खोटाङ, ५ फागुन । खोटाङको हलेसी बजारमा हिजो बेलुकी भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट बेलुकी ६ बजेतिर शुरु भएको आगो स्थानीयबासिन्दा र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयबासिन्दाले बताएका छन् ।
सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर शुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।