काठमाडौ, ५ बैशाख । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उहा अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएको उहाको सचिवालयले जनाएको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले गत चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरीले उहालाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीले अस्पतालमै राखेर उहामाथि अनुसन्धान अघि बढाएको थियो । त्यसैक्रममा ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त हुनु भएको थियो ।
अस्पतालमै प्रहरीले ओलीलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो । तर अध्यक्ष ओलीलाई त्यो दिन अस्पतालले डिस्चार्ज नगरी चैत ३० गते पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरिएको थियो । ओलीको शल्यक्रिया पछि ६ दिन अस्पतालमा उपचारपछि अस्पतालले डिस्चार्ज गरेको हो ।












