काठमाण्डौ, १८ फागुन । दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसान र प्रहरीबीच झडप भएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाण्डौको नयाँ बानेश्वरबाट उनीहरुलाई पक्राउ गरिएको हो । दाङबाट काठमाण्डौ गएका गुठीपीडित मोही किसान एक महिनादेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको प्रहरीले जनाएको छ ।
गुठीपीडित मोही किसानले निषेधित क्षेत्रभित्र प्रवेश गर्न लाग्दा झडप भएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गङ्गा पौडेल घाइते हुनुभएको छ ।
गएको वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन माग गर्दै गुठीपीडित किसान आन्दोलनमा छन् । २०८० चैत ७ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहमति गरेको थियो । जसमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुनेगरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो । एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन । त्यसका लागि दबाब दिन एक महीनाअघि गुठीपीडित किसान काठमाडौं पुगेका हुन् ।
पुस्तौंदेखि आफूले जोतभोग गरेको जमिनमा कायम भएको मोहीयानी हक कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । तर २०६२ चैत १४ मा सर्वोच्च अदालतको परमादेशबाट मोही पूर्जा खारेज भएपछि किसानहरु आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश दिएको थियो ।
तर सरकारसँग विशेष गुठी ऐन ल्याउने सहमति गरेका किसानहरुले सहमति भएको एक वर्ष बितिसक्दा पनि कानुन बनाउन पहल नगरेको भन्दै फेरि आन्दोलन थालेको संघर्ष समितिका संयोजक प्रभु चौधरीले बताउनुभयो । उनीहरुले गुठी ऐन जारी गरी किसानहरुको मोही हक कार्यान्वयन गरिनुपर्ने माग गरिरहेका छन् । नेपालको संविधान २०७२ मै द्वैध भू–स्वामित्व अन्त्य गर्ने उल्लेख भएकाले किसानको माग सम्बोधन गर्न भन्दै किसानहरु निरन्तर आन्दोलनमा छन् । प्युठानमा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको दाङमा रहेको एक हजार ५० बिगाह जमिनमध्ये सात सय ५३ दशमलव चार बिगाह जमिनमा किसानको मोही कायम छ । स्वर्गद्वारी गुठीको दाङका १२ मौजामा तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान आश्रित छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।