ गते सञ्चालन हुनेछ।
कार्यक्रम उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, नगर कार्यपालिकाका सदस्यहरू, शिक्षा शाखाका कर्मचारी, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, सेवा निवृत्त शिक्षक–कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






