२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुर उपमहानगरको निशुल्क एम्वुलेन्स सेवा कागजमै सिमित,वडाले फिर्ता गरेका गाडी ग्यारेजमै थन्किए

फोटो फाईल

तुलसीपुर,४ चैत । स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काको अध्यक्षतामा कार्यपालिकाको पहिलो बैठक मिति २०७९ जेठ १२ गते बस्यो । उक्त बैठकले गरेका महत्वपुर्ण तिन वटा निर्णय मध्ये नगरभित्रका असहाय, विपन्न, अशक्त तथा पिछडिएका नागरिकलाई आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने , ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र पाँच महिनासम्मका सुत्केरी महिलालाई अस्पताल वा घरसम्म लैजान आवश्यक परेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि एक महत्वपुर्ण निर्णय हो ।

सो निर्णय कार्यान्वयनका लागि उपमहानगरभित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई सेवा दिन निर्देशन दिइएको थियो । प्रारम्भमा केही एम्बुलेन्सले लक्षित समुदायलाई सेवा दिए तर पनि सबै एम्वुलेन्सले प्रभावकारी रूपमा सेवा दिन सकेनन् । निर्णय भए अनुसार कार्यन्वयन प्रभावकारी नहुदा कार्यपालिकामै एम्बुलेन्स सेवा प्रवाहप्रति गुनासो र प्रश्न उठ्न थाले ।

यसैक्रममा २०७९ असार २३ गते बसेको कार्यपालिका बैठकले एम्बुलेन्सहरूको वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावतको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन ग¥यो । कार्यदलमा वडा नम्बर ४ का अध्यक्ष तुलसी थापा, वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेल, प्रशासन शाखाबाट विष्णु कुमारी आचार्य र स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने सदस्य सचिव हुनु भयो । तर उक्त समितिले प्रतिवेदनलाई पूर्णता दिन सकेन ।


पछि पुनः वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेललाई संयोजक तोकिए पनि कार्यदलले प्रतिवेदन पेश गर्न नसकेपछि २०८० वैशाख २८ गते बसेको ११ औँ कार्यपालिका बैठकले एम्बुलेन्स व्यवस्थापन वडालाई हस्तान्तरण गर्ने निर्णय गर्यो । सो निर्णय अनुसार २०८० असार मसान्तसम्म चालकको पारिश्रमिक नगरपालिकाले बेहोर्ने र त्यसपछि चालक देखी एम्वुलेन्सको सम्पूर्ण सञ्चालन तथा व्यवस्थापन वडाले गर्ने व्यवस्था भयो ।


तर वडामा हस्तान्तरण गरिएका पुर्ण रुपमा एम्बुलेन्स हाल सञ्चालनमा आउन सकेका छैनन्। कतिपय पुराना एम्बुलेन्स बिग्रिएर ग्यारेजमै थन्किएका छन्। स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेका अनुसार वडा नम्बर १७, १९ र ११ ले केही समय सञ्चालन गरेता पनि उक्त एम्बुलेन्स फिर्ता गरेका थिए, जुन अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन्।
हाल वडा नम्बर १, ४, १३ र १५ मा मात्रै एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ भने तुलसीपुर–८ अश्वारास्थित मेट्रो अस्पतालको एम्बुलेन्स पनि नियमित रूपमा सञ्चालन हुन सकेको छैन।

कार्यपालिकाको निर्णय अनुसार एम्बुलेन्स वडामा हस्तान्तरण भइसकेपछि स्वास्थ्य महाशाखाको प्रत्यक्ष अधिकार क्षेत्र बाहिर गएको उहाले तुलसीपुरखबर संग बताउनुभयो । एम्बुलेन्स सेवा सञ्चालनको विषय अहिले हाम्रो प्रत्यक्ष जानकारीमा हुँदैन, उहाले भन्नुभयो, वडामा हस्तान्तरण गरेपछि केही वडाले समस्या देखाउँदै फिर्ता गरेका छन् भने बाँकी वडाले सञ्चालन गरिरहेका छन्।यता नागरिकहरूले भने उपमहानगरले घोषणा गरेको निःशुल्क एम्बुलेन्स सेवा आफूहरूले पाउन नसकेको गुनासो गरेका छन् ।

विशेषगरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाले आवश्यक समयमा एम्बुलेन्स सेवा नपाएको गुनासो गरेका छन्। उनीहरूले पहुँच भएका व्यक्तिहरूले मात्रै सेवा पाउने गरेको गुनासो पोखेका छन् । नागरिकका अनुसार समस्या पर्दा नगरपालिकामा सम्पर्क गर्दा वडामा पठाइने र वडामा सोध्दा चालकले गाडी बिग्रिएको जस्ता बहाना बनाउने गरेको गुनासो बढ्दो छ ।

उनीहरुले आफु फरक वडाका भएकाले एम्बुलेन्स सेवा पाउन नसकेको बताउदै उपमहानगरको नीतिगत निर्णय व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो छ ।तुलसीपुर उपमहानगरपालिकाले घोषणा गरेको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सेवा कागजमै सीमित बनेको छ भने केहि एम्बुलेन्स बिग्रिएर ग्यारेजमै थन्किएका छन् । जसले गर्दा नगरवासीले सरकारी एम्वुलेन्स सेवा भन्दा प्राईभेट एम्वुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया