
काठमाण्डौ, २८ भदौ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ । गएराति सिन्धुपाल्चोकको चौतारा, तनहुँको देवघाट, सुनसरीको चतरालगायतका क्षेत्रमा मध्यम वर्षा भएको छ । चौतारामा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै देवघाटमा ३३.८ मिलिमिटर र चतरामा १६.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँ तथा गण्डकी र कर्णाली प्रदेशको एकदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । पहाडी भागका केही तथा तराइका थोेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एकदुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ । आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी पहाडी तथा तराइ भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति एकदुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।।