२०८३ असार १८ गते बिहिवार

तुलसीपुरमा मापसे गरेर मोटरसाइकल चलाउदा दुर्घटना, दुईजना घाइते

तुलसीपुर, १७ असार ।  दाङको तुलसीपुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक घाइते भएका छन् ।  तुलसीपुरबाट गुम्राहचोकतर्फ जाँदै गरेको रा ५ प ५७०८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ६९५३ नम्बरको मोटरसाइकल तुलसीपुर–६ स्थित मदन आश्रित चोक नजिकै सोमबार राति सवा ८ बजेको समयमा एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा रा ५ प ५७०८ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–८ अश्वार निवासी करिब २९ वर्षीय युवराज खड्का टाउकोमा चोट लागेर घाइते भएका छन् । त्यस्तै, रा ७ प ६९५३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१५ निवासी १७ वर्षीय सन्दीप वलीको ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार युवराज खड्काले मादक पदार्थ सेवन गरेको प्रारम्भिक परीक्षणबाट देखिएको छ र उनीसँग चालक अनुमति पत्र लाइसेन्स रहेको थियो । अर्का चालक सन्दीप वलीले मापसे नगरेको भए पनि उनीसँग चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर डाँगीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया