तुलसीपुर जलेपछि प्रमुखको मार्मिक सन्देश: अब फेरि उठ्नै पर्छ

आदरणीय नगर वासी बुबा आमा, संविधानमा सङ्घीयता आएको थियो, नयाँ संरचनाहरू थिएनन्, सबै संरचनाहरू पुरानै थिए । स्थानीय सरकारका रुपमा हामीले गर्नुपर्ने काम र जनताका अपेक्षाहरू अति धेरै थिए । सीमित बजेटका बिचमा हामीले तुलसीपुरको प्रशासनिक र वडा कार्यालयहरूलाई नागरिकहरूले सहजै सेवा प्राप्त गर्ने गरी निर्माण गर्‍यौ । स्थानीय सरकारसँग बजेटको अभाव हुने भएकाले विभिन्न संरचनाहरू भिन्न भिन्न निकायहरू गुहारेर मेरै कार्यकालमा तुलसीपुरको प्रशासकीय भवन र धेरै वडा कार्यालयहरू निर्माण र पुनर्निर्माण भए । भलै कोरोना महामारीका कारण उक्त भवनमा म आफू बसेर सबै सेवा सुरु भएन तर पनि बजारका विभिन्न ठाउँमा साना साना कोठा खोजेर शाखाहरू राख्नुपर्ने बाध्यताको अन्त्य भएर नागरिकहरूले एकै ठाउँबाट सेवा पाउने सहजता भएको थियो । वडा कार्यालयहरूले वडामै सबै खालको सेवा दिने गरी संरचनाहरू निर्माण भएका थिए । आज सबै खरानी भएको छ । यसबाट म दुखित र मर्माहत भएको छु ! हामी फेरी बजारमा छरिएर कोठा खोज्दै शाखाहरू स्थापना गर्ने ठाउँमा फर्किएका छौ ।

१. त्यति मात्रै होइन तुलसीपुरलाई आधुनिक सहरको रूपमा पहिचान दिनका लागि व्यापारिक कम्प्लेक्सहरू र स्थानीय उत्पादनको एकीकृत बजार तथा बिक्री केन्द्रको आवश्यकता थियो । निजी क्षेत्रबाट यस खालको कम्प्लेक्स निर्माणका लागि पहलकदमी हुन नसकेपछि नगर विकास कोषसँगको सहकार्यमा तुलसीपुरको पहिचानका रुपमा तुलसी टावर निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको थियो । यो निर्माण गर्दा मैले अनेक खालका नकारात्मक टिका टिप्पणीको सामना गर्नुपरेको थियो । तर एक दिन अवश्य पनि यसले तुलसीपुरको व्यवसाय र स्थानीय युवाहरूमा उद्धमशिलता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास थियो । यसको निर्माण सम्पन्न भएसँगै विभिन्न व्यवसायीहरू यसतर्फ आकर्षित हुनुभएको थियो । व्यवसायीहरूमा ऊर्जा र उत्साह पलाएको थियो । यो पनि तोडफोड भयो । ठुलो क्षति भयो । सञ्चालनको मुखैबाट हामी फेरी पछाडि फर्कने भयौ । तुलसीपुर अटो भिलेजलाई व्यवस्थापन गरेर आधुनिक र व्यवस्थित बसपार्क निर्माण गरेका थियौ । यसले तुलसीपुरको पहिचान दिएको थियो । केही थप काम गर्न बाँकी पनि थियो । तर यो पनि पूर्णता नपाउँदै नष्ट भएको छ । यी सबै तुलसीपुरका सपनाहरू थिए । यसले सबैको मन दुखेको छ । पहलकदमी लिएका कारणले मेरै झनै मन दुखेको छ ।

२. तुलसीपुरका अन्य सरकारी कार्यालय, न्यायालय, निजी व्यवसाय र भवन लगायतमा क्षति गरियो । यो क्षतिको असर हामीले लामो समयसम्म खेप्नुपर्ने निश्चित छ । जेन जीले गरेको आन्दोलनप्रति मेरो केही प्रश्न छैन ! सुशासन, समावेशिता र अभिव्यक्ति स्वतन्त्रताप्रति मेरो साथ र समर्थन छ । तर के विध्वंसको हद नाघेर गरिएको यो आन्दोलनले ल्याउने परिवर्तनबाट अहिले भएको क्षतिको पूर्ति हुन सक्दछ ? संरचनाहरू त बन्लान् तर हाम्रा इतिहास बोकेका दस्ताबेजहरू कहाँ पाइएला ? आन्दोलनका क्रममा केही न केही त क्षति हुन्छ नै तर यसरी सार्वजनिक र निजी सम्पत्तिमाथि एकै पटक भएको यो क्षतिले हामीलाई दशौँ वर्ष पछाडि धकेल्ने निश्चित छ ।

३. आगो निभाउने तुलसीपुरको दमकल आफै बलेको छ । बालबालिकाहरूलाई लगाउने खोपहरू जलेर नष्ट भएको छ । निजी व्यवसायीहरूमा उत्साह हराएको छ । कर्मचारीहरूमा काम गर्ने जाँगर छैन । महत्त्वपूर्ण दस्ताबेजहरू केही पनि बाँकी छैनन् । तुलसीपुरबासीको अनुहारमा नैराश्य पोतिएको छ । देशकै मुख्य केन्द्रहरू जलेर ध्वस्त भएका छन् । हामीले गर्व गर्ने इतिहास र दस्ताबेजहरू खरानी भएका छन् । यी निराशाहरूलाई हामीले कनीकुथी आशामा बदल्नु छ ।

प्रिय जेन जी पुस्ता ! तपाईँहरूको परिवर्तनप्रतिको अपेक्षालाई प्रशंसा गर्छु तर त्यो प्राप्तिको लागि तपाईँहरूको आवेगमा या घुसपैठमा जे भयो त्यो कत्ति पनि राम्रो भएन । तपाईँका आवाजहरूलाई दबाएर यो विध्व‌शंको आवाज घन्काउनेहरूको पहिचान गरौँ । जति खरानी भए पनि उभिनु नै छ । अब उभिने प्रयास गरौँ ।

आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली , शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! जेन जी पुस्ताका माग सम्बोधन गर्ने र सँगै रहेर राष्ट्रले भोगेको अकल्पनीय नोक्सानीको पुनर्निर्माण गर्ने कार्यमा सहयात्रा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । इतिहासको यस कठिन घडीमा सबैले मातृभूमिको माटो र ध्वस्त धरोहरको खरानी मुठ्ठीमा लिएर वाचा गरौँ, सङ्कल्प गरौँ – हामी फेरी उठ्छौ र हाम्रा धरोहरको पुनर्निर्माण गर्छौ ! निराशाहरूलाई आशाको घाम देखाउँछौ । नेपाल र नेपालीको पहिचान जोगाउँछौ ! यस महान् यात्रामा सहकार्य र सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दछु ! धन्यवाद

टिकाराम खड्का
नगरप्रमुख
तुलसीपुर उपमहानगरपालिका

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया