२०८३ बैशाख १७ गते बिहिवार

 प्रादेशिक अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

दाङ, २३ असार । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित दाङका सबै स्वास्थ्य संस्थाहरुमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प हुने भएको छ । नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रम अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लगायतका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प हुने अस्पतालका प्रमुखहरूले जानकारी दिएका छन् । हिजो अस्पतालमा कार्यरत चिकित्सकहरूले एक घण्टा धर्ना दिएका थिए ।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि उपचार सेवा लिन आएका बिरामीहरू मर्कामा परेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ–संगठनहरूसँगको छलफलपछि देशभर आन्दोलनको कार्यतालिका तय गरेको हो ।

उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

आन्दोलनका कार्यक्रम

१. असार २०, शुक्रबार – नेपाल चिकित्सक संघका शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने।

२. असार २२, आइतबार – सम्पूर्ण चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने।

३. असार २३, सोमबार – देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने।

४. सोमबारसम्म – चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने।

५. असार २४, मंगलबार – चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने।

संघले चिकित्सक समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो कदमबाट सर्वसाधारणलाई पर्ने असहजताको जिम्मेवारी राज्यकै हुने उल्लेख गरेको छ।

ऐक्यबद्धता जनाउने संस्थाहरूमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ रहेका छन् ।

 

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया