२०८२ असोज २६ गते आइतवार

तिहारमा राजाकोट चिनाउने गोल्टाकुरीका युवाको तयारी

इतिहास, प्रकृति र रहस्यको संगम “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो । आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ ।” साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं. २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो । समुद्र सतहदेखि १५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ । तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिर रहेको राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ र यहाँ पुग्न करिब ५ किलोमीटर पैदल यात्रा गर्नुपर्छ ।

दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११ औँ– १५औँ शताब्दी सम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोट जोडिएको छ । सुकौराकोटका राजा दंगीशरण गर्मीमा यहाँ बस्ने गर्दथे, त्यसैले यसलाई राजाकोट भनिएको हो । थारु भाषामा कोटलाई “रज्जवाकोट” भनिन्थ्यो । राजा दंगीशरण सिकारमा पारखी थिएस रानीसँगै बुल्बुल्या तालमा नुहाउने प्रचलन पनि थियो, जसको

परम्परा आज पनि माघिमा जारी छ ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११ औं शताब्दी देखि १५औं शताब्दीसम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको सम्बन्ध रहेको छ । इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि रहेको थियो । दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले उक्त स्थानको नाम राजाकोटू रहन गएको हो । थारु भाषामा कोटलाई रज्जवाकोटू भनिन्छ । सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो ।

त्यस समयमा दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए । दाङ उपत्यकामा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे । दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि देख्न सकिन्छ ।
राजा आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैसा र वस्तु गाडेको कथाले यहाँको ऐतिहासिक महत्त्व थप्छ । राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौडा रहेको अनुमान पनि छ । यहाँको कुकुरगौडा पाण्डवसँग जोडिएको भन्ने कथा रहस्यमय छ ।

कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हुदैं राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो । गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे । नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।

राजाकोटको चुचुरोबाट नेपालगञ्ज, बहराइज, थर्कोट, स्वर्गद्वारी र महाभारत श्रृङ्खला संगै हिमाली सेताम्मे हिम श्रृङ्खला र रमणीय स्थलहरू देख्न सकिन्छ । देउखुरी उपत्यका भएर बग्ने राप्ती नदि र दाङ उपत्यका भएर बग्ने बबई नदीको नागबेली आकारले बनेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ ।

पहिला राजमार्गको रूपमा प्रयोग हुने तिलकन्याको बाटो आजको तुल्सिपुर–अमेलिया–घोराही–लमही मसोट सडक सञ्चालन अघि प्रमुख मार्ग थियो। त्यहाँ टाकुरोमा होटल सन्चालन हुन्थ्यो र हजारौं मानिस यहाँ यात्रा गर्थे । तर, राजाकोट अहिले पनि उस्तै छ। यहाँ चिसो हावा र रमणीय दृश्यहरूले यहाँ पुग्ने मानिसलाई आनन्दित पार्दछन् । यद्यपि, वन फडानीका कारण वातावरणमा विग्रह भएको छ। अब पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिँदैनन्। तर, यहाँको चिसो हावा र वातावरणीय सौन्दर्य भने कायम छ ।

नेपाल प्रहरीसँगको ऐतिहासिक सम्बन्ध
राजाकोट–तिलकन्या क्षेत्र नेपाल प्रहरीको इतिहाससँग पनि जोडिएको छ। हाम्रो पुर्खालाइ त यो थाहा थिएन, र शायद धेरैलाई तिलकन्या प्रहरी नामले कमै थाहा होला। त्यहाँ प्रहरी कहिले बस्न थाले, त्यो नेपाल प्रहरीको लागि पनि एक इतिहाँसको खोजिको बिषय हो र हुनु पनि पर्छ ।

जुन अहिले गोल्टाकुरी प्रहरी चौंकीको रुपमा दंगिशरण गाँउपालिका २ गोल्टाकुरीमा रहेको छ यो पनि एक जीवित इतिहास हो र अनुसन्धानको विषय बन्नुपर्छ । आज पनि राजाकोट चिसो हावा, घना जंगल र रमणीय दृश्यले यात्रुहरूलाई मनमोहक अनुभव दिन्छ। तर वन विनास र वातावरणीय परिवर्तनले वन्यजन्तु र चराचुरुङ्गीहरू कम देखिन्छन् ।
निष्कर्ष–
राजाकोट केवल प्राकृतिक सौन्दर्य होइन, यहाँ लुकेको ऐतिहासिक, सांस्कृतिक र प्रहरी सम्बन्धी तथ्यहरू पनि छ। नयाँ पुस्ताले यसको खोजी गर्नु आवश्यक छ। इतिहासलाई बुझ्न र अनुभव गर्न कार्तिक १ मा राजाकोट पुग्नुहोस् । राजाकोट तिहारको पूर्वसन्ध्यामा — सबै मिलेर जीवित यादगार बनाऔँ तिहार नजिकिँदैछ  यस वर्ष तिहारमा केवल दियो बाल्ने उत्सव मात्रै होइन — हाम्रो गौरव, इतिहास र प्राकृतिक सुन्दरताको उत्सव गरौँ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया